प्रसाद ग्रहण गर्ने समूहबीच झडप

वीरेन्द्र केसी

अर्घाखाँची — पर्यटकीय स्थल नरपानीमा प्रसाद ग्रहण गर्न आएका दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् । पिकनिक स्पोट्समा कपिलवस्तुको चार नम्बरबाट आएको र सन्धिखर्कबाट गएको समूहबीच सामान्य भनाभनले उग्ररुप लिएपछि दुई घण्टासम्म झडप भएको प्रहरीले जनाएको छ ।

दुई जना सामान्य घाइते भएका छन् । अरु दुई जना शेरसिंह खनाल र महेन्द्र बञ्जाडे सन्धिखर्क अस्पतालमा भर्ना भएका छन् । घाइते सन्धिखर्क पक्षका हुन् ।

Yamaha


धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा बोका चढाएपछि नरपानी ल्याएर प्रसाद ग्रहण गरिन्छ । दैनिक यहाँ तीर्थालुको भीड हुन्छ । प्रहरीका अनुसार मदिराले मत्तिएका दुवै पक्षबीच पानीकै विषयमा दिउँसो सामान्य भनाभन भएको थियो । त्यसपछि झडप भएको हो । दुई घण्टापछि प्रहरीले भीड नियन्त्रण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र प्रहरी नायव उपरीक्षक नवराज मल्लसहितको सुरक्षाकर्मीले भीड नियन्त्रण गरेको हो । स्पोर्टसमा नजिकै दुवै समूहले प्रसाद ग्रहण गरिरहेका थिए, मदिराले मत्तिएपछि एकले अर्कोको भान्सामा पानी फालाफाल भएपछि भडप भएको मल्लले बताए ।

झडपमा संलग्न रहेका चार नम्बरबाट आएका १४ जनालाई नियन्त्रणमा लिएको उनले बताए । दुवै पक्षबीच छलफल गरेर विवाद मिलाइने मल्लले बताए ।

प्रकाशित : भाद्र १६, २०७५ १८:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

वीरेन्द्र केसी

अर्घाखाँची — स्कुलमा कापी, किताब र कलम समातेर पढ्ने बेला छत्रदेव गाउँपालिकाका विद्यार्थी भने हातमा लौरो, गुलेली र ढुंगा लिएर बाँदर लखेट्न बाध्य छन् ।

बारीमा मकै पाक्न आँटेका छन् । तर, बाँदरबाट घोगा जोगाउनै मुस्किल छ । छत्रदेवका सबै वडामा बाँदरको बिगबिगीले स्थानीय हैरान छन् । तल्लोदेखि माथिल्लो कक्षा पढ्ने विद्यार्थी मकै जोगाउन बारीमा चौकीदारी गर्दा नियमित स्कुल जान पाएका छैनन् ।


बल्कोटका नरेश खनाल कक्षा १० मा पढ्छन् । मकैले घोगा हाल्न थालेदेखि उनी नियमित स्कुल जान पाएका छैनन् । अरू बेला कक्षामा दैनिक हाजिर हुन्थे । अहिले भने सातामा एक/दुई दिन मात्र मुस्किलले स्कुल पुग्छन् । ‘बाँदरको ठूलो बगाल आएर बसेको छ,’ उनले भने, ‘बारी छेउमा चौकीदारी नगर्ने हो भने एकैछिनमा बारीका मकै सखाप पारिदिन्छन् ।’ उनका बाबुआमा र दाइ पनि दिनभरि बारीमै लौरो लिएर बस्छन् । मान्छे देखेपछि बाँदर झट्ट बारीमा पस्दैन । ‘मकै त जोगाउनै पर्‍यो,’ उनले भने, ‘अहिले जोगाइएन भने पछि भोकै स्कुल गएर पढ्न सकिँदैन । मकै पाकेपछि बल्ल स्कुल जान्छु ।’


हातमा गुलेली र बलियो लाठी लिएर बारी छेउमा बस्ने उनले बताए । ‘बाँदर आए भने थाल बजाउँछु, होहल्ला गर्छु अनि बाँदर भाग्छन्, उनले भने, ‘पढेर कक्षामा फस्ट, सेकेन्ड हुने धोको थियो, स्कुल जानै नपाउँदा मन निराश भएको छ ।’ चुनाव र अरू बेला नेता आएर ठूल्ठूला भाषण गर्ने, बाँदरको दु:ख हटाइदिन्छौं भन्ने तर चुनाव जितेपछि चासो नै नदिने गरेको स्थानीयले बताए । बिहान घरमा आमाले भात पकाउनुहुन्छ, त्यसपछि बारीमा आमा आएपछि दाजुभाइ खान जाने उनले बताए । ‘मकै जोगाउँदा मेरो पढाइ चौपट भयो । बेलुका किताब त हेर्छु तर स्कुलमा गुरुले पढाएजस्तो बुझिँदैन,’ उनले भने, ‘पढ्न नपाउँदा मन आत्तिन्छ । पढ्ने मन भएर के गर्नु, बाँदरबाट मकै जोगाइएन भने भोकै बस्नुपर्छ ।’


