कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टोलटोलमा प्रहरी’ ले राहत

माधव अर्याल

हरियाली गाउँ (पाल्पा) — तिनाउ गाउँपालिका २ हरियाली गाउँमा बस्ती बसेको ४४ वर्ष भयो । जंगलको बीचमा ९० घरपरिवारको बसोबास छ । तर, स्थानीयले यसअघि गाउँमा प्रहरी आएको भेटेका थिएनन् ।

‘टोलटोलमा प्रहरी’ ले राहत

‘यसअघि कहिल्यै पनि प्रहरी टोलबस्तीमा आएको थिएन,’ स्थानीय छविलाल खत्रीले भने, ‘अहिले भने एक महिनामा तीनपटक गाउँमा प्रहरी आएको पाउँदा खुसी लागेको छ ।’

सिद्धार्थ राजमार्गको दोभान प्रहरी चौकीमा तीन साताअघि मात्र प्रहरी नायब निरीक्षक एकबहादुर नेपाली इन्चार्ज भएर आएका थिए । त्यसपछि हरियाली गाउँमा प्रहरी पुगेका हुन् । गाउँपालिकासँगको समन्वयमा प्रनानि नेपालीले गाउँमा प्रहरीको सक्रियता बढाएका हुन् । अहिले ‘टोलटोलमा प्रहरी’ अभियान चलेको छ ।

त्यसअन्तर्गत लागूऔषध दुव्र्यसन, प्रहरीको काम, कर्तव्य, अधिकारलगायत विषयमा टोलमा जानकारी दिन सुरु गरिएको छ । जनताले प्रहरी आफ्नै लागि हो भन्ने बुझेको प्रनानि नेपालीले बताए । स्थानीय लक्ष्मण बोहराका अनुसार बस्ती बसेपछि यहाँ प्रहरी पुगेकै थिएन । ‘सामान्य झैझगडा यहीँ मिलाइन्थ्यो,’ उनले भने, ‘ठूलै उजुरी भए प्रहरीले गाउँलेलाई चौकीमै बोलाउँथे ।’

यसअघि कहिल्यै नआउने प्रहरी अहिले लगातार आउँदा त्यसै पनि खुसी लागेको उनले बताए । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गाउँमा पुग्दा प्रहरी पनि सँगै थिए । त्यसरी प्रहरी गाउँमा पुग्दा स्थानीयमा खुसी छाएको प्रनानि नेपालीले बताए ।

‘गाउँ घोषणा र स्वास्थ्य शिविर कार्यक्रममा म आफैं उपस्थित भएँ,’ उनले भने, ‘सबै टोलमा प्रहरी पुग्ने अभियान चलेको छ ।’ तिनाउको कार्यक्षेत्रभर यसरी नै सबै गाउँ, बस्ती र टोलमा प्रहरी पुगेको उनले बताए ।

कतिपय गाउँ, टोलमा जान जिप, मोटरसाइकल चल्दैन । हरियाली गाउँ पुग्न पनि समस्यै छ । तीन महिनादेखि सवारी साधन पुग्न सकेका छैनन् । सात किलोमिटर टाढाको खुर्सानेसम्म मोटरसाइकल चल्छ । त्यसपछि पुन: तीन घण्टा पैदल हिँडेर हरियाली गाउँ पुगिन्छ । ‘टाढा र उकालो–ओरालो भएकाले पुगेर फर्किंदा लखतरान भइन्छ,’ उनले भने, ‘टोल, बस्तीमा पुगेपछि केही राहतको महसुस गरेको अनुभव भएको छ ।’ ‘बेलुकी खोरमा भएको बोका बिहान थिएन भन्ने उजुरी आयो,’ प्रनानि नेपालीले भने, ‘पुरुष नभएको घरमा राति मदिरा सेवन गरी ढोका हान्न आएको पनि उजुरी पर्‍यो ।’ यसपछि हरियाली गाउँमा दुई पटक प्रहरी पुगेको उनले बताए ।

पछिल्लोपटक गाउँमा आयोजित जनचेतनामूलक कार्यक्रममा प्रहरी पुगेको थियो । ‘१५ दिनमै जनताले सुरक्षाको अनुभूति गरेका छन्,’ उनले भने, ‘यहाँ कहिल्यै प्रहरी नपुगेको गुनासो आएपछि अहिले पटकपटक पुग्न थालेका हौं ।’

हरियाली गाउँमा मदिरा सेवन गरेर लडाइँ, झै–झगडा गर्ने, कुटाकुट हुने गथ्र्याे । तर, त्यसको उजुरी प्रहरीसमक्ष पुग्दैनथ्यो । त्यसैले कतिपयले यस गाउँलाई ‘दारु गाउँ’ पनि भन्थे । अहिले भने त्यस्तो हुन छाडेको छ । ‘मेरा घरमा पुरुष छैनन् भनेर खै कसले हो राति ढोका हान्न आयो,’ स्थानीय पीडित दुर्गा खड्काले भनिन्, ‘अहिले प्रहरी आएपछि राहतको श्वास फेरेकी छु ।’

स्थानीयले अहिले प्रहरीमा उजुरी गर्न सिकेका छन् । प्रहरीले पनि टोलटोलमा प्रहरी कार्यक्रम लगेपछि झन् राहत पुगेको स्थानीय मधु जैसीले बताइन् । ‘प्रहरीसमक्ष उजुरी गर्न जाँदा झमेला आइपर्छ भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले प्रहरी आएर त्यस विषयमा जानकारी दिएपछि अब चौकीसम्म जान थालेका छौं ।’ अहिले प्रहरी गाउँमा पुग्न थालेपछि जाँड, रक्सी खाने, होहल्ला गर्नेमा कमी आएको छ ।

घरका गाईबस्तु, बाख्रा, थाल, गाग्री चोरिन कम भएको स्थानीयले बताए । ‘हामीले तीजका बेलामा पनि प्रहरीलाई आइदिन अनुरोध गरेका छौं,’ स्थानीय खगेन्द्र केसीले भने, ‘चाडपर्वमा बढी होहल्ला गर्ने, मदिरा सेवन गर्ने र झै–झगडा हुन्छ ।’

वडाअध्यक्ष राजेश श्रेष्ठले गाउँमा प्रहरी जाँदा स्थानीयले सुरक्षाको अनुभूति गरेको बताए । ‘जनताले आफू सुरक्षित भएको महसुस गरेका छन्,’ उनले भने, ‘टोलटोलमा प्रहरी कार्यक्रमले जनता लाभान्वित भएका छन् ।’ गाउँपालिका र वडा कार्यालयले पनि प्रहरीलाई टोल–टोलमा पुग्न सहयोग गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?