कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

करिश्मा चौधरी

बाँके — जिल्लाको खजुरा गाउँपालिका ३ की पुनम शर्मा सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । अरूभन्दा फरक बनेर देखाउने चाहना थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदैनजस्तो लागेको थियो । घर नजिक सामुदायिक विद्यालयमै सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि धोको पूरा भएको छ ।

ज्ञानोदय माध्यमिक विद्यालयमा इन्जिनियरिङको नि:शुल्क पढाइ हुन्छ । यस्तो पढाइ कक्षा ९ देखि सुरु हुन्छ । उनलाई सुरुमा जानकारी भएन । उनले ९ कक्षा उत्तीर्ण गरिसकेकी थिइन् । तर, कक्षा १० पढिनन् । फेरि कक्षा दोहोर्‍याएर इन्जिनियरिङ पढ्न थालिन् । ‘निजीमा पैसा तिरेर पढ्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘आफ्नै विद्यालयमा पढ्न पाउँदा खुसी छु ।’


खजुरा ५ का सरोज श्रीवास्तव पनि यही विषय पढ्दै छन् । सानैदेखि इन्जिनियर बन्ने सपना बोकेका उनले गाउँकै सामुदायिक विद्यालयमा पढ्न पाउँछु भन्ने कल्पना पनि गरेका थिएनन् । अवसर पाएपछि औधी खुसी छन् । ‘धेरै शुल्क तिरेर निजी कलेजमा पढ्न गाह्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले सजिलै पढ्न पाएँ । खुसी छु ।’ पुनम र सरोजलाई मात्रै होइन सामुदायिक विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि यस क्षेत्रका धेरै विद्यार्थी तथा अभिभावकलाई सहज भएको छ । निजी शैक्षिक संस्थामा महँगो शुल्क तिरेर पढ्न नसक्ने विपन्न विद्यार्थीलाई सहयोग पुगेको छ ।

Yamaha


०७३ सालदेखि विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म चारवर्षे कोर्स सञ्चालन गरिएको छ । एक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विषय पढाउने विद्यालय भनिएपछि आफूहरूले सिभिल इन्जिनियरिङको माग गरेको प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । सरकारको शिक्षा विभाग अन्तर्गत यहाँ यसको पढाइ सुरु भएको हो । जिल्लामा कुनै पनि सामुदायिक विद्यालयमा यस्तो विषयको पढाइ नभएकाले आफूहरूले माग गरेको उनले बताए । सिभिल इन्जिनियरिङ पढ्न स्थानीयसँगै सल्यान, हुम्ला, कालिकोटबाट विद्यार्थी आउने गरेको प्रधानाध्यापकको भनाइ छ ।


पढाइ सुरु गरेपछि विपन्न परिवारका विद्यार्थीले पनि पढ्न पाएको उनी बताउँछन् । विशेषगरी निजी कलेजमा महँगो शुल्क तिरेर पढ्न नसक्ने विद्यार्थीलाई सहयोगी भएको उनले बताए । ‘नि:शुल्क कक्षा, पढाउने दक्ष शिक्षक तथा पर्याप्त प्रयोगात्मक कक्षा हुने भएकाले विद्यार्थीमैत्री छ,’ प्रधानाध्यापक सापकोटाले भने, ‘सामान्य ल्याब चार्ज मात्रै लिन्छौं ।’ राम्रो विषय भए पनि सर्वसाधारणलाई जानकारी दिन नसकिएको विद्यालयका प्राविधिक विषय संयोजक खिमलाल बरालले बताए ।


‘सामान्यतया प्राविधिक विषय भनेपछि एसईई दिएपछि पढ्छन् भन्ने बुझाइ छ,’ उनले भने, ‘तर, यहाँ सिभिल इन्जिनियरिङको पढाइ ९ कक्षादेखि नै सुरु हुन्छ ।’ ९ कक्षामा भर्ना गर्दा ४८ जनाको कोटा थियो । अहिले यस विषयमा पाँच/सात जना कम रहेको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खुला दिसामुक्त घोषणामै सीमित

