१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पीडा भुलाउँदै शान्ति गाउँ

द्वन्द्वको पीडा भुलाउन १० वर्षदेखि पूर्वाधार र जनजीविकालाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन
मनोज पौडेल

हल्लानगर (कपिलवस्तु) — ५९ वर्षीया कमिरा घर्ती अहिले घरकै दैलोबाट बस चढेर आउजाउ गर्न पाएपछि निकै खुसी छन् । माओवादीविरुद्धको प्रतिकार समितिको आक्रमणमा परेर श्रीमान् तेजबहादुर घर्ती १३ वर्षसम्म अपांग जीवन बाँचे ।

पीडा भुलाउँदै शान्ति गाउँ

७२ वर्षको उमेरमा चार महिनाअघि उनको मृत्यु हुँदा दु:खी भए पनि गाउँमा आएको विकासले कमिराको पीडा भुलाएको छ । ‘घरअघिको धूलौटे बाटो ग्राबेल भयो,’ उनले भनिन्, ‘टुकी बाल्न छाडेर बत्तीको उज्यालोमा बस्न पाउँदा खुसी नै छु ।’ उनीजस्तै गृहिणी उजेली बुढा खाना पकाउन अहिले वनमा काठपात खोज्न जान छाडेकी छन् ।

घरमै गोबर ग्यासबाट खाना पकाउने सुविधा पाएपछि उनी पनि प्रफुल्ल छिन् । ६ जनाको परिवारलाई ४ चौपायाको गोबरबाट निकालिएको ग्यासले उनलाई खाना पकाउन पुगेको छ ।

द्वन्द्व प्रभावित गाउँलाई नमुना शान्ति गाउँ बनाउने कार्यक्रमअन्तर्गत छनोटमा परेको शिवराज नगरपालिका २ हल्लानगरमा अहिले खुसी छाएको छ । सुकुम्बासी बस्तीको गाउँमा द्वन्द्वको पीडा भुलाउन १० वर्षदेखि पूर्वाधार र जनजीविकालाई सहयोग गर्ने कार्यक्रम सञ्चाललित छन् । द्वन्द्वले तहसनहस भई उजाड बनेको यो गाउँको अहिले स्वरूपै परिवर्तन भएको छ ।

उत्तर–दक्षिण बस्ती रहेको गाउँका हरेक घरअघि बाटो पुगेको छ । हल्लानगर अहिले जिल्लाको सुदूर पश्चिमकै विकसित र सुविधासम्पन्न शान्ति गाउँ बन्न पुगेको छ ।

०६१ फागुन ९ गते हल्लानगर गाउँ खरानी बनेको थियो । गाउँले सबै माओवादी हुन् भन्ने आरोपमा प्रतिकार समितिले यहाँका ३ सय ६ घरमा आगजनी गरेको थियो । ज्यान जोगाउन घरबाट भाग्न खोज्दा प्रेमबहादुर रास्कोटीलाई कुटी–कुटी हत्या गरिएको थियो ।

गाउँको धनसम्पत्ति, खाद्यान्न र गरगहना जलेर खरानी भएको हल्लानगर नमुना बस्ती निर्माण उपभोक्ता समितिका सचिव केशरसिंह पुनले बताए । ‘घटनापछि महिनौं दिन गाउँ खाली रह्यो,’ उनले भने, ‘जता हेरे पनि खरानी–खरानी मात्र थियो ।’

अहिले विस्तारै यस गाउँले द्वन्द्वको त्यो पीडा भुल्दै गएको छ । ‘उजाड गाउँमा नसोचेकै काम भयो,’ स्थानीय अगुवा खुमानसिंह परियारले भने, ‘यसले गाउँलेमा राम्रो प्रभाव पारेको छ । गाउँ विकासका पूर्वाधार बनेसँगै सबैले सजिलै जीविकोपार्जन गर्न पाएका छौं ।’ गाउँलेले अहिले किराना पसलदेखि तरकारी खेती गरेर चुलोचौको गर्दै छन् । कुखुरा, बंगुर र बाख्रा पालन गरेका छन् । सिँचाइका लागि ह्यान्ड पम्प र डिप बोरिङको सुविधा छ । उत्पादनलाई बजारसम्म पुर्‍याउन सुविधासम्पन्न बाटोघाटो बनेका छन् ।

घटना भएको चार वर्षपछि ०६५ मा तत्कालीन शान्ति मन्त्रालयका उच्चस्तरीय पदाधिकारी गाउँमा आएर गाउँलेसँग वार्ता गरे । त्यसयता गाउँलेले माग गरेको आवश्यकताका आधारमा मन्त्रालयले निरन्तर काम गरिरहेको यहाँका स्थानीय बताउँछन् ।

गत वर्ष यहाँका ४० घरलाई खाना पकाउने गोबर ग्यास प्लान्ट निर्माण र चुल्हो प्रदान गरियो । त्यसअघि २१ घरमा गोबर ग्यास चुल्हो निर्माण गरिएको थियो । त्यस्तै दुई डिप बोरिङ गाडिएको छ ।

अघिल्लो वर्ष यहाँ एउटा डिप बोरिङ र ५० मिटर तटबन्ध निर्माण गरिएको थियो । सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत पाँच करोड रुपैयाँभन्दा बढी हल्लानगरमा खर्च गरिसकेको छ । दुई वर्षयता स्थानीय विकास मन्त्रालयमार्फत मात्रै एक करोडभन्दा बढी खर्च भइसकेको छ ।

गाउँका ३ सय ६ घरमा अहिले पक्की शौचालय बनेका छन् । २ देखि ३ घरको बीचमा व्यवस्थित ह्यान्ड पम्प गाडिएको छ । गाउँभरि १ सय १० भन्दा बढी ह्यान्ड पम्प छन् । भेला र छलफल गर्न २५ लाख रुपैयाँको लागतमा ३ कोठे सामुदायिक भवन बनाइएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा ८ कोठे ३ तले विद्यालय भवन बनेको छ ।

गाउँको बीचबाट एक किमि लामो र १० मिटर चौडा ग्राबेल बाटो बनाइएको छ । यस बाटोले पूर्व–पश्चिम राजमार्गसँग पश्चिम क्षेत्रको दूरी घटाइदिएको छ । गाउँमा विद्युतीकरण गरिएको छ । २ सय ९५ घरले बिजुली बालेका छन् । कुलो र हिलो हुने ठाउँमा ह्युम पाइप राखिएको छ ।

गाउँमै स्कुल भएपछि स–साना बालबालिकाले पढ्न पाएका छन् । ‘पहिले दुई किमि टाढा पुग्नुपथ्र्यो,’ कक्षा ६ की छात्रा विनु परियारले भनिन्, ‘अहिले घरनजिकै स्कुल पाउँदा धेरै सजिलो भएको छ ।’ आधुनिक भवनमा बालमैत्री वातावरणमा पढ्न पाउँदा निकै खुसी लागेको कक्षा ७ का विद्यार्थी सागर सारूले बताए । उनको चाहना १० कक्षासम्मै यहीं पढ्न पाइयोस् भन्ने छ ।

हल्लानगर सुकुम्बासी बस्ती हो । ०५६ चैत १४ बाट यहाँका वन बुट्यान क्षेत्र फाँडेर विभिन्न जिल्लाबाट आएका सुकुम्बासीले बसोबास गर्न थालेका थिए । सुरुमा सय घर बसे । ०६१ फागुनसम्म यहाँको घरधुरीको संख्या ३ सय २३ पुग्यो । परिवर्तनसँगै विकासको प्रभावले सुकुम्बासी गाउँ हल्लानगर अहिले आधुनिक गाउँ बन्न पुगेको छ ।

८५ बिघा क्षेत्रफलमा फैलिएको यस गाउँमा अहिले ३ सय ६५ घरधुरी छन् । मुलुकका ४२ जिल्लाका मान्छेको बसोबास रहेको यस गाउँमा फुसका घर सबै स्तरोन्नति भएका छन् ।
गत वर्ष यस गाउँको उत्तर र दक्षिणमा तटबन्ध निर्माण गरियो । उत्तरतिर ९२ र दक्षिणतिर ६० मिटर लामो तटबन्धको निर्माण गरिएको छ । गाउँनजिकैबाट सुरई नदी बग्न थालेपछि बस्ती जोगाउन ३० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको थियो ।

तटबन्धले एक सयभन्दा बढी घर सुरक्षित भएका छन् । ‘आकाशमा कालो बादल मडारिँदा रातभर जाग्राम बस्थ्यौं,’ द्वन्द्वपीडित बमबहादुर विकले भने, ‘अब निर्धक्क भएर सुत्न सक्ने भएका छौं ।’ खोलानजिकै रहेको यस बस्तीका अभिभावक वर्षाका बेला सधैं तनावमा हुन्थे । तर, अहिले त्यो चिन्ता हटेर गएको छ । ‘विकासले गाउँमा छुट्टै परिवर्तन ल्यायो,’ उनले भने, ‘विस्तारै गाउँलेले पीडा भुल्दै सहज जीवन यापनमा गर्न थालेका छन् ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?