मूर्तिकलामै परिवार

बाँके — नेपालगन्ज ५ का राकेश विश्वकर्माको पेसा मूर्तिकला हो । बाबु र दाजुसँगै मूर्तिका आकृति बनाउनमा उनको दैनिकी बित्छ । कमाइ पनि राम्रो छ ।

मूर्तिकलामै परिवार

‘बुबाले मूर्ति बनाएको देखेरै मैले पनि सिकें,’ उनले भने, ‘बुबासँग मूर्ति बनाउँदा पढाइ पनि बिर्सियो ।’ उनले ९ कक्षा मात्र पढेका छन् । बाबुले गर्ने कामलाई उनले पनि राम्रो माने । ‘सम्मान पनि हुने, मिहिनेत अनुसारको पैसा पनि आउने भएपछि यही पुख्र्यौली पेसा रोजें,’ उनले भने, ‘बाजेले फलामको काम गर्नुभयो । बुबाले मूर्ति बनाउन सुरु गर्नुभयो । अहिले हाम्रो परिवारका मूर्ति बनाउनमै रमाएको छ ।’

सामान्यत: उनले ४ देखि ३० हजारसम्मका मूर्ति बनाउने गरेका छन् । चाडपर्वअनुसार फरक–फरक मूर्तिको माग हुन्छ । मूर्तिसँगै शिलालेखको काम पनि गरिरहेका छन् । उनको परिवारले बनाएका मूर्ति बाँकेसहित जुम्ला, हुम्ला, डोल्पा जिल्लामा पनि पुग्ने गर्छन् । राजेशको मात्रै मासिक आम्दानी ७० हजार रुपैयाँभन्दा बढी छ ।

६४ वर्षीय बाबु त्रिभुवनप्रसाद विश्वकर्माले मूर्ति बनाउन थालेको २५ वर्ष भयो । सुरुको र अहिलेको व्यापारमा कुनै फरक नभएको उनले बताए । पहिलाभन्दा मूर्तिको बढदो माग रहेको उनको अनुभव छ । फलामको काम गर्ने परिवारमा हुर्किएका विश्वकर्मा आफैंले पनि सानैदेखि फलामको काम गरे । तर, केही फरक गर्ने क्रममा माटोलाई सिंगारेर मूर्ति बनाउन सुरु गरे ।

त्रिभुवनप्रसादको त्यही अभियान अहिले सिमेन्टका मूर्ति तयार गर्नेमा पुगेको छ । फलामको कामबाट परिवार पाल्न मुस्किल हुने गरेकोमा अहिले राम्रै भएको उनले बताए । ‘त्यसबेला फलामको काम त सबैले गर्थे । अलि फरक गर्छु भन्ने बुद्धि आयो,’ उनले भने, ‘कसैले नसिकाई सुरु गरेको पेसाले अहिले रमाइलो दिएको छ । हाँसीखुसी परिवार पालिएको छ ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?