३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खुला दिसामुक्त घोषणामै सीमित

करिश्मा चौधरी

बाँके — नेपालगन्ज उपमहानगरपालिकाभित्र २३ हजार ३ सय २८ घरधुरी छन् । तीमध्ये २ सय ९२ घरमा अझै शौचालय छैनन् ।

खुला दिसामुक्त घोषणामै सीमित

खुला दिसामुक्त जिल्ला घोषणा भएपछि सरकारी तथ्यांकमा सबै घरमा शौचालय बनाइएको देखिए पनि महानगरभित्रकै बस्तीमा शौचालय नभएका हुन् ।

उपमहानगरका ९ वडाका २ सय ९२ घरमा शौचालय छैनन् । फुल्टेक्रा नयाँबस्तीमा ३० घर, पासाङल्हामुरोड, गुरुद्वारा रोडमा १५ घर, बुलबुलिया, पीपलचौतारा र उदयपुरमा ६० घरमा शौचालय बनेका छैनन् । भवानीयापुरमा ३०, पिप्रहवा ३५, परस्पुरमा ३२, वसुदेवपुरमा ३०, पुरैनामा ३० र पुरैनीका ३० घरमा शौचालय बनाउन बाँकी रहेको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ । तर, जिल्लाका सबै सर्वसाधारणको पहुँचमा शौचालय छ भनी गत असारमा खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ ।

नगरका शौचालय बनाउन बाँकी रहेका घरमा एसियाली विकास बैंक (एडीबी) को कार्यक्रममार्फत शौचालय बनाउने भनिए पनि बीचमा विभिन्न कारणले बनाउन नसकेको उपमहानगरपालिकाका पूर्ण सरसफाइ फोकल पर्सन ओविराज आचार्यले बताए । अहिले ती घरमा शौचालय बनाउने काम भइरहेको उनको भनाइ छ ।

विपन्न परिवार भएकाले यी सबै घरमा एडीबीको कार्यक्रमबाटै शौचालय बनाइने उनले बताए । जनचेतनाको अभाव, रुढीवादी परम्परा, अति विपन्नताजस्ता कुराले शौचालय बनाउन नसक्नु वा बनाए पनि प्रयोगको समस्या रहेको आचार्यले बताए । जानकी गाउँपालिकाको बनियागाउँका मनोरानी खटिक, इदवारी खटिकलगायतको शौचालय गत साउनमा बाढीका कारण भत्किएपछि खुला ठाउँमा शौच गर्न बाध्य छन् । बाढीले खटिक परिवारको शौचालय भत्कायो । घर डुबायो । घर भासिन थालेको छ ।

जेनतेन दुई वर्षअघि शौचालय बनाएका यी परिवारले अब फेरि तत्कालै शौचालय बनाउन नसक्ने बताउँछन् । ‘घरको अवस्था यस्तो छ । घर सुधार्नु कि टाइलेट ?’ इदवारी खटिकले भने, ‘यस्तो घाँस–पानीमा जान कसलाई रहर छ । सर्प हुन्छ । कीराकाटी हुन्छ । अरू उपाय पनि छैन ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमख राजकुमार चौधरी भने सबैको पहुँचमा शौचालय पुगेको दाबी गर्छन् । खुला दिसामुक्त हुनु सरसफाइको पहिलो पाटो हो । त्यसपछिका चरणमा जनचेतनाको कार्यक्रम पर्ने चौधरीको भनाइ छ ।

‘कतै बनेका शौचालय पनि प्रयोग नगरेका हुन सक्छन्,’ उनले भने, ‘प्रयोग गरे/नगरेको छुट्टै कुरा भए पनि अहिले सबैको पहुँचमा शौचालय पुगेको छ ।’ अनुगमनका क्रममा अहिले प्रयोग गरेको पाइएको उनले बताए । ‘सुतेको मान्छेलाई उठाउन सकिन्छ,’ उनले भने, ‘तर, उठ्नै नचाहने मान्छेलाई कहिल्यै उठाउन सकिँदैन ।’ अहिले जिल्लाको अवस्था पनि ठीक यस्तै रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?