१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इन्जिनियर फिर्ता, सब–इन्जिनियरलाई अवकाश

नेपालगन्ज — राप्ती सोनारी गाउँपालिकाले दुई इन्जिनियरलाई काज फिर्ता र चार सब–इन्जिनियरलाई अवकाश दिएको छ ।

इन्जिनियर फिर्ता, सब–इन्जिनियरलाई अवकाश

सर्वसाधारणको गुनासोपछि प्राविधिक फिर्ता पठाइएको हो । प्राविधिक फिर्ता भएपछि गाउँपालिकाका काम प्रभावित भएका छन् । इन्जिनियरद्वय शरद अधिकारी र दीपकध्वज शाहीलाई गाउँपालिकाले समन्वय समितिमा हाजिर हुने गरी काज फिर्ता गरेको हो ।

सब–इन्जिनियर हरि काफ्ले, भूपेन्द्र वली, होमसूर्य केसी र सन्तोष विशेष बुढालाई अवकाश दिइएको हो । उनीहरूलाई एक वर्षका लागि करारमा नियुक्ति गरिएको थियो ।एकैसाथ दुई इन्जिनियरको काज फिर्ता र चार सब–इन्जिनियरलाई अवकाश दिइएपछि गाउँपालिकामाथि प्रश्न उठेको छ ।

अवकाश पाएका सब–इन्जिनियरले जनप्रतिनिधिले आफू निकटलाई राख्न झूटा आरोप लगाएको बताए । इन्जिनियर दीपकध्वज शाहीले गाउँपालिकाका अध्यक्षले बिनाकारण जिल्ला समन्वय समितिमा काज फिर्ता गरेको बताए ।

उनले काज फिर्ताबारे कुरै बुझ्न नसकेको जनाए । ‘एकाएक काज फिर्ता भएको पत्र हामीलाई थमाइयो । सब–इन्जिनियरलाई बिदाइ गरियो,’ उनले भने, ‘जनप्रतिनिधिहरूको नियत ठीक देखिएन । आफ्ना निकटकालाई राख्ने चाल मात्र हो ।’ उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकामा साना–ठूला गरी सात सय योजना थिए । करिब १५ जना प्राविधिकले गर्ने काम ६ जनाले गरेका थिए ।

राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम चौधरीले सर्वसाधारण र वडाध्यक्षको व्यापक गुनासोपछि दुई इन्जिनियरलाई काज फिर्ता पठाएको बताए । त्यस्तै सब–इन्जिनियरले पनि सन्तोषजनक काम नगरेका कारण अवकाश दिइएको उनको दाबी छ । ‘कामको मूल्यांकन हामीले भन्दा पनि जनताले गर्ने हुन् । जनताले उहाँहरूको काम मन पराउनुभएन ।

वडाध्यक्षहरू पनि सन्तोष हुनु भएन,’ उनले भने, ‘चित्त नबुझ्ने काम गरेका कारण काज फिर्ता गरिएको हो ।’ उनले विकासका काम प्रभावित हुन नदिन छिट्टै प्राविधिक भर्ना गरिने बताए । राप्ती सोनारी बाँकेको सबैभन्दा धेरै स्रोत भएको गाउँपालिका हो ।

दुई दर्जनभन्दा बढी सामुदायिक वन, राप्ती नदी, मुगुवा, झिझरी, परुवालगायत खोला छन् । वार्षिक करिब १५ करोड रुपैयाँको नदीजन्य पदार्थको ठेक्का हुन्छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?