पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

वीरेन्द्र केसी

अर्घाखाँची — स्कुलमा कापी, किताब र कलम समातेर पढ्ने बेला छत्रदेव गाउँपालिकाका विद्यार्थी भने हातमा लौरो, गुलेली र ढुंगा लिएर बाँदर लखेट्न बाध्य छन् ।

बारीमा मकै पाक्न आँटेका छन् । तर, बाँदरबाट घोगा जोगाउनै मुस्किल छ । छत्रदेवका सबै वडामा बाँदरको बिगबिगीले स्थानीय हैरान छन् । तल्लोदेखि माथिल्लो कक्षा पढ्ने विद्यार्थी मकै जोगाउन बारीमा चौकीदारी गर्दा नियमित स्कुल जान पाएका छैनन् ।


बल्कोटका नरेश खनाल कक्षा १० मा पढ्छन् । मकैले घोगा हाल्न थालेदेखि उनी नियमित स्कुल जान पाएका छैनन् । अरू बेला कक्षामा दैनिक हाजिर हुन्थे । अहिले भने सातामा एक/दुई दिन मात्र मुस्किलले स्कुल पुग्छन् । ‘बाँदरको ठूलो बगाल आएर बसेको छ,’ उनले भने, ‘बारी छेउमा चौकीदारी नगर्ने हो भने एकैछिनमा बारीका मकै सखाप पारिदिन्छन् ।’ उनका बाबुआमा र दाइ पनि दिनभरि बारीमै लौरो लिएर बस्छन् । मान्छे देखेपछि बाँदर झट्ट बारीमा पस्दैन । ‘मकै त जोगाउनै पर्‍यो,’ उनले भने, ‘अहिले जोगाइएन भने पछि भोकै स्कुल गएर पढ्न सकिँदैन । मकै पाकेपछि बल्ल स्कुल जान्छु ।’

Yamaha


हातमा गुलेली र बलियो लाठी लिएर बारी छेउमा बस्ने उनले बताए । ‘बाँदर आए भने थाल बजाउँछु, होहल्ला गर्छु अनि बाँदर भाग्छन्, उनले भने, ‘पढेर कक्षामा फस्ट, सेकेन्ड हुने धोको थियो, स्कुल जानै नपाउँदा मन निराश भएको छ ।’ चुनाव र अरू बेला नेता आएर ठूल्ठूला भाषण गर्ने, बाँदरको दु:ख हटाइदिन्छौं भन्ने तर चुनाव जितेपछि चासो नै नदिने गरेको स्थानीयले बताए । बिहान घरमा आमाले भात पकाउनुहुन्छ, त्यसपछि बारीमा आमा आएपछि दाजुभाइ खान जाने उनले बताए । ‘मकै जोगाउँदा मेरो पढाइ चौपट भयो । बेलुका किताब त हेर्छु तर स्कुलमा गुरुले पढाएजस्तो बुझिँदैन,’ उनले भने, ‘पढ्न नपाउँदा मन आत्तिन्छ । पढ्ने मन भएर के गर्नु, बाँदरबाट मकै जोगाइएन भने भोकै बस्नुपर्छ ।’


केरुंगाकी अनिता भुसालले १५ दिनयता स्कुल टेकेकी छैनन् । बिहान घरमा खाना पकाउँछिन् । ‘बाँदरको चौकीदारी गर्ने बाबुआमा घरमा खान आएपछि म बारीमा जान्छु,’ उनले भनिन्, ‘बाँदरलाई मकैबारीमा आउन रोक्न गुलेलीमा ढुंगा राखेर हान्दा बल्ल भाग्छन् ।’ पढाइको चिन्ता त उनलाई पनि छ । तर, के गर्नु † मकै नजोगाई भएन ।


छत्रदेव गाउँपालिकामा नौ वडा छन् । सिंगो गाउँपालिकाका कृषक बाँदरले मकै खाइदिएर आजित छन् । बल्कोटस्थित जनशक्ति आधारभूत विद्यालयका प्रअ टोपलाल पाण्डेले एक सय विद्यार्थी संख्यामा ३० जनाजति नियमित स्कुल नआउने बताए । ‘एक्लै स्कुल आउँदा–जाँदा बाटोमा बाँदरले छेक्ने गरेपछि अभिभावक नै सँगै छोड्न र लिन आउँछन्,’ उनले भने, ‘बाँदरले त आतंकै मच्चायो ।’ मकै जोगाउन विद्यार्थीले चौकीदारी गर्ने, खाना पकाउने र लैजाने गर्छन् । ‘म पनि बिहान–बेलुका बारीमै चौकीदारी गर्छु,’ उनले भने, ‘दिनभर श्रीमतीले हेर्छिन्, स्कुल पनि आउनै पर्‍यो, मकै पनि जोगाउनुपर्छ । ४ बजेपछि लौरो लिएर म सीधै बारीमै छिर्छु ।’


बाँदरका कारण विद्यार्थी अनियमित हुने गरेको महेन्द्र विद्याबोध उमाविका प्राचार्य डिल्ली भुसालले बताए । ‘१० प्रतिशत विद्यार्थी कक्षाकोठामा अनियमित छन्,’ उनले भने, ‘१२ देखि १८ वर्ष उमेरका विद्यार्थी दैनिक स्कुल आउन पाउँदैनन् । चौकीदारी गर्नेलाई खाना पकाएर लैजाने र पालो दिने काम गर्न उनीहरू बाध्य छन् ।’


केरुंगाका विष्णु खनालले १० कक्षामा पढ्ने छोरालाई सातामा एक दिन मात्र स्कुल पठाउने बताए । मकै नजोगाए परिवार कसरी पाल्ने ? कडा चौकीदारी नगर्दा छिनभरमै बाँदरले मकैका घोगा च्यातचुत, भाँच्दिने र नोक्सान गर्ने उनले बताए ।


‘चुनावका बेला हामीलाई भोट दिनूस्, बाँदर नियन्त्रण गर्छौं भनेर भाषण गर्‍यौं, सकिँदो रहेनछ, जनता आएर गुनासो गर्छन् के गर्ने हामी पनि निरीह छौं,’ छत्रदेव ३ का वडाध्यक्ष तेजप्रसाद खनालले बताए । बाँदरकै कारण बर्सेनि दुई/चार घरपरिवार बसाइँ सर्छन् । बारीमा लगाएको खुर्सानी र कागतीबाहेक सबै चीज बाँदरले खाइदिन्छन् । गाउँमा बाँदरको बिगबिगी रहेको उनले बताए । ‘बन्दुक नपड्काइकन उपाय छैन, प्रमुख जिल्ला अधिकारीलाई बन्दुक माग्दा शान्ति सुरक्षा देखाउँदै दिन नमिल्ने बताएपछि हामीसँग अरू उपाय केही भएन,’ उनले भने, ‘अब त बारी बाँझो राख्नुको विकल्प नै छैन ।’ बाँदरले हिउँदे र वर्षे अन्नबाली, सागपात सबै नोक्सान पार्छन् । घरभित्र पसेर लत्तापकडा, अन्नपात र सरसामान लथालिंग पार्ने गरेको खनालले बताए ।


अघिल्लो वर्ष छत्रदेव गाउँपालिकाले प्रत्येक वडालाई एक–एक लाख रुपैयाँ बजेट छुट्याएर हेरालु राख्ने व्यवस्था मिलाएको थियो । गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले केही दिनमै उपाय खोजिने बताए । ‘बाँदरको दीर्घकालीन नियन्त्रण नसोची उपाय नै छैन,’ उनले भने, ‘त्यसका लागि विशेषज्ञ झिकाएर उपाय निकाल्ने प्रयास गर्दै छौं ।’

Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

निर्णय बदरको माग गर्दै असन्तुष्ट पक्ष काठमाडौंमा

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपाको जिल्ला अध्यक्षमा पीताम्बर भुसालको नाम सिफारिस भएपछि पूर्वएमालेभित्र विवाद चुलिएको छ । भुसालको समर्थन र विरोधमा नेता/कार्यकर्ता दुई समूहमा विभाजित भएका छन् ।

तत्कालीन जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्यले कार्यदलभित्र छलफलै नगरी एकलौटी ढंगले भुसालको नाम प्रदेश कमिटीमा सिफारिस गरेकामा तत्कालीन एमाले उपाध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान र उपसचिव प्रेमनारायण गैरेलगायत नेताले असन्तुष्टि व्यक्त गर्दै सच्याउन माग गरेका छन्।

भुसाल र कोइराला पक्षधर नेता/कार्यकर्ता एकअर्काप्रति आरोप/प्रत्यारोपमा उत्रिएका छन्। भुसाल पक्षधर नेता/कार्यकर्ताले पार्टीभित्र अराजकता निम्त्याउन खोजिएको आरोप लगाएका छन्। असन्तुष्ट पक्षले भने पार्टीको विधि र प्रक्रियालाई मिच्ने काम गरेर कनिष्ठलाई अध्यक्षमा सिफारिस गर्नु व्यक्तिवादी चरित्र हाबी भएको दाबी गरेको छ। सामाजिक सन्जालमा एकअर्काप्रति आरोप/प्रत्यारोपको जुहारी नै चलेको छ।

‘पीताम्बर के मानेमा कनिष्ठ भए? पार्टीमा ठूलो त्याग र योगदान गरेका नेता हुन्,’ सांसद आचार्यले भने, ‘विरोध गर्नुको अर्थ छैन। अध्यक्ष उनै हुन्।’ विरोध गर्नुभन्दा पार्टी काममा इमान्दार भएर लाग्न उनले आग्रह गरे। पार्टी सदस्यता र काम गरेको हिसाबले भुसाल कुनैमा कमी नभएकाले पार्टी हाँक्न सक्ने व्यक्ति भएको उनले बताए। पार्टी चलाउन सक्ने र सबैलाई मिलाएर लैजान सक्ने खुबी भएकालाई सिफारिस गरेको उनले दाबी गरे। भुसाल २५ वर्षमै ०५४ सालमा बाँगी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि निरन्तर पार्टीमै सक्रिय छन्। ‘म अध्यक्ष केका लागि अयोग्य भएँ,’ अध्यक्षमा सिफारिस भुसालले भने, ‘निरन्तर पार्टी काममै छु। समर्थन नगर्नु उहाँहरुको कुरा हो। केन्द्रले निर्णय गरेपछि सबैलाई मिलाएर अघि बढ्छु।’

‘कमिटीका लागि पदाधिकारी र सदस्यको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने भन्ने विधानमा छ, त्यो मिच्ने काम भयो,’ नेता चौहानले भने।

सातौं जिल्ला अधिवेशन ०५९ मा एमालेको जिल्ला सचिवमा चौहानसँग भुसाल पराजित भएका थिए। सचिवालयमा भुसाल नवौं नम्बरमा थिए। ‘कमिटीको बैंठकमा कुनै सल्लाह नगरी विधि र प्रक्रिया मिचेर एकलौटी गरिएको छ,’ चौहानले भने, ‘मलाई पद चाहिएको छैन। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठक बसेर सहमति गरेर सिफारिस गर्न दिएको निर्देशनलाई अटेर गर्ने काम भयो। गलत गर्नेलाई कारबाही हुनुपर्छ।’

सिफारिस बदरको माग गर्दै चौहान काठमाडौंमा आएर अध्यक्षद्वय ओली र दाहालसहित केन्द्रीय नेताकहाँ धाइरहेका छन्। जिल्ला अध्यक्ष आचार्य प्रदेश सांसद, उपाध्यक्ष कोइराला प्रदेश कमिटी सदस्यमा चयन भएकाले अध्यक्षको पालो आफ्नो भएको चौहानको दाबी छ। भुसाल सिफारिस भएको जानकारी फेसबुकबाट पाएको कोइरालाले बताए। ‘नियमसंगत भन्दा पनि एकलौटी गरेर पार्टीलाई कमजोर बनाउन खोजियो,’ उनले भने, ‘गलत निर्णय मान्न तयार छैनौं।’ गैरेले भुसालको विरोध भन्दा पनि विधि र पद्धतिअनुसार नेतृत्व चयन हुनुपर्छ भन्ने आफूहरुको माग रहेको बताए।

सांसद आचार्य, भुसालसहित असन्तुष्ट पक्षधर केपी ओली निकट हुन्। अधिवेशनमा सचिवमा भुसाल आचार्य प्यानलबाट चुनाव लडेका थिए। चौहान प्रदेश सांसद रामजीप्रसाद घिमिरे प्यानलबाट सचिवमा निर्वाचित भएका थिए। असन्तुष्टको आरोप भुसाल पक्षधर स्वीकार गर्न तयार छैन। उता एकीकृत पार्टीको सचिव पद पाएको तत्कालीन माओवादी केन्द्रमा पनि सिफारिसप्रति असन्तुष्टि छ। सचिवमा तोजबहादुर रायमाझी सिफारिस भएका छन्। उनी नेता टोपबहादुर रायमाझी निकट हुन्। सचिवमा छमकुमारी खनालले चाहना गरेकी थिइन्।

प्रकाशित : भाद्र ११, २०७५ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT