मालपोत अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

कर्मचारीको मिलेमतोमा जग्गा पास 
नवीन पौडेल

परासी — सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गर्न सघाएको भन्दै मालपोत कार्यालय परासीका अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ । जिल्ला प्रहरीले कर्मचारीको मिलेमतोमा जग्गा पास भएको भन्दै उनीहरूमाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय परासीका चार कर्मचारी र किर्ते कागज बनाउने दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।

Yamaha


सरावल गाउँपालिका १ को खेल मैदान र मुसलमान समुदायको कब्रस्थान रहेको २ बिघा १५ कट्ठा जग्गालाई किर्ते कागजका आधारमा गैंडाकोट १३ स्थित लुम्बिनी ग्यास कम्पनीलाई बिक्री गरेको आरोप छ । कर्मचारीसहित जग्गाको कारोबार गर्ने र जग्गाधनी बनेकालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

सार्वजनिक जग्गा लुम्बिनी ग्यास कम्पनीलाई गत जेठ ९ गते १ करोड १२ लाख रुपैयाँमा बिक्री गरिएको थियो । खेल मैदान बिक्री भएको थाहा पाएपछि स्थानीयले जिल्ला प्रशासन, प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

मुद्दा चलाइएका कर्मचारीमा मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, जीवलाल भुसाल, कम्प्युटर अपरेट एजाज खाँ र खरिदार आशा खडका रहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

यसैगरी कालीगण्डकी गाउँपालिका ३ गुल्मीका दीपक सुनार र जग्गाको कारोबार गर्ने पश्चिम नवलपरासी सरावल ३ का यादवप्रसाद भण्डारी छन् । उनीहरूले जग्गाको कित्ता नम्बर फेरबदल गरेर सार्वजनिक जग्गा बिक्री गरेका हुन् ।

२४ नम्बर कित्तामा रहेको उक्त जग्गा सार्वजनिक रहेको जानकारी पाएपछि गिरोहले १२४ र ७२४ कित्ता नम्बरलाई अगाडिको नम्बर टिपेक्स लगाएर वडा कार्यालयबाट घर गोठ प्रमाणित सिफारिस लिएका थिए ।

भूमाफियाले ०६४ साउन ५ गते २४ नम्बर कित्ताको स्रेस्ता कायम भएको भनी मालपोत कार्यालयको मोठ ठेलीमा उल्लेख गरेको भेटिएको मालपोत कार्यालय परासीका प्रमुख शिवध्वज अधिकारीले बताए । स्रेस्ता फाइलमा राखिएको पुर्जामा ०५५ मंसिर १८ गते राजस्व मूल्य भुक्तान उल्लेख गरिएको छ ।

यसरी भएको थियो पास
किर्ते कागज गरेर जग्गाधनी बनेका गुल्मीका दीपक सुनारले १० वर्ष लगाएर सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको किर्ते लालपुर्जाको माध्ययमबाट स्रेस्ता कायम गर्ने, मालपोत बुझाउने र कित्ताकाट गरेको भेटिएको छ ।

मालपोत कार्यालय परासीका अनुसार ०२४ सालमा २ बिघा १५ कट्ठा ४ धुर जग्गा २४ नम्बर कित्ताकाट गरेर सार्वजनिक प्रति कायम गरिएको छ । सुनारले सुकुम्बासी समस्या समाधान आयोगबाट ०५५ मंसिर १५ गते जग्गाधनी पुर्जा लिएका छन् ।

सार्वजनिक जग्गा आफ्नो नाममा गरेपछि ०५५ देखि साबिकको तिलकपुर गाविसमा मालपोत दस्तुर बुझाएर ०६४ सालमा स्रेस्ता कायम गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भेषनारायण चौधरीका अनुसार पुर्जाको प्रतिलिपि निकालेर कित्ता नम्बर किर्ते गरेर वडामा सिफारिसका लागि निवेदन दिएको बताए ।

‘१२४ नम्बर कित्ताको सिफारिस लिएर अगाडिको एक मेटी मालपोत कार्यालयमा पेस गरेको पाइयो,’ उनले भने, ‘पटक–पटक किर्ते कित्ता नम्बर प्रयोग गरेर अगाडिको अंक मेटेको भेटिएको छ ।’

