१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पक्की पुलले यातायात सहज

तीन जिल्लाका सर्वसाधारण ओहोरदोहोर गर्न थालेपछि यस क्षेत्रमा व्यावसायिक चहलपहलसमेत बढदै छ
गिरुप्रसाद भण्डारी

प्यूठान — झिमरुक गाउँपालिका १ स्थित सौतामारेफेदी गर्तङखोलामा पक्की पुल निर्माणले बाग्दुला–पुर्कोटदह सडकमा बर्खामा पनि यातायात सुचारु भएको छ ।

पक्की पुलले यातायात सहज

पुलको औपचारिक उद्घाटन नभए पनि पुलबाट सवारी साधन ओहोरदोहोर गर्न थालिसकेका छन् । बर्खा सुरु हुनेबित्तिकै पुल सुचारु भएपछि प्यूठानसहित छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका स्थानीय
खुसी छन् ।

तीन जिल्लाका सर्वसाधारण ओहोरदोहोर गर्न थालेपछि यस क्षेत्रमा व्यावसायिक चहलपहलसमेत बढदै छ । प्यूठान, गुल्मी र अर्घाखाँचीको संगमस्थल सौतामारे डाँडामा घुम्न जाने आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको स्थानीय बताउँछन् ।

पक्की पुलसँगै सौतामारेफेदीबाट सौतामारे डाँडामा पुग्ने उकालो कच्ची सडकको समेत स्तरोन्नति गरिएको छ । यसले यातायातलाई अझ सहज बनाएको छ । तीन जिल्लाको संगमस्थलका रूपमा सौतामारेलाई विकास गर्ने योजना स्थानीयको छ । यही सडक भएर दैनिक गुल्मीको पुर्कोटदहसम्म प्यूठानको बाग्दुलाबाट बस सञ्चालन हुने गरेको छ । सौतामारेफेदीबाट महेन्द्रनगरका लागि समेत नियमित बस सञ्चालन हुन्छ ।

गुल्मीको पुर्कोटदह, बाँझकटेरी, धुर्कोट, अर्घाखाँचीको खनदह, म्यालपोखरी, गोखुङ्गा र प्यूठानको सौतामारे, बाँदीकोट, ओखरकोटलगायत क्षेत्रका स्थानीय पक्की पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । गुल्मीको रेसुंगा, रिडी, अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्वारीलाई लक्षित गरी ‘पर्यटकीय मार्ग’ हुनुका साथै नेपाल सरकारले बनाउने भनेको मदन भण्डारी मार्ग यसैमा पर्ने कुराले स्थानीय खुसी छन् ।

बाग्दुला–मच्छी–पुर्कोटदह सडक ०५५ सालमा ट्रयाक खुलेको हो । गर्तङखोलामा पक्की पुल नभएकै कारण बर्खामा नियमित यातायात सञ्चालन हुन सकेको थिएन । गुल्मीको तम्घास पुग्न धुर्कोट र मदाने गाउँपालिकाको सीमा क्षेत्र पनाहखोलामा पक्की पुल नहुँदा बर्खामा गाडी रोकिने गरेका थिए । तर, ती खोलामा समेत यसै वर्ष पक्की पुल निर्माण भइसकेका छन् ।

यसले दुवै जिल्ला सदरमुकाम पुग्नका लागि सहज गराएको छ । सडक र पुल बनेपछि नियमित यातायात सञ्चालन गर्न सकिने भरपर्दो माध्यम बनेको झिमरुक गाउँपालिका १ का वडाध्यक्ष ध्रुव खनालले बताए । उनले सौतामारेबाट अर्घाखाँचीको सन्धिखर्कसम्म यातायात सहज रहेको बताए । तीनै जिल्लाको आर्थिक गतिविधि बढाउन यस रुटको निकै ठूलो महत्त्व रहेको उनको भनाइ छ ।

‘सडक सञ्जालले सौतामारे धेरै अगाडि बढिसक्यो,’ स्थानीय सूर्य जीएमले भने, ‘मदन भण्डारी मार्ग पनि यहीं भएर आउने भन्ने कुराले हामी निकै खुसी छौं ।’ उनले सालझन्डी–ढोरपाटन सडकसमेत सौतामारे हुँदै गएकाले चहलपल बढेको बताए । जिल्ला प्राविधिक कार्यालय प्यूठानमार्फत गर्तङखोलामा पक्की पुल निर्माण गरिएको हो । जयबुद्ध–इसान जेभी निर्माण कम्पनीमार्फत १ करोड ४६ लाख रुपैयाँको लागतमा पुलको निर्माण कार्य सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय प्रमुख चन्द्र शाहले बताए । पुलको लम्बाई २० मिटर र चौढाइ ५ मिटर २५ सेमि रहेको छ ।

खोला बढेर सधैंको बर्खामा गाडी जानै नसक्ने ठाउँमा पक्की पुल बनेपछि गाउँलेहरूमा खुसी छाएको छ । पक्की पुल नहुँदा धेरै पीडा भोग्नुपरेको विगत सम्झँदै सौतामारेका लीलाबहादुर घर्ती क्षत्रीले यसपालिको बर्खामा ढुक्कसँग यात्रा गर्न पाउँदा सबै खुसी भएको बताए । ‘बर्खा लाग्यो भने प्यूठानतर्फको यातायात बन्द हुन्थ्यो,’ उनले भने, ‘वर्षौंदेखिको पक्की पुलको सपना बल्ल पूरा भयो ।’

प्रकाशित : भाद्र १४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?