कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पर्यटकीय पूर्वाधार बनाउन अध्ययन

सडक सुधार र दरबार पुनर्निर्माणलगायत पूर्वाधारका लागि बजेट विनियोजन
गिरुप्रसाद भण्डारी

प्यूठान — ऐतिहासिक स्थल भित्रीकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधारको गुरुयोजना बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा आइतबारबाट प्राविधिक टोलीले अध्ययन सुरु गरेको हो ।

पर्यटकीय पूर्वाधार बनाउन अध्ययन

भित्रीकोट क्षेत्रमा रहेका १७ ऐतिहासिक केन्द्रलाई पूर्वाधार विकास गर्न लागिएको छ । भित्रीकोट आउने पर्यटकलाई घुम्न र एक दिन बस्न अभिप्रेरित गर्ने उद्देश्यले नगरपालिकाले पूर्वाधार विकासको योजना बनाएको जनाएको छ ।

ऐतिहासिक भित्रीकोट किल्ला, रक्तीपोखरी, खुलखुलेडाँडा, वृत्तिस्थान, ढुंगेपाइला, रानीगुफालगायत गन्तव्यलाई मुख्य केन्द्रमा राखेर अध्ययन सुरु गरिएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

नगरपालिकाभित्रका पर्यटकीय स्थानमध्ये भित्रीकोट मुख्य पर्यटकीय गन्तव्य रहेकाले पहिलो प्राथकिकतामा राखेर विकास गर्न थालिएको उनले बताए । सडक सुधार, दरबार पुनर्निर्माणलगायत पूर्वाधारका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रका गुरुङ संस्कृति, ऐतिहासिक डल्ले सराय नाच, रक्तीपोखरी, ढुंगेपाइला, भित्रीकोट दरबारलगायत यहाँका मन्दिरको संरक्षण गरी पूर्वाधार निर्माण गरिने भएको छ । ‘नगरसभाले भित्रीकोट दरबार क्षेत्रलाई नगरको मुख्य पर्यटकीय स्थलका रूपमा लिएर बजेट व्यवस्था गरेको छ,’ कक्षपतिले भने, ‘अब यहाँ आउने पर्यटकलाई केही दिन यतै रमाउने वातावरण बनाउनेछौं ।’

भित्रीकोटबाट प्यूठान उपत्यका हेर्न सकिन्छ । एक वर्षअघि जिल्ला वन कार्यालयको सहयोगमा पार्क, भ्यु टावर, गौल चौपारीलगायत पूर्वाधार निर्माण गरिएको छ । ‘भित्रीकोट घुम्न आउने पर्यटक केही समय घुमेर फर्कने गर्दा यहाँका स्थानीयले कुनै फाइदा लिन नसकेको प्यूठान नगरपालिकाका ४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।

‘बास बस्ने गरी पर्यटकलाई भुलाउने पूवार्धार बनाउनुपर्छ,’ उनले भने, ‘आएका पर्यटकलाई एक दिन भए पनि यहाँ रोक्न सकियो भने स्थानीय स्वरोजगार हुने थिए ।’ दिनभर भित्रीकोट क्षेत्रमा घुमाउने र बेलुका गुरुङ गाउँमा बास बसाल्ने गरी होमस्टे बनाउने नगरपालिकाको योजना रहेको राजभण्डारीले बताए ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?