१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कल्भर्ट बगेपछि थुनिए जिप

माधव अर्याल

दोभान (पाल्पा) — सिद्धार्थ राजमार्गको दोभान बजार पश्चिमका विभिन्न क्षेत्रसम्म पुग्ने सडकमा दुई महिनादेखि गाडी गुडेका छैनन् । तिनाउ नदीमा पुल नहुँदा बर्खामा गाडी नचलेका हुन् । दुई वर्षअघिदेखि निर्माण थालिएको पुल अधुरै छ । यस भेगका बासिन्दा सधैं सास्ती बेहोर्न बाध्य छन् ।

कल्भर्ट बगेपछि थुनिए जिप

‘पक्की पुल नबन्दासम्म हामीलाई सधैंको सास्ती नै हो,’ तिनाउ २ खुर्सानेका मोहन विकले भने, ‘अब त बन्ला भन्यो, अझै बन्दैन ।’ वर्षाको भेलसँगै दुई महिनाअघि नै खानी उद्योगमा जानलाई तिनाउ खोलामा निर्माण गरेको कल्भर्ट बगेपछि सवारीसाधन चल्न नसकेका हुन् ।

यस भेगका सयौं यात्रुले वर्षा लागेपछि चार महिना सास्ती खेप्नुपर्छ । खोलापारि नै आठवटा जिप रोकिएका छन् । रोकिएका जिपले सात किलोमिटर टाढाको खुर्सानेसम्म सेवा दिन्छन् । पहिरो गयो भने समस्या हुन्छ । ‘हामी खोलावारि नै रोकिएका छौं,’ एक जिप चालकले भने, ‘खोला नघटिकन राजमार्गमा निस्कने उपाय छैन ।’ रोकिएका सवारीले महँगो भाडा लिने गरेको यात्रुको गुनासो छ । ‘सात किलोमिटर हिँड्नु परेको छैन,’ कचलकी लक्ष्मीदेवी बगालेले भनिन्, ‘भाडा महँगो भन्दा पनि सेवासुविधा हेरेका छौं ।’ जिपले सात किलोमिटरको ५० रुपैयाँ लिने गरेको यात्रुले बताए ।

यहाँबाट कचलका विभिन्न भाग, दोभानकै पश्चिम क्षेत्रका गाउँ, ठिमुरे, जुठापौवा, फेकलगायत स्थानमा जानलाई नजिक पर्छ । सवारी साधन सञ्चालन हुन नसक्दा यस भेगका बासिन्दा मर्कामा परेका छन् । यहाँ तिनाउमा ह्युम पाइप नबगाउँदासम्म दैनिक दुई सयभन्दा बढी टिपर चल्थे । यही बाटोबाट कचलको चुनढुंगा नवलपरासी र रूपन्देहीका सिमेन्ट उद्योगमा लैजान्छन् । कचल, दोभानका विभिन्न स्थानमा जाने साना–ठूला सवारी साधन ओहोरदोहोर गर्छन् ।

सरकारले पाँच करोडभन्दा बढी लगानी गरेर खानी उद्योगको पहुँच मार्ग स्तरोन्नति गरेको छ । तर, असारको पहिलो साता परेको पानीले हयुम पाइप बगाएपछि सधैंको सास्ती बेहोर्नुपरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । दोभान पश्चिम भेगका बासिन्दालाई ६ घण्टा पैदल हिँड्नुपर्छ । ‘बुटवल बजार नगई हुँदैन । बाटोमा सवारी साधन नचलेपछि चार घण्टा पैदल हिँड्नुपर्छ,’ उनले भने, ‘ भर्खरै वर्षा सुरु हुँदा पाइप बगाएपछि सवारी साधन आउजाउ बन्द छ ।’

उनका अनुसार यसपटक जिप थुनिएकाले स्थानीयले राहत पाएका हुन् । स्तरोन्नति गरेको सडकमा आउजाउ गर्न सहज भए पनि वर्षाले सवारी साधन चल्दैनन् । मोटरबाटो खानी पहुँचका लागि स्तरोन्नति गरिएको छ । तिनाउ खोलामा पक्की पुल नहुँदा सर्वसाधारण र खानी उद्योगलाई समस्या भएको हो ।

असारदेखि भदौसम्म खानी उद्योग चल्न सक्दैन । दोभानकै सुकेताल, खुर्साने, कचलको ओखलढुंगा, कचल फाँटमा नियमति जिप सेवा थियो । अहिले ती सबै सेवा बन्द छन् । शनिबार र बुधबार बुटवलमा लाग्ने हाटमा जानसमेत वर्षायाममा पैदल हिँड्न बाध्य हुन्छन् ।

सवारी साधन चल्दा र नचल्दा धेरै फरक पर्ने स्थानीय तुलबहादुर घर्तीले बताए । ‘सवारी साधन चढेर जान पाइने भए पनि अहिले पैदल हिँड्नुपर्दा बुटवल जानेमा समेत कमी आएको छ,’ उनले भने । यस भेगमा उत्पादन हुने तरकारीका साथै बाबियोको डोरी, अम्लिसोको कुचो, गेडागुडी बिक्रीका लागि बुटवल जान्छन् । अहिले केही बाटोमा जिप चले पनि अन्यत्र पैदल हिँड्नु परेको छ ।

खुर्सानेबाट हरियाली गाउँ, कचलका विभिन्न भागमा पैदल हिँड्नै ्पर्छ । सडक डिभिजन कार्यालयले दोभानदेखि कचल जाने तिनाउ खोलामा पक्की पुल निर्माणको काम अघि बढाएको जनाएको छ । तर, काममा भएको ढिलासुस्तीले अझ केही वर्ष सास्ती खेप्नुपर्ने हो कि भन्ने चिन्तामा स्थानीय छन् । सडक डिभिजनका सूचना अधिकारी पवित्रमणि आचार्यले पुल नर्माणको काम अघि बढेको तर कहिले सम्पन्न हुन्छ भन्ने थाहा हुन नसकेको बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?