स्थानीय तहबाट सिफारिस लिँदा सुनारले ०७४ चैत २० गते पुर्जा हराएकाले प्रतिलिपि सिफारिस, ०७५ जेठ १ गते घरगोठ प्रमाणित सिफारिस लिँदा एकपटक १२४ र अर्को पटक ७२४ नम्बर कित्ता कायम गरेको प्रमाण फेला परेको छ ।

वडा कार्यालयबाट ७२४ नम्बर कित्ताको मालपोत तिरेर २४ नम्बर कित्ता किनबेच भएको हो । पछिल्लो समय जग्गा बिक्रीका लागि सिफारिस लिँदा ७२४ नम्बर कित्ताको १५ कट्ठा २ धुरको सिफारिस लिएर अगाडि २ बिघा थप गरिएको छ ।

यही जेठ ९ गते रजिस्ट्रेसन पास भएको जग्गा लुम्बिनी ग्यासका प्रतिनिधिले उद्योगका लागि संरचना बनाउन अवलोकन गर्न आएपछि स्थानीयले सार्वजनिक जग्गा पास भएको पत्ता पाएका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ १९:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तोकियो स्थानीय तह संयोजक

कान्तिपुर संवाददाता

गोरखा — स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सघाउन र पार्टीका कार्यक्रम सञ्चालन गर्न कांग्रेसले यहाँका ११ स्थानीय तहका लागि पार्टीको संयोजक र महिला संयोजक तोकेको छ ।

जनप्रतिनिधिमा निर्वाचितहरूलाई पार्टी आफ्ना काममा नलगाइ छुट्टै सघाउने संयन्त्र बनाउनु पर्नेमा अधिकांश स्थानीय तहमा निर्वाचितलाई नै पार्टीका गतिविधि पनि सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

संयोजकले पार्टी गतिविधि र जनप्रतिनिधिलाई सघाउने र महिला संयोजकले महिलाका समस्या सुन्ने र महिला संघ सम्बन्धित गतिविधि गर्ने जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘पार्टीको जिल्ला सभापतिले संयोजक तोक्ने प्रावधान अनुसारको काम गरिएको हो,’ उनले भने ।

गोरखा नगरपालिकाका लागि संयोजकको जिम्मेवारी नगर सभापति चन्दनबाबु खत्रीलाई दिइएको छ भने महिला संयोजकमा उपमेयर बिना श्रेष्ठ चयन भएकी छन् । पालुङटार नगरपालिकाको संयोजकको जिम्मेवारी नगर सभापति एवमं मेयर दीपकबाबु कँडेल र महिला संयोजकमा चेतकुमारी श्रेष्ठलाई दिइएको छ ।

चुमनुव्री गाउँपालिकको संयोजकमा सूर्य गुरुङ चयन भएका छन् । बारपाक सुलिकोट गाउँपालिकाको संयोजकमा जीतबहादुर घले, महिला संयोजकमा अम्बिका थापा, धार्चेमा संयोजकमा माला गुरुङ र महिला संयोजकमा फुलमाया गुरुङले जिम्मेवारी पाएका छन् ।

गण्डकी गाउँपालिकामा संयोजक भीमप्रसाद अर्याल र महिला संयोजकमा ललिता अधिकारी, सहिद लखन गाउँपालिकाको संयोजक खुनप्रसाद रेग्मी, महिला संयोजकमा शर्मिला श्रेष्ठ, आरुघाट गाउँपालिकामा संयोजक गगन अधिकारी, महिला संयोजक कल्पना नेपाली, अजिरकोट गाउँपालिकाको सयोजकमा ओम गुरुङ र महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएका छन् । भीमसेन थापा गाउँपालिकामा संयोजक भरत भट्ट र महिला संयोजक विनु वाग्लेलाई जिम्मेवारी दिइएको छ ।
११ स्थानीय तहमध्ये यहाँका नौ स्थानीय तहमा कांग्रेसका प्रमुख र सातमा उपप्रमुख छन् । कांग्रेसले उपमेयर र उपप्रमुख विजयी बनेका स्थानीय तहमा महिला संयोजकको जिम्मेवारी उनीहरुलाई नै दिएको छ ।

संघीयता कार्यान्वयनसँगै पहिलेका गाविस मिलेर गाउँपालिका तथा नगरपालिका बनेपछि उक्त स्थानीय तह हेर्ने गरि संयोजक र महिला संयोजक तोकिएको हो ।

प्रकाशित : भाद्र १४, २०७५ १९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT