राप्ती उपक्षेत्रीय अस्पताल: चिकित्सक नहुँदा उपचार प्रभावित

चिकित्सक अभावले दैनिक जाँच हुने बिरामीको कोटा तोक्नुपर्ने बाध्यता छ भने जनशक्ति अभावमा आईसीयू सञ्चालन हुन सकेको छैन
दुर्गालाल केसी

दाङ — राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । १ सय २१ जनाको दरबन्दी भएकामा ७९ जनाको मात्रै पूर्ति भएको छ । ४२ स्वास्थ्यकर्मीको पद रिक्त छ ।

दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल । तस्बिर : दुर्गालाल

चिकित्सक नभएका कारण उपचारमा समस्या भएको छ । आएका सबै बिरामीको उपचार गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक व्यवस्था गर्न र स्वास्थ्य सेवा बढाउन माग गर्दै नागरिक समाजले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पेस गरेको छ ।

Yamaha

स्वास्थ्यकर्मी नभएका कारण बिरामीहरू उपचार नगरी फर्कन बाध्य भइरहेको प्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको अवलोकन, निरीक्षण गर्दा चिन्ताजनक देखिएको समाजका संयोजक चन्द्रराज पन्तले बताए । उपक्षेत्रीय अस्पतालसरहका कुनै पनि सुविधा नभएका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभएको उनले गुनासो गरे ।

विशेषज्ञ चिकित्सक २० जनाको दरबन्दी भएकोमा ९ जना मात्रै छन् । ११ विशेषज्ञको अभाव छ । मेडिकल अधिकृत १८ जनामा ६, नर्सिङ स्टाफ ३५ मा ३४ र अन्य ४८ मा ३० जनाको मात्रै पदपूर्ति भएको छ । न्युरोलोजिस्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिस्ट, मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिस्ट र युरोसर्जनको दरबन्दी पूर्ति हुन नसकेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जनार्दन पन्थीले बताए ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) र मेडिकल जनरलिस्ट काजमा वीर अस्पतालमा छन् । लामो समयदेखि अस्पतालमा प्रमुख मेसु नै आएका छैनन् । निमित्तकै भरमा अस्पताल चलेको छ । नवौं तथा दसौं तहका वरिष्ठ नर्सिङ प्रशासक, आठौं तहका डेन्टल सर्जन, सातौं तथा आठौं तहका मेडिकल टेक्नोलोजिस्ट र सातौं तथा आठौं तहका फार्मेसी अधिकृतको पनि पदपूर्ति हुन सकेको छैन ।

जनशक्ति अभावका कारण कतिपय सेवामा दिनमा ४० भन्दा बढी बिरामी जाँच गर्न नसकिने सीमा कायम गरिएको छ ।

‘चिकित्सक नभएपछि एक जनाले मात्रै कतिसम्म काम गर्न सक्छ ? चिकित्सक पनि मान्छे नै हो, आराम चाहिन्छ । सेवामा गुणस्तर पनि दिनुपर्‍यो,’ डा. पन्थीले भने, ‘बाध्य भएर चिकित्सक कम भएको सेवामा दैनिक जाँच गर्न सकिने संख्या तोक्नु परेको हो । जनशक्ति थप भए सबै बिरामीलाई उपचार गर्न सकिन्छ ।’

अस्पतालमा ११ औं तहका चिकित्सकको दरबन्दी नहुँदा पनि विशेषज्ञलाई टिकाउन समस्या भएको छ । ११ औं तहको प्रमुख मेसु पदको मात्रै दरबन्दी छ । अस्पतालमा काम गर्दागर्दै ११ औं तहमा बढुवा हुनेले मेसु नपाउने र पद पाएका अस्पतालमै नआउने प्रवृत्तिले समस्या बढाइरहेको छ ।

धेरै योग्य चिकित्सक दरबन्दी नभएकै कारण बढुवापछि सरुवा हुनुपरेको डा. पन्थीले बताए । ०७१ मा १ सय शय्याको स्तरोन्नति भए पनि जनशक्ति भने थप नभएको उनको गुनासो छ । ‘अस्पतालको स्तर वृद्धि भयो तर जनशक्ति ५० शय्याकै छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?’

