कुहिएका खाद्यवस्तु सदरमुकाममै बिक्री

पाल्पा — तानसेन सदरमुकामका पसलमै कुहिएका खाद्यवस्तु बिक्री हुने गरेको छ । दुई वर्षपछि भएको बजार अनुगमनका क्रममा यस्ता सामग्री भेटिएका हुन् ।

कुहिएका खाद्यवस्तु सदरमुकाममै बिक्री

जिल्ला प्रशासनको अगुवाइमा भएको अनुगमनमा होटलहरूमा बासी, सडेगलेका खाना बिक्री गरेको भेटिएको छ ।

गन्हाउने खानासमेत तीन/चार दिनसम्म फ्रिजमा राखेर बिक्री गरेको भेटिएको एक अनुगमनकर्ता तानसेन नगरपालिकाका अधिकृत भरत आचार्यले बताए । ‘बजारमै कुहिएका र सडेगलेका सामग्री बिक्री गरेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई सचेत गराएर छाडिएको छ ।’

तानसेनका होटल, रेस्टुराँमा गन्हाएको मासु र एक साताअघि बनाएको म:मसमेत बिक्री गरेको अनुगमनमा भेटिएको छ । फ्रिजै गन्हाउने गरी सामग्री राखेको उनले बताए । गुणस्तरहीन सामग्री होटल र रेस्टुराँमा बिक्री हुँदै आए पनि अनुगमन भएको थिएन ।

पाल्पाका स्थानीय र सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाललाई दुई वर्षदेखि बजारमा अनुगमन नभएको गुनासो गरेका थिए । त्यसपछि तानसेन नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलाई निर्देशन दिएर अनुगमन सुरु गरिएको थियो ।

गतवर्षदेखि तानसेन नगरपालिकाको जिम्मामा अनुगमन सरेको थियो । उसले लाखौं खर्च गरेर एउटा गैरसरकारी संस्थालाई सुर्ती अनुगमन गर्न लगायो । तर, बजारमा खाद्य वस्तुको अनुगमनमा भने ध्यानै दिएन ।

नियमित बजार अनुगमन नहुँदा बजार भाउ एक्कासि वृद्धि भएको थियो । उपभोग्य मिति सकिएका सरसामान पनि बिक्री हुँदै आएका थिए । पाल्पामा अवैध रूपमा सञ्चालित पसलहरू पनि त्यत्तिकै छन् । सञ्चालन भएको जनगुनासो बढेको छ । त्यसपछि मात्र सरोकार निकायले तानसेन बजारको अनुगमन गरेका हुन् ।

प्रशासन, तानसेन नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ, व्यापार संघ, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय बजार अनुगमनमा सहभागी थिए । पसलहरू दर्ता नै नभई सञ्चालन भएको, मूल्य सूची नराखी मनपरी दररेटमा सरसामान बिक्री हुँदै आएको भेटिएको छ ।

ढक–तराजु ठीक नभएको, दर्ता भएका पसल पनि लामो समयसम्म नवीकरण नभएको पाइएको अनुगमनमा सहभागीले बताए । नियमित कर नबुझाएको, सडकपेटीमा सरसमान राखी व्यापार गरेको अनुगमन टोलीले भेटेको छ । अनुगमनमा पसलहरूमा सजाएर राखिने चिजबल, कुरकुरे, लेज, इम्लीजस्ता जंकफुड, अमिलो पदार्थलगायत सरसामानको उपभोग्य मिति एक वर्षअगाडि नै सकिएको पाइएको छ ।

टोलीले तानसेनको भीमसेनटोल, नारायणस्थान, मेहलधारा, असनटोल, शीतलपाटी, मखनटोल, सिल्खानटोल र विशालबजारका खाद्यान्न पसल, होटल रेस्टुराँ, डिपार्टमेन्टल स्टोरमा अनुगमन गरेको थियो । टोलीले नियमित र आकस्मिक रूपमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रत्येक पसल तथा व्यापारीलाई उपभोक्ताले उत्पादन मिति र उपभोग्य मिति हेरेर सरसामान खरिद बिक्री गर्नुहोला भन्ने सन्देशमूलक स्टिकर राख्न आग्रह गरेको छ । व्यापारिक पसल सञ्चालन गर्दा अनिवार्य रूपमा दर्ता र नवीकरण गरेर मात्र सञ्चालन गर्न ध्यानाकर्षण गराउनुपर्ने नगरपालिकालाई सुझाव दिएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष कृष्णराज अधिकारीले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?