कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जिल्ला भित्रिनै सकस

हरि गौतम

रुकुम पूर्व — निरन्तर वर्षाले जिल्ला भित्रिन र बाहिरिन समस्या भइरहेको छ । वर्षाले मध्यपहाडी लोकमार्गअन्तर्गत मुसीकोट नगरपालिकाको बैरीदहदेखि सिस्ने गाउँपालिकाको रुकुमकोट खण्डका विभिन्न ठाउँमा झरेको पहिरोले यात्रु समस्यामा पर्ने गरेका छन् ।

जिल्ला भित्रिनै सकस

सिस्ने गाउँपालिकाको खोपीचार र पाखागाउँमा ठूला पहिरा झरेका छन् भने अन्य धेरै ठाउँमा खाल्डाखुल्डी परेका कारण सवारी गुड्न सक्ने अवस्था छैन । जिल्लाबाहिर रुकुम पश्चिमलगायत दाङ, नेपालगन्ज, बुटवल, काठमाडौं जाने तथा आउने यात्रुले जोखिमका साथ यात्रा गरिरहेका छन् ।

अन्दाजी २०/२१ किलोमिटर यस सडक खण्डमा तीनवटा गाडी फेरेर यात्रा गर्ने गरेका छन् । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट पाखागाउँसम्म एउटा, पाखागाउँको पहिरोपछि खोपीचारसम्म अर्को र खोपीचारको पहिरोपछि अर्को गाडी नचढी यात्रा सकिँदैन ।

गाडीबाट झरेर जोखिमका साथ सर्वसाधारण आवतजावत गर्न बाध्य भएको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले बताए । ‘जोखिम नमोली उपाय नै छैन । पहिरो खसिरहेकै ठाउँमा हिँड्दै यात्रा गर्नु जिल्लावासीको बाध्यता बनेको छ,’ प्रमुख ओलीले भने । उनका अनुसार उक्त सडक खण्डको पहिरो झरेको ठाउँको पूरै सडक बगेको छ ।

वर्षा सुरु भएयता उक्त खण्डमा दैनिकजसो पहिरो झरिरहेको छ । पहिरोका कारण सर्वसाधारणको यात्रा कठिन भएको छ । ‘यो खण्डको यात्रा धेरै जोखिममा पनि छ,’ स्थानीय राजेश थापाले भने, ‘झरेको पहिरो भर्खरै सफा गर्न नपाउँदै अर्को ठाउँमा पहिलो झरिहाल्छ ।’ जिल्ला भित्रिने तीनवटै सडक अवरुद्ध हुँदा थप हैरानी बेहोर्नुपरिरहेको छ ।

जिल्ला जोड्ने अर्को सोलाबाङ–बालुवा सडक खण्ड पनि अवरुद्ध नै छ । वर्षाको कारण सिस्ने गाउँपालिका ७ कौछेमा पहिरो झरेकाले उक्त सडक असार महिनायता सञ्चालनमा आउन सकेको छैन । कौछेमा बर्सेनि झर्ने पहिरो यस वर्ष झन् ठूलो भएर झरेको छ । बागलुङ–पोखरा हुँदै नारायणगढ पुग्ने मध्यपहाडी लोकमार्ग पनि वर्षाकै कारण अवरुद्ध छ । सिस्ने गाउँपालिका र भूमे गाउँपालिका नजिकै झरेको पहिरो, रुकुमगाड तथा रुकुमपूर्व र बागलुङ सिमाना आसपासमा वर्षाका कारण सडक अवरुद्ध छ ।

‘अन्य दुईभन्दा अलि राम्रो भनेकै सडकको हालत यस्तो छ,’ यात्रु गोकर्ण खड्काले भने, ‘महत्त्वपूर्ण कामका लागि यही सडक भएर आवतजावत गर्ने ज्येष्ठ नागरिक, महिला तथा बालबालिका र सामानसहितका यात्रुहरू थप समस्यामा छन् ।’ सडकमा झरेको पहिरोका कारण मालवाहक सवारी पनि ठाउँठाउँमा थन्किएका छन् । मध्यपहाडी लोकमार्गको उक्त सडक खण्ड स्तरोन्नतिको चरणमा छ । कालिका कन्स्ट्रक्सनले त्यसको ठेक्का पाएको छ ।

सडकमा पहिरो खसेपछि त्यसलाई हटाउने जिम्मा पनि ठेकेदार कम्पनीकै हो । तर, पहिरो झरिरहने भएकाले पहिरो हटाए पनि नहटाएको जस्तै भएको कम्पनीको भनाइ छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सानातिना पहिरा हटाएर यात्रु पास गराउँदै गरिएको बताइन् । ‘ठूला पहिरा हटाउन समस्या भएकै छ, त्यसका लागि पनि पहल जारी छ । सानातिना त दैनिकजसो हटाउने गरिएको छ,’ अध्यक्ष बरालले भनिन् ।

प्रकाशित : भाद्र १७, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?