राप्तीका पहाडी जिल्लाका साथै अर्घाखाँचीबाट समेत यहाँ बिरामी आउने गरेका छन् । करिब २३ लाख जनसंख्या यस अस्पतालमा निर्भर रहेको डा. पन्थीले बताए । दैनिक चार सयभन्दा बढी बिरामी आउने गरेका छन् । एक वर्षमा यस अस्पतालले ८० हजार ६० बिरामीको उपचार गरेको छ ।

आपतकालीन बिरामी ३४ हजार २९, सुत्केरी ४ हजार ६ सय १७, मुख्य शल्यक्रिया १ हजार ३ सय ४१, मध्यम खालका २ हजार ८१ र सामान्य खालका २ हजार ८१ जनाको शल्यक्रिया भएको अस्पताल रेकर्डले देखाउँछ । दाङमा थारू समुदायमा मात्रै रहेको सिकलसेल रोगका बिरामी पनि त्यत्तिकै आउने गरेका छन् ।

वर्षमा १ सय ४२ सिकलसेलका बिरामी अस्पताल आएका थिए । ‘उपलब्ध स्रोत साधनबाट पनि रिफर संख्या घटाउने प्रयास गरिरहेका छौं,’ पन्थीले भने, ‘गत वर्ष ४ सय ८६ बिरामी रिफर भएकामा यस वर्ष २ सय ५७ मात्रै रिफर भए ।’

आईसीयू नभएका कारण बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । सबै प्रविधि तयार भइसक्दा पनि जनशक्ति अभावमा आईसीयू सञ्चालन गर्न नसकिएको हो । ‘जनशक्ति नभएपछि कसरी काम गर्नु ? सबै उपकरण त्यत्तिकै थन्किएका छन्,’ उनले भने, ‘आईसीयूका लागि कर्मचारी नियुक्त गर्न खोज्दा रोकियो । अहिले बनाएका संरचना पनि अलपत्र छन् ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा कर्मचारी भर्नाका लागि गरेको तयारी रोकिदिएपछि काम अघि बढ्न नसकेको हो । न त प्रतिष्ठानले गति लिन सकेको छ, न अस्पताल आफैंले काम गर्न पाएको छ । प्रतिष्ठानले स्पष्ट रूपमा काम गर्न नसक्दा पनि अस्पतालमा समस्या भएको छ । ‘भर्खर जन्मेका शिशुलाई केही समस्या हुनेबित्तिकै आईसीयू नभएका कारण रिफर गर्नुपर्छ । सर्पले डसेका र बढी प्रविधि चाहिने सेवामा रिफर गर्नुपर्ने बाध्यता छ,’ डा. पन्थीले भने, ‘आईसीयू चलाउन धेरै प्रयास गरें तर कतैबाट पनि सहयोग भएन ।’

प्रकाशित : भाद्र १४, २०७५ ०९:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै पञ्चेबाजाको धुन

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १८, ढोडेनीका चामबहादुर दमाई कुनै बेला गाउँका हरेकजसोको घरमा दमाहा बजाउन पुग्थे । चाडपर्व, विवाह, व्रतबन्ध, मलामीजस्ता संस्कारमा बाजाको अनिवार्य आवश्यकता हुन्थ्यो ।

दाङको घोराही १८ ढोडेनीका पञ्चबहादुर दमाईका एकै परिवारका सदस्य पञ्चेबाजा बजाउँदै । तस्बिर : दुर्गालाल

उनी दमाहा बजाउन नगएर सुखै थिएन । केही वर्षयता भने उनको दैनिकी फेरिएको छ । बजारमा हुने जुलुस, सभा र औपचारिक कार्यक्रममा मात्रै उनी दमाहा बजाउन पाउँछन् ।

