प्राविधिक शिक्षामा प्रदेशको लगानी

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमका लागि ५ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ

बुटवल — पढाइ पूरा गरेर वैदेशिक रोजगारमा जाने युवा रोक्न प्रदेश सरकारले प्राविधिक शिक्षा र रोजगारमूलक तालिममा लगानी बढाएको छ ।

प्राविधिक शिक्षामा प्रदेशको लगानी

प्राविधिक र रोजगारमूलक शिक्षाको अभावमा शैक्षिक बेरोजगार र वैदेशिक रोजगार तथा कुलतमा लाग्ने युवा बढेको भन्दै युवा केन्द्रित कार्यक्रम बढाएको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षा र सीपको अभाव भएका युवालाई चालु आर्थिक वर्षदेखि लामो र छोटो दुवै खालका स्वरोजगारमूलक तालिम दिने बताए ।

तालिमपछि विपन्नलाई उद्यम गर्न बीउ पुँजीको समेत व्यवस्था गर्ने उनले जनाए । ‘रोजगारमूलक सीप र बीउ पुँजी दुवै भयो भने बल्ल युवा स्वरोजगार बन्न सक्नेछन्् । विदेश जान पासपोर्ट बनाउने चक्कर छाडेर स्वदेशमै अवसर खोज्नेछन्,’ उनले भने, ‘यही सोचले बीउ पुँजीसहितका तालिम दिने योजना बनाएका हौं ।’ प्रदेशका १२ जिल्लामा १७ लाख ८१ हजार ८ सय १० जना युवा छन् । यसमध्ये रोजगारी र शिक्षाका लागि विदेश जाने युवा १५ दशमलव २३ प्रतिशत छन् । यो संख्यालाई १० प्रतिशतमा झार्ने प्रदेश सरकारको लक्ष्य छ । यो लक्ष्य पूरा गर्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रमका लागि ५ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ ।

युवा सीप विकास तालिमका लागि ५० लाख छ । युवाका लागि छोटो समयको तालिम लेबल २ का लागि पनि छुट्टै बजेट छ । प्रदेशका १२ वटै जिल्ला समेट्ने यो शीर्षकमा ५० लाख रकम विनियोजन भएको छ । वैदेशिक रोजगारबाट फर्केर आएका युवाका लागि उद्यममा सहयोग गर्नसमेत बजेट विनियोजन भएको छ । उनीहरूलाई कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत उपकरण र जग्गा भाडाबापतको रकम दिइनेछ ।

युवाहरू स्वदेशमा काम नपाएको भन्दै खुरुखुरु वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगारमै गए पनि धेरै कमाइ हुने ठाउँमा भने गएका छैनन् । कम तलब पाउने र खतरायुक्त काममा धेरै गएका छन् । यसले गर्दा सोचे अनुसारको कमाइ हुन सकेको छैन । यसलाई रोक्न वैदेशिक रोजगारमै जाने युवाका लागि तालिम तथा अभिमुखीकरण गरिनेछ ।

यसमा १५ लाख रुपैयाँ छुट्टिएको छ । ‘यो सुरुआत हो । प्रभाव हेरेर यसलाई बढाउन पनि सकिन्छ,’ सामाजिक विकास मन्त्रालयका उपसचिव स्थानेश्वर ज्ञवालीले भने । परम्परागत सीप र संस्कृतिमा नेपाल अगाडि छ । पछिल्लो समय सीमान्तकृत तथा लोपोन्मुख समुदायका युवाले आफ्नो परम्परागत सीप अँगाल्न छाडेका छन् । यसले पनि बेरोजगार हुने र विदेश पलायन हुने क्रम बढेको छ । यसलाई रोक्न र त्यस्ता युवामा परम्परागत र आयमूलक सीप बढाउन एक करोड रुपैयाँ विनियोजन भएको छ ।

ससर्त अनुदानमा १० करोड ८० लाख उद्यमशीलता विकास र रोजगार उन्मुख घुम्ती तथा तालिम केन्द्रका लागि छुट्याइएको छ । उद्यममा लागेका युवालाई टिकाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत उद्यम विकास, क्षमता विकास र विस्तारका लागि तालिम तथा अनुदानको व्यवस्था गरेको मन्त्री लीला गिरीले बताए ।

केही युवा स्वदेशमा काम थाल्ने तर काम वा रोजगारदातासित चित्त नबुझेपछि वैदेशिक रोजगारमा जाने गरेका छन् । रोजगारदाता र श्रमिकको सम्बन्ध बलियो गराउन तथा श्रमिकलाई स्वदेशमै टिक्ने बनाउन पनि १२ वटै जिल्लामा तालिम तथा अन्तरक्रिया हुनेछन् । श्रमिकसँगको अन्तरक्रिया तथा छलफलका लागि १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

युवाहरूलाई स्वदेशमै रोक्न तथा रोजगारमा लगाउन सीप र शिक्षा आवश्यक छ । प्रदेशले युवा सञ्चारका लागि २ लाख ५० हजार र युवा परामर्श तथा दुव्र्यसनीविरुद्धको सचेतना कार्यक्रमका लागि समेत १५ लाख रुपैयाँ छुट्याएको छ । युवालाई दुव्र्यसनमा लाग्न नदिन र रोजगारमूलक काममा उत्प्रेरित गर्न यो रकम खर्च हुने उपसचिव ज्ञवालीले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?