फैसलाको २५ वर्षपछि अदालतमा उपस्थित

काशीराम डाँगी

रोल्पा — अदालतले फैसला गरेको २५ वर्षपछि रोल्पाका एक व्यक्ति कैद भुक्तान गर्न आफै अदालतमा उपस्थित भएका छन् ।

फैसलाको २५ वर्षपछि अदालतमा उपस्थित

ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा रोल्पा जिल्ला अदालतद्वारा साविक खुंग्री गाविस–६ र हालको सुनील स्मृति गाँउपालिका–२ स्थित खुंग्रीका गिरे भन्ने गोरे सुनारलाई १० वर्षको जेल सजाय फैसला भएको थियो ।


गोरे बुधबार अदालतमा आफै हाजिर भएपछि अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको छ । उनी विरुद्धको मुद्दामा अदालतले २०५१ मा फैसला सुनाएको थियो ।


फैसलाअनुसार गोरेले २०८५ मंसिर १६ गतेसम्म कैद जीवन भोग्ने छन् । सुरुमै हिरासतमा उनले ३ महिना २६ दिन कैद भुक्तान गरिसकेका छन् । नयाँ मुलुकी संहिता अनुसार अब ९ वर्ष ८ महिना १६ दिन कैद भुक्तान गर्नुपर्नेछ । लामो समय भारतमा बस्दै आएका उनी आफन्तको सल्लाहमा भारतबाटै अदालतको फैसला अनुसार कैद भुक्तान गर्न आएका थिए । उनी बुधबार कानुन व्यवसायीमार्फत रोल्पा अदालतको सम्पर्कमा आएका थिए ।


रोल्पा अदालतका श्रेस्तेदार मानबहादुर बिष्टले गोरे आफै अदालतको सम्पर्कमा आएकाले उनीसँग सम्बन्धित कागजात र फैसला हेरेर उनलाई कैद भुक्तानको व्यवस्था मिलाइएको बताए । ‘हामीले उनी जस्ताका लागि सूचना जारी गरिरहेका हुन्छौं । त्यो सूचना अनुसार कतिपय सम्पर्कमा आइरहेका छन् ।’ श्रेस्तेदार बिष्टले भने । अदालती भाषामा फैसला भइसकेर लामो समयपछि आफै कैद भुक्तानका लागि अदालतमा उपस्थित हुनुलाई ‘आत्मसमर्पण’ गरेको भनेर बुझिन्छ ।


अदालतका अनुसार फैसला भइसकेर पनि कैद भुक्तान गर्न नआएका अरु पनि थुप्रै छन् । जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मुलुकमा जारी भएको नयाँ मुलुकी संहिता अनुसार मुद्दाको फैसला हुन सुरु गरिसकेको बताए । कानुनी व्यवस्था र संहिताबारे सर्वसाधारणलाई समेत जानकारी गराउन आवश्यक भएको न्यायाधीश ज्ञवालीले बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?