‘अचेल गाउँघरमा पञ्चेबाजाको महत्त्व छैन । चाडपर्व र विवाहमा पनि गीत बजाएर नाच्न थाले,’ दमाईले भने, ‘यो बाजाको भाउ घट्न थाल्यो । नेताहरू आएपछि र बजारमा कार्यक्रम भएपछि मात्रै हाम्रो माग हुन्छ, नत्र खाली नै बस्छौं ।’ १२ वर्षको हुँदा नै बुबाको पछि लागेर दमाहा बजाउन थालेका दमाईले ५७ वर्षसम्म निरन्तर यही पेसा गरे ।

तीन पुस्तादेखि परिवारले पञ्चेबाजासँगै जीवन बिताइरहेको अनुभव उनले सुनाए । ‘मेरो त अझै रहर मरेको छैन । ज्यान पाल्ने मात्रैभन्दा बाजाको पनि माया लाग्छ । यो बाजालाई बचाउन पाए हुन्थ्योजस्तो लाग्छ,’ उनले भने, ‘गाउँघरमा यसको प्रयोग हुन छोडेपछि कसले बचाउला ? सबैतिर क्यासेट र भिडियो मात्रै बज्छन् । पञ्चेबाजाको धुनै बचाउन गाह्रो भो ।’

पञ्चेबाजाको धुनले मौलिक संस्कृतिको रक्षा गर्ने ढोडेनीकै महेन्द्र नेपालीले बताए । बाजाको उपेक्षा हुँदै गएकामा उनले दु:ख पोखे । ‘यो बाजा बजाउँदा गाउँको शोभा बढ्छ । धुन नै मौलिक खालको हुन्छ । डेग बजाएर आउने धुनले हाम्रो संस्कृतिलाई चौपट पार्‍यो,’ उनले भने, ‘यो बाजा बचाउन अब सबैले ध्यान दिनुपर्छ । सबैले हेला गर्न थाले भने एक दिन यसको अस्तित्व नै समाप्त हुनेछ ।’

अरू समुदायको सोचाइ र व्यवहार अझै पनि विभेदकारी नै रहेको उनले गुनासो गरे । बाजा बजाउन जाँदा पनि सीप र कलाको सम्मान हुन नसकेको उनले बताए । ‘बाजा बजाउन जाँदा पनि दमाई भनेर हेपाहा प्रवृत्तिले हेरिन्छ । यति ठूलो बाजा बोकेर बजाउँदै घामपानीमा हिँड्नुपर्छ तर श्रमको उचित मूल्य पाइँदैन,’ उनले भने, ‘हामीलाई एकछिनका लागि मात्रै प्रयोग गरिन्छ । नयाँ पुस्ताले त झन् पुरानो बाजाबारे थाहा पाएकै छैन । उनीहरूलाई मोबाइलमा बज्ने गीत मात्रै थाहा छ ।’

पञ्चेबाजा बजाउन धेरै मानिस चाहिने भएकाले यसलाई निरन्तरता दिन समस्या भइरहेको नेपालीले बताए । अहिले घरपरिवारकै सदस्यहरू मिलेर बजाउनुपर्ने बाध्यता रहेको उनले बताए । अरू कोही नभएपछि श्रीमती र छोराछोरीलाई पनि बाजा बजाउन लगाएको उनले सुनाए ।

अहिले बाजा बचाउने जिम्मेवारी परिवारमा सीमित भएको मेहन्द्रकी श्रीमती राजकुमारीले बताइन् । ‘अरू कोही पनि बाजा बजाउन चाहँदैनन् । परिवारकै सदस्य मिलेर बाजाको मर्म पूरा गरेका छौं,’ उनले भनिन्, ‘छोरी निशालाई पनि बाजा बजाउन हिँडाइरहेका छौं । वर्षौंदेखि गर्दै आएको पेसाको माया लाग्छ । छोड्न पनि सकिएको छैन ।’

प्रकाशित : भाद्र १२, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT