कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डेढ दर्जन पक्की पुल अलपत्र

माधव अर्याल

पाल्पा — जिल्लामा निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । यहाँका १५ भन्दा बढी स्थानमा पक्की पुल निर्माण भइरहेका छन् । तर, तोकिएको समयमा निर्माण पूरा नहुँदा स्थानीयले वर्षायाममा दु:ख खेपिरहेका छन् । असारदेखि असोजसम्म अधिकांश स्थानमा खोला बढ्ने गर्छन् । त्यस्ता खोलामा मोटरसाइकल, साना सवारी साधन चल्न सक्दैनन् ।

डेढ दर्जन पक्की पुल अलपत्र

‘खोला बढेपछि सवारी साधन चल्न सक्दैन,’ तिनाउ गाउँपालिका ५ बिस्कुनडाँडाका भूपालसिंह घर्ती मगरले भने, ‘पुल कहिले बन्ने हो र हामीले कहिले सवारी साधन चलाउन पाउने हो, थाहा छैन ।’ सिद्धार्थ राजमार्गबाट कोलडाँडा जोड्ने पुलको काम अघि बढेको छ । जिल्लाका अधिकांश खोला भएका स्थानमा सवारी साधन चल्न सक्दैनन् । बोकाएर खोला तार्नुपर्ने बाध्यतासमेत छ । खोलामा पानी बढेपछि ट्रयाक्टरले तानेर पनि जिप सञ्चालन गर्दै आएका छन् ।


‘वर्षामा खोलामा जिप फसेपछि पैसा तिरेर निकाल्नुपर्छ,’ रम्भा १ हुँगीका नारायण भट्टराईले भने, ‘यस्तो समस्या समयमा पुल निर्माण कार्य नसकिँदा नै भएको हो ।’ कालीगण्डकी करिडोरको पीपलडाँडाबाट बाँकामलाङसम्म १० भन्दा बढी पुल अलपत्र छन् । यहाँ खोला ठूलो हुनासाथ सवारी साधन बन्द गर्नुपर्ने बाध्यता छ । पीपलडाँडा, हुँगी, हेक्लाङ, गेझा, खालीवन, रामपुर, दर्छा, गाडाकोट, बाँकामलाङका विभिन्न स्थानमा पक्की पुल निर्माणका लागि ठेक्का भएका छन् । तर, निर्माण व्यवसायीले समयमा काम नगर्दा स्थानीय सास्ती खेप्न बाध्य छन् ।


‘भएको खोलाको बहावसमेत बिगारेर छाडा सवारी चलाउनै समस्या हुन्छ,’ रामपुर नगरपालिका ५ का चालक दिनेश पोखरेलले भने, ‘अहिले पहिलाभन्दा बढी सास्ती खेप्नु परेको छ ।’ चालकका अनुसार पुल बनाउन थालेर अलपत्र पार्दा खोलाको बहाव नै बिग्रन्छ । त्यसपछि गाडी तार्न झन् समस्या हुन्छ । पहिले एउटा बाटोमा हिँडेको गाडी पुन: अर्को बाटोमा हिँड्नु पर्दा झनै समस्या हुने उनले बताए । कचल खोला र दोभान खोलामा पुल नबन्दा स्थानीयलाई बजार गर्न आउँदा जाँदा चार घण्टा बढी हिँड्नुपर्ने बाध्यता छ । कालीगण्डकी नदीमा समेत पुल निर्माण सुरु भए पनि सम्पन्न भएका छैनन् ।

तिनाउको कचल जाने सडक पक्की पुल नभएकै कारण तीन महिनादेखि बन्द छ । दोभानबाट नुवाकोट हुँदै रूपन्देहीको बेलवास जोड्ने सडक पनि पक्की पुलकै कारण तीन महिनादेखि बन्द छ । यस सडक खण्डलाई सिद्धार्थ राजमार्गको बाइपास सडकका रूपमा समेत हेरिएको छ । ‘पुल नभएकै कारण समस्या बेहोर्नु परेको छ,’ तिनाउ२ की मधु जैसीले भनिन्, ‘अहिले चार/पाँच घण्टा हिँड्नुपर्ने बाध्यता छ ।’ कोलडाँडा, सत्यवती, बिस्कुनडाँडामा पनि सवारी साधन चल्न सकेका छैनन् । पुल नहुँदा निस्दीको अर्चलेको अवस्था पनि उस्तै छ । ज्यामिरेमा पनि पुल नभएकै कारण दुई महिनादेखि सवारी साधन चल्न सकेका छैनन् । अरुणखोला क्षेत्रमा पनि समस्या छ । बहादुरपुर, ज्यामिरे, मित्यालका बासिन्दा वर्षासँगै तीन/चार घण्टा हिँडेर बजार जानुपर्छ ।


सहलकोट, गाँडाकोट, झिरुवासमा पनि अहिले सवारी साधन चलाउन समस्या छ । ‘खोलामा पुल नबन्दासम्म सधंै दु:ख पाउने भइयो,’ अर्चलेका होम राई मगरले भने, ‘जहिले खोलाकै सास्ती छ ।’ उनका अनुसार वर्षाको तीन महिना यस्तै समस्या हुन्छ । जिल्लाको तिनाउ खोला बढदा अम्ल्याहानमै समस्या छ । यस वर्ष ठूलो पानी नपरेकाले यहाँ यातायात सहज छ । गत वर्ष यही खोलामा आठ जनाले ज्यान गुमाएका थिए । ठेक्का लागेको पुल समयमा सम्पन्न नहुने, कतिपय खोलामा पुलको योजना नै नपर्दा अझै पनि धेरै गाउँमा हिउँदमा मात्र सवारी साधन चल्ने गर्छन् । कालीगण्डकी करिडोर, जिल्ला समन्वय र सडक डिभिजनअन्तर्गत यस्ता पक्की पुल निर्माण भइरहेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?