२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बग्दै खेतीयोग्य जमिन

तीन वर्षयता बबईको कटानले ५० बिघाभन्दा बढी जमिन बगायो
कमल पन्थी

बर्दिया — दुई महिनायता नेपाल–भारत सीमास्थित लटकनिया गाउँको करिब पाँच बिघा खेतीयोग्य जमिन बबई नदीको कटानले बगिसकेको छ । तीन वर्षयता बबईको कटानले ५० बिघाभन्दा बढी जमिन बगाइसकेको स्थानीयले बताएका छन् ।

बग्दै खेतीयोग्य जमिन

बाढीसँगै भएको कटानले गत वर्ष चारवटा नेपाल–भारत छुट्याउने साना सीमा स्तम्भ बगाएको यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल, हेडक्वार्टर नम्बर ३१ ले जनाएको छ । लटकनियास्थित एउटा सीमा स्तम्भ बबईको कटानको उच्च जोखिममा परेको सशस्त्र प्रहरी बलका गणपति कृष्ण कोइरालाले बताए । ०७१ र ०७४ मा बबई नदीको कटान र बाढीले सहायक ७ र साना २५ वटा स्तम्भ बगाएको गणपति कोइरालाले जानकारी दिए ।

भारतीयबाट सीमा मिच्ने क्रम बढै गएको छ । गुलरिया ८ का तुलसी थारुले बबई कटानसँगै प्रसिया गाउँका १० जना नेपालीको जग्गा भारतीय सुरक्षा बलले जोतभोग गर्न नदिएको गुनासो पोखे । बबईलाई सीमा मान्दै उनीहरूले नेपालीले जोतभोग गर्दै आएको जमिन भारतीय भूमि भन्दै जोतभोग गर्न नदिएका हुन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, नेपालगन्जले तीन वर्षदेखि निर्माण गर्दै आएको बबई नदीस्थित गुलरियाको लटकनिया बाढी र कटानको उच्च जोखिममा रहेको छ । विगतमा बाढीले क्षति पुर्‍याएको यस ठाउँमा नदी कटान रोक्न बबई, भादा र ओराही नदी व्यवस्थापन आयोजनाले आपतकालीन नदी नियन्त्रण व्यवस्थापन कार्य सुरु गरेको छ । आपतकालीन काम सुरु गर्दा गर्दै ६ महिनाअघि आएका आयोजना प्रमुख नारायण सुवेदीलाई मन्त्रालयले सरुवा गरेपछि काम प्रभावित भएको छ ।

बबई, भादा र ओराही नदी व्यवस्थापन कार्यालयले यस क्षेत्रमा वर्षायाममा हुन सक्ने सम्भावित जोखिम रोक्न आपतकालीन काम सुरु गरेको थियो । करिब ६ महिनाअघि नदी नियन्त्रण र बाढीबाट हुने डुबान र कटान रोक्न उक्त आयोजनाको कार्यालय स्थापना भएको हो ।

उच्च जोखिम रहेको पशुहाट र लटकनियामा विगतमा निर्माण गरिएको बाँधबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न वर्षायाममा आपतकालीन काम अन्तर्गत बोरामा बालुवा भरी नाइनलको डोरीले बाँधेर जोखिम कम गर्न काम सुरु गरिएको थियो । मनसुन सकिनासाथ यहाँ पक्की तटबन्ध र बाँध निर्माण गर्ने लक्ष्यसहित निर्माण ठेक्का सम्झौता भइसकेको छ । लटकनियामा १९ करोड र पशुहाटमा १० करोडको ठेक्का भएको छ । जोखिम क्षेत्रमा नदी कटान रोक्न बम्बो पाइलिङ र आरसीसी पाइनिङको काम हुँदा हँुदै आयोजना प्रमुखको सरुवा गरिएको छ ।

लटकनियामा आपतकालीन तटबन्ध गरिए पनि कटान भने रोकिएको छैन । गत वर्ष निर्माण गरिएको बाँध पनि बबई कटानले बगाउन थालेको छ । बाढी र कटानको त्रासले लटकनियासँग जोडिएको मस्जिदिया गाउँका ३५ परिवार अन्यत्र बसाइँसराइ गरिसकेको स्थानीय रिन्कु मल्लाहले बताए । कटान रोकिएन भने लटकनियाबाट पनि बस्ती अन्यत्र सर्ने तयारीमा रहेको स्थानीयले बताए ।

हालै सरुवा भई आएका आयोजना प्रमुख जितबहादुर थापाले वर्षायाममा पक्की तटबन्ध गर्ने अवस्था नभए पनि आपतकालीन बाँधलाई निरन्तरता दिई जोखिम न्यूनीकरण गर्ने बताए । बर्सेनि बाढी र कटानले सदरमुकाम गुलरियालगायत बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिकाको तटीय क्षेत्रलाई क्षति न्यूनीकरण गर्न १३ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको छ । संशोधित गुरुयोजनाको बजेट स्वीकृतका लागि आयोजनाले केन्द्रमा माग गरेको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?