केरुंगाकी अनिता भुसालले १५ दिनयता स्कुल टेकेकी छैनन् । बिहान घरमा खाना पकाउँछिन् । ‘बाँदरको चौकीदारी गर्ने बाबुआमा घरमा खान आएपछि म बारीमा जान्छु,’ उनले भनिन्, ‘बाँदरलाई मकैबारीमा आउन रोक्न गुलेलीमा ढुंगा राखेर हान्दा बल्ल भाग्छन् ।’ पढाइको चिन्ता त उनलाई पनि छ । तर, के गर्नु † मकै नजोगाई भएन ।


छत्रदेव गाउँपालिकामा नौ वडा छन् । सिंगो गाउँपालिकाका कृषक बाँदरले मकै खाइदिएर आजित छन् । बल्कोटस्थित जनशक्ति आधारभूत विद्यालयका प्रअ टोपलाल पाण्डेले एक सय विद्यार्थी संख्यामा ३० जनाजति नियमित स्कुल नआउने बताए । ‘एक्लै स्कुल आउँदा–जाँदा बाटोमा बाँदरले छेक्ने गरेपछि अभिभावक नै सँगै छोड्न र लिन आउँछन्,’ उनले भने, ‘बाँदरले त आतंकै मच्चायो ।’ मकै जोगाउन विद्यार्थीले चौकीदारी गर्ने, खाना पकाउने र लैजाने गर्छन् । ‘म पनि बिहान–बेलुका बारीमै चौकीदारी गर्छु,’ उनले भने, ‘दिनभर श्रीमतीले हेर्छिन्, स्कुल पनि आउनै पर्‍यो, मकै पनि जोगाउनुपर्छ । ४ बजेपछि लौरो लिएर म सीधै बारीमै छिर्छु ।’


बाँदरका कारण विद्यार्थी अनियमित हुने गरेको महेन्द्र विद्याबोध उमाविका प्राचार्य डिल्ली भुसालले बताए । ‘१० प्रतिशत विद्यार्थी कक्षाकोठामा अनियमित छन्,’ उनले भने, ‘१२ देखि १८ वर्ष उमेरका विद्यार्थी दैनिक स्कुल आउन पाउँदैनन् । चौकीदारी गर्नेलाई खाना पकाएर लैजाने र पालो दिने काम गर्न उनीहरू बाध्य छन् ।’


केरुंगाका विष्णु खनालले १० कक्षामा पढ्ने छोरालाई सातामा एक दिन मात्र स्कुल पठाउने बताए । मकै नजोगाए परिवार कसरी पाल्ने ? कडा चौकीदारी नगर्दा छिनभरमै बाँदरले मकैका घोगा च्यातचुत, भाँच्दिने र नोक्सान गर्ने उनले बताए ।


‘चुनावका बेला हामीलाई भोट दिनूस्, बाँदर नियन्त्रण गर्छौं भनेर भाषण गर्‍यौं, सकिँदो रहेनछ, जनता आएर गुनासो गर्छन् के गर्ने हामी पनि निरीह छौं,’ छत्रदेव ३ का वडाध्यक्ष तेजप्रसाद खनालले बताए । बाँदरकै कारण बर्सेनि दुई/चार घरपरिवार बसाइँ सर्छन् । बारीमा लगाएको खुर्सानी र कागतीबाहेक सबै चीज बाँदरले खाइदिन्छन् । गाउँमा बाँदरको बिगबिगी रहेको उनले बताए । ‘बन्दुक नपड्काइकन उपाय छैन, प्रमुख जिल्ला अधिकारीलाई बन्दुक माग्दा शान्ति सुरक्षा देखाउँदै दिन नमिल्ने बताएपछि हामीसँग अरू उपाय केही भएन,’ उनले भने, ‘अब त बारी बाँझो राख्नुको विकल्प नै छैन ।’ बाँदरले हिउँदे र वर्षे अन्नबाली, सागपात सबै नोक्सान पार्छन् । घरभित्र पसेर लत्तापकडा, अन्नपात र सरसामान लथालिंग पार्ने गरेको खनालले बताए ।


अघिल्लो वर्ष छत्रदेव गाउँपालिकाले प्रत्येक वडालाई एक–एक लाख रुपैयाँ बजेट छुट्याएर हेरालु राख्ने व्यवस्था मिलाएको थियो । गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले केही दिनमै उपाय खोजिने बताए । ‘बाँदरको दीर्घकालीन नियन्त्रण नसोची उपाय नै छैन,’ उनले भने, ‘त्यसका लागि विशेषज्ञ झिकाएर उपाय निकाल्ने प्रयास गर्दै छौं ।’

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT