बोक्सी आरोपमा सासूको हत्या

दुर्गालाल केसी

दाङ — बोक्सी आरोपमा सासूको हत्या गरेको अभियोगमा प्रहरीले दाङमा एक महिलालाई पक्राउ गरेको छ ।

सासूको हत्या अभियोगमा पक्राउ परेकी दाङको दंगिशरण गाउँपालिका ३ की ४० वर्षीया टंकी रावत । तस्बिर: दुर्गालाल केसी/ कान्तिपुर

६९ वर्षीया सासू खोपी रावतलाई दाङबाट सल्यान लगेर हत्या गरेको अभियोगमा दंगिशरण गाउँपालिका ३ की ४० वर्षीया बुहारी टंकी रावतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Yamaha

बुहारी लामो समयदेखि बिरामी हुँदै आएको र धामी झाँक्रीलाई देखाउँदा सासू नै बोक्सी भएको भनेपछि हत्या गरेको खुल्न आएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

भदौ २ गते सल्यानमा झारफुक गर्न भनी सासू बुहारी गएको र फर्कने क्रममा ५ गते कपुरकोट गाउँपालिका २ भकमस्थित जंगलमा लाठी प्रहार गरी सासूको हत्या गरेको खुल्न आएको छ ।

सासू जिवित हुँदासम्म आफू सन्चो नहुने निष्कर्षसाथ हत्याको योजना बनाएको टंकीले स्वीकार गरेको डीएसपी सापकोटाले बताए ।

लामो समयदेखि सासूबुहारी सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अनुरोध गरी प्रहरीमा निवेदन दिएका थिए ।

सल्यान गएको भोलिपल्टदेखि मोबाइल स्विचअफ गरी दुवैजना सम्पर्क विच्छेद भएका थिए । खोजतलासका क्रममा शुक्रबार सल्यानको कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वन अन्तर्गत भकमको भिरमा खोपीको शव भेटिएको थियो ।

घटनाको थप अनुसन्धान गरी खोजतलास गर्दै जाँदा टंकी कपिलवस्तुको कृष्णनगरमा लुकिछिपि बसेको अवस्थामा शनिबार प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको विशेष टोलीले पक्राउ गरी दाङ ल्याएको डिएस्पी सापकोटाले बताए ।

शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी टंकीलाई सार्वजनिक गरिएको थियो । उनलाई सल्यान प्रहरीको जिम्मा लगाई थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सोलारबाट सिँचाइ

दुर्गालाल केसी

दाङ — विद्युत्‌काे नियमित आपूर्ति र भरपर्दो भोल्टेज नभएपछि यहाँका किसानले सोलारबाट सिँचाइको व्यवस्था गरेका छन् ।

दाङको घोराही ४ गोग्लीका किसान सोलारबाट सिँचाइ गर्न पाइप जडान गर्दै माथि र सोलारबाट पानी तानेर सिँचाइ गरिँदै । तस्बिर : दुर्गालाल

घोराही उपमहानगरपालिका ४ गोग्लीका किसानले सोलारबाट खोलाको पानी लिफ्ट गरी सिँचाइ गर्न थालेका हुन् ।

पाँच बिघा जमिन भाडामा लिएर घाँस खेती, पशुपालन, तरकारी र माछापालन गर्ने तयारी थालेको किसान मिणराम चौधरीले बताए । प्रतिकट्ठा वार्षिक १ हजार ५ सय रुपैयाँमा जग्गा भाडामा लिएको उनले बताए ।

किसानहरू मिलेर व्यावसायिक खेती गर्ने योजना बनाएको उनले बताए । ‘घरायसी खेतीपाती र पशुपालनले कृषिमा केही विकास हुन सकेन । अब व्यावसायिक रूपमै कृषि पेसा गर्न थालेका छौं,’ उनले भने, ‘बाँझो रहेको जग्गालाई सिँचाइ गरी उत्पादन गर्ने तयारी थालेका छौं ।’

खोलामा त्यत्तिकै बगेर खेर गइरहेको पानीलाई सदुपयोग गरी खेतीपातीमा लगाएको किसान रूपन्या चौधरीले बताइन् । ‘खोला तल बगिरहेको थियो । जग्गा माथि । पानी माथि उकाल्न केही उपाय भएन,’ उनले भनिन्, ‘मोटर चलाएर मात्र माथि तान्न सकिन्थ्यो तर विद्युत्ले साथ दिएन । ठूलो क्षमताको सोलार जोडेपछि अब ढुक्क भएको छ ।’

सोलारबाट पानी तानेर सिँचाइ गरिँदै ।तस्बिर : दुर्गालाल

३ लाख ७६ हजार रुपैयाँको लगानीमा सोलार प्रणाली जडान गरेको स्थानीय गिरिराज भण्डारीले बताए । विद्युत् खर्च बचत हुने र जतिबेला पनि पानी तान्न सकिने भएकाले सोलार सिँचाइमा लगानी गरेको उनले बताए । ‘लोडसेडिङ हुने भएकाले भनेको बेला पानी तान्न सकिँदैन । विद्युत् हुँदा पनि भोल्टेज पुग्दैन,’ उनले भने, ‘विद्युत्को खर्च पनि धेरै हुन्छ । सोलार जडान गर्दा सुरुमै खर्च लाग्ने हो तर विद्युत्को शुल्क बचत हुन्छ । चाहिएका बेला सिँचाइ पनि गर्न सकिन्छ ।’

सोलारको पावरले खोलाबाट ६० मिटर माथि पानी फाल्न सकिने घामपावर नेपाल प्रालिका क्षेत्रीय प्रबन्धक अशोक अधिकारीले बताए । ६ प्यानलको सोलार जडान भएको र यसबाट एक दिनमा दुई लाख लिटरसम्म पानी तान्न सक्ने उनले जानकारी दिए ।

विद्युत्को भोल्टेज कम हुने र विद्युत् नै नहुने ठाउँमा कृषि प्रयोजनका लागि सोलार बढी प्रयोग भइरहेको उनले बताए । घाँसखेती, केराखेती, माछापालन, पशुपालन, तरकारी खेतीजस्ता व्यावसायिक कृषि गर्नेले नै बढी सोलार सिँचाइको प्रयोग गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT