१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

कर्मचारीको मिलेमतोमा जग्गा पास
नवीन पौडेल

परासी — सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गर्न सघाएको भन्दै मालपोत कार्यालय परासीका अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ । जिल्ला प्रहरीले कर्मचारीको मिलेमतोमा जग्गा पास भएको भन्दै उनीहरूमाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मालपोत कार्यालय परासीका चार कर्मचारी र किर्ते कागज बनाउने दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

सरावल गाउँपालिका १ को खेल मैदान र मुसलमान समुदायको कब्रस्थान रहेको २ बिघा १५ कट्ठा जग्गालाई किर्ते कागजका आधारमा गैंडाकोट १३ स्थित लुम्बिनी ग्यास कम्पनीलाई बिक्री गरेको आरोप छ । कर्मचारीसहित जग्गाको कारोबार गर्ने र जग्गाधनी बनेकालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

सार्वजनिक जग्गा लुम्बिनी ग्यास कम्पनीलाई गत जेठ ९ गते १ करोड १२ लाख रुपैयाँमा बिक्री गरिएको थियो । खेल मैदान बिक्री भएको थाहा पाएपछि स्थानीयले जिल्ला प्रशासन, प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । मुद्दा चलाइएका कर्मचारीमा मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, जीवलाल भुसाल, कम्प्युटर अपरेट एजाज खाँ र खरिदार आशा खडका रहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । यसैगरी कालीगण्डकी गाउँपालिका ३ गुल्मीका दीपक सुनार र जग्गाको कारोबार गर्ने पश्चिम नवलपरासी सरावल ३ का यादवप्रसाद
भण्डारी छन् ।


उनीहरूले जग्गाको कित्ता नम्बर फेरबदल गरेर सार्वजनिक जग्गा बिक्री गरेका हुन् । २४ नम्बर कित्तामा रहेको उक्त जग्गा सार्वजनिक रहेको जानकारी पाएपछि गिरोहले १२४ र ७२४ कित्ता नम्बरलाई अगाडिको नम्बर टिपेक्स लगाएर वडा कार्यालयबाट घर गोठ प्रमाणित सिफारिस लिएका थिए । भूमाफियाले ०६४ साउन ५ गते २४ नम्बर कित्ताको स्रेस्ता कायम भएको भनी मालपोत कार्यालयको मोठ ठेलीमा उल्लेख गरेको भेटिएको मालपोत कार्यालय परासीका प्रमुख शिवध्वज अधिकारीले बताए । स्रेस्ता फाइलमा राखिएको पुर्जामा ०५५ मंसिर १८ गते राजस्व मूल्य भुक्तान उल्लेख गरिएको छ ।


यसरी भएको थियो पास
किर्ते कागज गरेर जग्गाधनी बनेका गुल्मीका दीपक सुनारले १० वर्ष लगाएर सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको किर्ते लालपुर्जाको माध्ययमबाट स्रेस्ता कायम गर्ने, मालपोत बुझाउने र कित्ताकाट गरेको भेटिएको छ । मालपोत कार्यालय परासीका अनुसार ०२४ सालमा २ बिघा १५ कट्ठा ४ धुर जग्गा २४ नम्बर कित्ताकाट गरेर सार्वजनिक प्रति कायम गरिएको छ ।

सुनारले सुकुम्बासी समस्या समाधान आयोगबाट ०५५ मंसिर १५ गते जग्गाधनी पुर्जा लिएका छन् । सार्वजनिक जग्गा आफ्नो नाममा गरेपछि ०५५ देखि साबिकको तिलकपुर गाविसमा मालपोत दस्तुर बुझाएर ०६४ सालमा स्रेस्ता कायम गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भेषनारायण चौधरीका अनुसार पुर्जाको प्रतिलिपि निकालेर कित्ता नम्बर किर्ते गरेर वडामा सिफारिसका लागि निवेदन दिएको बताए । ‘१२४ नम्बर कित्ताको सिफारिस लिएर अगाडिको एक मेटी मालपोत कार्यालयमा पेस गरेको पाइयो,’ उनले भने, ‘पटक–पटक किर्ते कित्ता नम्बर प्रयोग गरेर अगाडिको अंक मेटेको भेटिएको छ ।’


स्थानीय तहबाट सिफारिस लिँदा सुनारले ०७४ चैत २० गते पुर्जा हराएकाले प्रतिलिपि सिफारिस, ०७५ जेठ १ गते घरगोठ प्रमाणित सिफारिस लिँदा एकपटक १२४ र अर्को पटक ७२४ नम्बर कित्ता कायम गरेको प्रमाण फेला परेको छ । वडा कार्यालयबाट ७२४ नम्बर कित्ताको मालपोत तिरेर २४ नम्बर कित्ता किनबेच भएको हो । पछिल्लो समय जग्गा बिक्रीका लागि सिफारिस लिँदा ७२४ नम्बर कित्ताको १५ कट्ठा २ धुरको सिफारिस लिएर अगाडि २ बिघा थप गरिएको छ । यही जेठ ९ गते रजिस्ट्रेसन पास भएको जग्गा लुम्बिनी ग्यासका प्रतिनिधिले उद्योगका लागि संरचना बनाउन अवलोकन गर्न आएपछि स्थानीयले सार्वजनिक जग्गा पास भएको पत्ता पाएका थिए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?