करिश्मा चौधरी

बाँके — नेपालगन्ज उपमहानगरपालिकाभित्र २३ हजार ३ सय २८ घरधुरी छन् । तीमध्ये २ सय ९२ घरमा अझै शौचालय छैनन् ।

बाँकेको जानकी गाउँपालिका बनियागाउँमा प्रयोगविहीन एक पक्की शौचालय । तस्बिर : कान्तिपुर

खुला दिसामुक्त जिल्ला घोषणा भएपछि सरकारी तथ्यांकमा सबै घरमा शौचालय बनाइएको देखिए पनि महानगरभित्रकै बस्तीमा शौचालय नभएका हुन् ।

उपमहानगरका ९ वडाका २ सय ९२ घरमा शौचालय छैनन् । फुल्टेक्रा नयाँबस्तीमा ३० घर, पासाङल्हामुरोड, गुरुद्वारा रोडमा १५ घर, बुलबुलिया, पीपलचौतारा र उदयपुरमा ६० घरमा शौचालय बनेका छैनन् । भवानीयापुरमा ३०, पिप्रहवा ३५, परस्पुरमा ३२, वसुदेवपुरमा ३०, पुरैनामा ३० र पुरैनीका ३० घरमा शौचालय बनाउन बाँकी रहेको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ । तर, जिल्लाका सबै सर्वसाधारणको पहुँचमा शौचालय छ भनी गत असारमा खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ ।

नगरका शौचालय बनाउन बाँकी रहेका घरमा एसियाली विकास बैंक (एडीबी) को कार्यक्रममार्फत शौचालय बनाउने भनिए पनि बीचमा विभिन्न कारणले बनाउन नसकेको उपमहानगरपालिकाका पूर्ण सरसफाइ फोकल पर्सन ओविराज आचार्यले बताए । अहिले ती घरमा शौचालय बनाउने काम भइरहेको उनको भनाइ छ ।

विपन्न परिवार भएकाले यी सबै घरमा एडीबीको कार्यक्रमबाटै शौचालय बनाइने उनले बताए । जनचेतनाको अभाव, रुढीवादी परम्परा, अति विपन्नताजस्ता कुराले शौचालय बनाउन नसक्नु वा बनाए पनि प्रयोगको समस्या रहेको आचार्यले बताए । जानकी गाउँपालिकाको बनियागाउँका मनोरानी खटिक, इदवारी खटिकलगायतको शौचालय गत साउनमा बाढीका कारण भत्किएपछि खुला ठाउँमा शौच गर्न बाध्य छन् । बाढीले खटिक परिवारको शौचालय भत्कायो । घर डुबायो । घर भासिन थालेको छ ।

जेनतेन दुई वर्षअघि शौचालय बनाएका यी परिवारले अब फेरि तत्कालै शौचालय बनाउन नसक्ने बताउँछन् । ‘घरको अवस्था यस्तो छ । घर सुधार्नु कि टाइलेट ?’ इदवारी खटिकले भने, ‘यस्तो घाँस–पानीमा जान कसलाई रहर छ । सर्प हुन्छ । कीराकाटी हुन्छ । अरू उपाय पनि छैन ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमख राजकुमार चौधरी भने सबैको पहुँचमा शौचालय पुगेको दाबी गर्छन् । खुला दिसामुक्त हुनु सरसफाइको पहिलो पाटो हो । त्यसपछिका चरणमा जनचेतनाको कार्यक्रम पर्ने चौधरीको भनाइ छ ।

‘कतै बनेका शौचालय पनि प्रयोग नगरेका हुन सक्छन्,’ उनले भने, ‘प्रयोग गरे/नगरेको छुट्टै कुरा भए पनि अहिले सबैको पहुँचमा शौचालय पुगेको छ ।’ अनुगमनका क्रममा अहिले प्रयोग गरेको पाइएको उनले बताए । ‘सुतेको मान्छेलाई उठाउन सकिन्छ,’ उनले भने, ‘तर, उठ्नै नचाहने मान्छेलाई कहिल्यै उठाउन सकिँदैन ।’ अहिले जिल्लाको अवस्था पनि ठीक यस्तै रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT