सोलारबाट सिँचाइ

दुर्गालाल केसी

दाङ — विद्युत्‌काे नियमित आपूर्ति र भरपर्दो भोल्टेज नभएपछि यहाँका किसानले सोलारबाट सिँचाइको व्यवस्था गरेका छन् ।

सोलारबाट सिँचाइ

घोराही उपमहानगरपालिका ४ गोग्लीका किसानले सोलारबाट खोलाको पानी लिफ्ट गरी सिँचाइ गर्न थालेका हुन् ।

पाँच बिघा जमिन भाडामा लिएर घाँस खेती, पशुपालन, तरकारी र माछापालन गर्ने तयारी थालेको किसान मिणराम चौधरीले बताए । प्रतिकट्ठा वार्षिक १ हजार ५ सय रुपैयाँमा जग्गा भाडामा लिएको उनले बताए ।

किसानहरू मिलेर व्यावसायिक खेती गर्ने योजना बनाएको उनले बताए । ‘घरायसी खेतीपाती र पशुपालनले कृषिमा केही विकास हुन सकेन । अब व्यावसायिक रूपमै कृषि पेसा गर्न थालेका छौं,’ उनले भने, ‘बाँझो रहेको जग्गालाई सिँचाइ गरी उत्पादन गर्ने तयारी थालेका छौं ।’

खोलामा त्यत्तिकै बगेर खेर गइरहेको पानीलाई सदुपयोग गरी खेतीपातीमा लगाएको किसान रूपन्या चौधरीले बताइन् । ‘खोला तल बगिरहेको थियो । जग्गा माथि । पानी माथि उकाल्न केही उपाय भएन,’ उनले भनिन्, ‘मोटर चलाएर मात्र माथि तान्न सकिन्थ्यो तर विद्युत्ले साथ दिएन । ठूलो क्षमताको सोलार जोडेपछि अब ढुक्क भएको छ ।’

सोलारबाट पानी तानेर सिँचाइ गरिँदै ।तस्बिर : दुर्गालाल

३ लाख ७६ हजार रुपैयाँको लगानीमा सोलार प्रणाली जडान गरेको स्थानीय गिरिराज भण्डारीले बताए । विद्युत् खर्च बचत हुने र जतिबेला पनि पानी तान्न सकिने भएकाले सोलार सिँचाइमा लगानी गरेको उनले बताए । ‘लोडसेडिङ हुने भएकाले भनेको बेला पानी तान्न सकिँदैन । विद्युत् हुँदा पनि भोल्टेज पुग्दैन,’ उनले भने, ‘विद्युत्को खर्च पनि धेरै हुन्छ । सोलार जडान गर्दा सुरुमै खर्च लाग्ने हो तर विद्युत्को शुल्क बचत हुन्छ । चाहिएका बेला सिँचाइ पनि गर्न सकिन्छ ।’

सोलारको पावरले खोलाबाट ६० मिटर माथि पानी फाल्न सकिने घामपावर नेपाल प्रालिका क्षेत्रीय प्रबन्धक अशोक अधिकारीले बताए । ६ प्यानलको सोलार जडान भएको र यसबाट एक दिनमा दुई लाख लिटरसम्म पानी तान्न सक्ने उनले जानकारी दिए ।

विद्युत्को भोल्टेज कम हुने र विद्युत् नै नहुने ठाउँमा कृषि प्रयोजनका लागि सोलार बढी प्रयोग भइरहेको उनले बताए । घाँसखेती, केराखेती, माछापालन, पशुपालन, तरकारी खेतीजस्ता व्यावसायिक कृषि गर्नेले नै बढी सोलार सिँचाइको प्रयोग गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?