२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विवादित भूमिमा भारतद्वारा सडक निर्माण

नवीन पौडेल

परासी — नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ ।

विवादित भूमिमा भारतद्वारा सडक निर्माण

विवादित क्षेत्रमा सडक खन्ने क्रममा नेपाली पक्षले अवरोध गर्दा भारतीय सुरक्षाकर्मीले धम्क्याउने गरेको सुस्तावासीको आरोप छ । सुस्ताका स्थानीयलाई बजार गर्न, आधारभूत तहदेखि उच्च शिक्षा हासिल गर्न र बिमार हुँदा भारत जानुपर्ने बाध्यता छ ।


वर्षातको समयमा नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुभन्दा अधिकांश नेपाली भारतीय भूमि हुँदै नेपाल आउँछन् । तर, सिमानामा खाडल खनेपछि नेपालीलाई आवातजावत गर्न पनि असहज भएको छ । बाटो रोकेपछि भारतीय विद्यालयमा अध्ययन गर्ने सुस्ताका बालबालिका विद्यालय जानसमेत पाएका छैनन् ।


सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक निर्माण गर्ने र नाला खनेर आवातजावतमा नै रोक लगाएपछि सुस्तावासीलाई दु:ख भएको छ । ‘नेपाल र भारतका उच्च अधिकारीबीच विवादित भूमिमा दुवै देशले कुनै पनि भौतिक संरचना र क्रियाकलाप नगर्ने स्पष्ट सहमतिविपरीत भारतले काम गरिरहेको छ,’ खाँले भने, ‘यो राष्ट्रिय सरोकारको विषय भएकाले केन्द्रबाटै कूटनीतिक पहल हुनु जरुरी छ ।’


स्थानीयले घटनाबारे स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएका छन् । स्थलगत निरीक्षणमा पुगेका सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई भारतीय पक्षले पानीको निकासका लागि डिल बनाउन सडक र नाला बनाएको भन्दै भारतीय भूमिमा आफूहरूले जस्तो संरचना निर्माण गरे पनि नेपाली पक्षलाई जानकारी गराउन जरुरी नभएको बताएका थिए । अध्यक्ष पाण्डेले विवादित भूमिमा संरचना निर्माण गर्न नपाइने भन्दै केन्द्रलाई घटनाबारे जानकारी गराएको र उच्चस्तरीय संयन्त्रले घटनाको निकास निकाल्ने बताए ।


नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालेपछि शान्त बनेको सुस्ता क्षेत्र यस घटनाले फेरि त्रस्त बन्न थालेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यस विषयमा भारतीय पक्षसँग अनौपचारिक कुराकानी भएको र तत्काल काम रोकेर छलफलमार्फत समस्या समाधान गर्न लागिपरेको बताए ।

प्रकाशित : भाद्र १३, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?