कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोपाइँ जात्राको रौनक

पाल्पा — सांस्कृतिक सहर तानसेन र ग्रामीण भेगमा मंगलबार रोपाइँजात्राको रौनकता छायो । जिल्लाका तानसेनबाहेक नायरनम्तलेस, मस्याम, सराई, जब्गादी, हुमिन, माझकोट, रामपुरलगायत स्थानमा रोपाइँ जात्रा निकालिएको छ ।

रोपाइँ जात्राको रौनक

सिमसिमे पानीको वास्ता नगरी विभिन्न समुदायले रोपाइँ जात्रा निकालेका हुन् । ग्रामीण भेगमा नेवारी र अन्य समुदायको सहयोगमा रोपाइँ जात्रा निकाल्ने चलन छ । तानसेनमा भने नेवार समुदायभन्दा पनि अन्य समुदायबाट नै परम्परा धान्ने काम भएको छ । रोपाइँ जात्रा यहाँ प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट निकालिन्छ ।


खर्चिलो जात्रा भएकाले आर्थिक अभाव भने सधैं रहन्छ । ‘धेरै कलाकार प्रयोग गर्नुपर्ने
भएकाले निकै खर्चिलो छ,’ तानसेन ५ अर्चलेका यामबहादुर कार्कीले भने, ‘तैपनि प्रत्येक वर्ष
निकालिएको छ ।’


मान्छे नै जुवामा नारिएर हलो तान्दै हिँडेको दृश्य गज्जब देखिन्छ । काठमाडौं उपत्यकापछि पश्चिम पहाडी जिल्लामा सबैभन्दा धेरै जात्रा यहाँ निकालिन्छ । रोपाइँ जात्राको रौनक अन्यभन्दा अलग्गै हुन्छ । हातहातमा बीउ बोकेर साँच्चै केटी र केटीको भेषमा केटाहरू सडकमा पन्चेबाजाको तालमा धान रोप्छन् ।


‘रोपाइँ जात्राको खर्चको हिसाबभन्दा पनि कसरी खर्च धान्ने भन्ने हुन्छ,’ स्थानीय फणीन्द्र बस्यालले भने, ‘सबैको सहयोगले नै निरन्तरता दिन सकिएको छ ।’ जात्रामा कोदालो बोकेर बाउसे गर्ने अघि–अघि हिँड्नुपर्छ । त्यसको पछिपछि रोपाहारलाई साथ दिन्छन् । पञ्चेबाजाको तालमा गीत गाएर नाच्नेको छुट्टै रौनक हुन्छ ।


नर्तकीहरू पनि कम्ती हुँदैनन् । पञ्चेबाजाको तालमा उनीहरूको नाचले दर्शक लोभ्याउँछ । त्यसमा हँसाउनेले पनि दर्शकलाई मनोरञ्जन दिएकै हुन्छन् । सडक पेटीमा जात्रा हेर्नेको भीड पनि उस्तै हुन्छ ।


‘धेरै वर्षपछि यस वर्ष जात्रा हेर्ने अवसर मिल्यो,’ तानसेनका विष्णु खनालले भने । तानसेन ५ अर्चले टोल विकास संस्था, तानसेन १ बराङदीको गणेश टोल विकास संस्थालगायतले तानसेनमा जात्रा निकाले । ‘रोपाइँ जात्रा हेर्दा निकै रमाइलो लाग्छ,’ तानसेन ५ की बबिता विष्टले भनिन्, ‘त्यसैले प्रत्येक वर्ष जात्रा हेर्न मन लाग्छ ।’ रोइला र असारे भाकामा नाचगान गर्दै हिँडेको देख्दा खेतमा यस्तो प्रचलन हराए पनि जात्रामा देख्न पाइएको स्थानीय सिर्जना विष्टले बताइन् ।


प्रकाशित : भाद्र १३, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?