अनुपात नमिल्दा गुणस्तरमा समस्या

अमृता अनमोल

बुटवल — शिक्षक दरबन्दी पुन: वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार पाल्पाको बगनासकाली गाउँपालिकामा प्राथमिक तहमा एक शिक्षक बराबर १२ विद्यार्थी छन् ।

पाल्पाकै रिब्दीकोटमा एक शिक्षकको भागमा १४ विद्यार्थी पर्छन् । कपिलवस्तुको विजयनगरमा भने एक शिक्षक बराबर १ सय २६ विद्यार्थी छन् । निम्न माध्यमिक तहमा पनि पाल्पाकै बगनासकाली गाउँपालिकामा एक शिक्षकको जिम्मामा २० विद्यार्थी मात्रै छन् ।

कपिलवस्तुको विजयनगरमा भने एक शिक्षक बराबर २ सय ४९ विद्यार्थी अनुपात छ । माध्यमिक तहमा गुल्मीको रूरू गाउँपालिकामा एक शिक्षक बराबर १३ विद्यार्थी छन् । सबैभन्दा बढी रूपन्देहीको मर्चवारी गाउँपालिकामा एक शिक्षक बराबर १ सय ८७ विद्यार्थी छन् ।

Yamaha

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४०, पहाडमा ४५ र तराई तथा उपत्यकामा ५० हुनुपर्ने व्यवस्था गरेको छ । यसलाई घटाउँदै विद्यालय क्षेत्र विकास योजनाले विद्यार्थी–शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ३५ र तराई तथा उपत्यकामा ४० रहनुपर्ने अवधारणा ल्याएको छ ।

तर, प्रदेश ५ मा भने यो अवधारणाअनुसार शिक्षक व्यवस्थापन भएका छैनन् । यसले गर्दा सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर कायम गर्ने विषय चुनौतीपूर्ण बनेको सरोकारवालाको गुनासो छ ।

प्रदेश ५ जस्तै देशभरको दरबन्दी मिलानका लागि संघीय सरकारले महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको दरबन्दी पुन: वितरण सुझाव कार्यदलले ७ वटै प्रदेशमा सुझाव संकलन थालेको छ । आइतबार बुटवलमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सरोकारवालाले शैक्षिक गुणस्तरका लागि विद्यालयमा आएका विद्यार्थी संख्याका आधारमा मात्रै दरबन्दी मिलान गर्न नहुने सुझाव दिए ।

विद्यार्थी संख्या मात्रै होइन, विषय शिक्षक, प्राविधिक शिक्षक र मातृभाषा शिक्षकको पनि व्यवस्था हुने गरी विषय र कक्षा हेरेर दरबन्दी मिलान गर्न शिक्षक संघ रूपन्देहीका अध्यक्ष तथा शान्ति नमुना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले आग्रह गरे ।

कक्षा व्यवस्थापनका लागि एक कक्षामा ३० भन्दा बढी विद्यार्थी राख्नु नपर्ने वातावरण बनाउन सहभागीले सुझाव दिए । ‘कक्षा ३ सम्मका बालबालिकालाई त ३० जनाभन्दा बढी राखेर हेर्नै सकिँदैन,’ जनज्योति मावि कपिलवस्तुका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारीले भने, ‘बरु ठूलो कक्षामा धेरै विद्यार्थी राख्ने गरी सानो कक्षामा विद्यार्थी घटाउनुपर्छ ।’

उच्च माध्यमिक तहका शिक्षक, प्राविधिकतर्फका प्रशिक्षकको व्यवस्थापन र धार्मिक वैकल्पिक प्रकृतिका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि छुट्टै दरबन्दी सिर्जना गर्न उनले आग्रह गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मूर्तिकलामै परिवार

कान्तिपुर संवाददाता

बाँके — नेपालगन्ज ५ का राकेश विश्वकर्माको पेसा मूर्तिकला हो । बाबु र दाजुसँगै मूर्तिका आकृति बनाउनमा उनको दैनिकी बित्छ । कमाइ पनि राम्रो छ ।

‘बुबाले मूर्ति बनाएको देखेरै मैले पनि सिकें,’ उनले भने, ‘बुबासँग मूर्ति बनाउँदा पढाइ पनि बिर्सियो ।’ उनले ९ कक्षा मात्र पढेका छन् । बाबुले गर्ने कामलाई उनले पनि राम्रो माने । ‘सम्मान पनि हुने, मिहिनेत अनुसारको पैसा पनि आउने भएपछि यही पुख्र्यौली पेसा रोजें,’ उनले भने, ‘बाजेले फलामको काम गर्नुभयो । बुबाले मूर्ति बनाउन सुरु गर्नुभयो । अहिले हाम्रो परिवारका मूर्ति बनाउनमै रमाएको छ ।’

सामान्यत: उनले ४ देखि ३० हजारसम्मका मूर्ति बनाउने गरेका छन् । चाडपर्वअनुसार फरक–फरक मूर्तिको माग हुन्छ । मूर्तिसँगै शिलालेखको काम पनि गरिरहेका छन् । उनको परिवारले बनाएका मूर्ति बाँकेसहित जुम्ला, हुम्ला, डोल्पा जिल्लामा पनि पुग्ने गर्छन् । राजेशको मात्रै मासिक आम्दानी ७० हजार रुपैयाँभन्दा बढी छ ।

६४ वर्षीय बाबु त्रिभुवनप्रसाद विश्वकर्माले मूर्ति बनाउन थालेको २५ वर्ष भयो । सुरुको र अहिलेको व्यापारमा कुनै फरक नभएको उनले बताए । पहिलाभन्दा मूर्तिको बढदो माग रहेको उनको अनुभव छ । फलामको काम गर्ने परिवारमा हुर्किएका विश्वकर्मा आफैंले पनि सानैदेखि फलामको काम गरे । तर, केही फरक गर्ने क्रममा माटोलाई सिंगारेर मूर्ति बनाउन सुरु गरे ।

त्रिभुवनप्रसादको त्यही अभियान अहिले सिमेन्टका मूर्ति तयार गर्नेमा पुगेको छ । फलामको कामबाट परिवार पाल्न मुस्किल हुने गरेकोमा अहिले राम्रै भएको उनले बताए । ‘त्यसबेला फलामको काम त सबैले गर्थे । अलि फरक गर्छु भन्ने बुद्धि आयो,’ उनले भने, ‘कसैले नसिकाई सुरु गरेको पेसाले अहिले रमाइलो दिएको छ । हाँसीखुसी परिवार पालिएको छ ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT