बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव

काशीराम डाँगी

रोल्पा — गत भदौ ५ मा आफन्तबाटै बलात्कृत ६ वर्षकी बालिकाको उपचारमा आर्थिक समस्या देखिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको उपचारमा पनि समस्या देखिएको हो । उपचारमा सहयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

रोल्पा नगरपालिकाभित्रैको गाउँका दाई नाता पर्ने १५ वर्षका किशोरद्वारा बलात्कृत बालिकामा अचेत हुने, रुने र कराउने समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । पैसा नभएकाले उनको उपचारमा समस्या भएको परिवारको गुनासो छ ।

Yamaha

बालिकाकी आमा र मामा उपचारमा जुटेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । ‘बालिकाको परिवारको अवस्था बुझेपछि दातालाई सघाउन आग्रह गरेका छौं । बालिकालाई उनीहरुकै पहलमा अस्पतालमा पुर्‍याइएको छ ।’ प्रजिअ एमसीले भने । घटना सदरमुकाम नजिकै रहेको गाउँको हो ।

स्थानीय प्रशासनका अनुसार जिल्लामा बालबालिका र सामाजिक क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेन र हुरेक संस्थालाई बालिकाको उपचारमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको हो ।

रेडक्रसलाई समेत सहयोग गर्न आग्रह गरिएको छ । प्रजिअ अध्यक्ष रहेको जिल्ला बाल कल्याण समितिको बैंक खातामा साढे चार लाख रकम भएपनि उक्त रकम प्रयोग गर्नेबार माथिल्लो तहबाट निर्देशन नआएकाले सहयोग गर्न नसकिएको प्रशासनले जनाएको छ । ती संस्थाले केही खर्च जुटाएपछि बालिकालाई एम्बुलेन्स मार्फत शनिबार नै अस्पताल पुर्‍याइएको थियो ।

प्रजिअकै अगुवाईमा १७ भदौमा समितिको बैठक आयोजना गरी बालिकाको उपचार गर्न पहल थालिएको थियो । चिकित्सक, सुरक्षा संयन्त्र, जनप्रतिनिधि, अधिकारकर्मी, कानुन व्यवसायी, महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख लगायतको उपस्थितिमा बैठकले बालिकाको उपचार र सहयोगमा ध्यान दिने निर्णय गरेको थियो । बलात्कृत भएकी बालिकाको करिब ११ दिनपछि प्युठानस्थित अस्पतालमा उपचार गरिएको थियो ।

घटनाबारे कसैलाई नभन्न दबाब दिएकाले बालिकाले उक्त पीडाबारे कसैलाई बताएकी थिइनन् । स्वास्थ्यकर्मी, प्रहरी तथा परिवारको लामो प्रयासपछि बालिकाले रुदै घटना विवरण बताइकी थिइन् । बलात्कृत भएको आशंकापछि रोल्पामा ल्याइएकी बालिकाको पूर्ण स्वास्थ्य जाँच भने रोल्पा अस्पतालमा गरिएको थियो ।

स्वास्थ्यकर्मीले बलात्कार गरिएको लामो समयपछि पनि बालिका मानसिक दबाबमा देखिएकी थिइन् । बालिकाको योनाङ्गमा चोट देखिएको चिकित्सकले जनाए ।

बालिकाको उपचार बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा थालिएको छ । बालिकाका बुवा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक पुगेका छन् । उपचार गर्न उनकी आमा र मामा साथैमा गएका छन् । उक्त घटनापछि गाउँलेहरु त्रसित छन् । अधिकारकर्मी र नागरिक अगुवाले बालिका जोगाउन सचेत हुनु पर्ने सन्देश प्रवाह गरेका छन् ।

बलात्कार गरेको अभियोगमा १५ वर्षका किशोरलाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरिसकेको थियो । उनलाई पक्राउ गरिएकोबारे रोल्पा अदालतमा जानकारी दिएर थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फैसलाको २५ वर्षपछि अदालतमा उपस्थित

काशीराम डाँगी

रोल्पा — अदालतले फैसला गरेको २५ वर्षपछि रोल्पाका एक व्यक्ति कैद भुक्तान गर्न आफै अदालतमा उपस्थित भएका छन् ।


ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा रोल्पा जिल्ला अदालतद्वारा साविक खुंग्री गाविस–६ र हालको सुनील स्मृति गाँउपालिका–२ स्थित खुंग्रीका गिरे भन्ने गोरे सुनारलाई १० वर्षको जेल सजाय फैसला भएको थियो।

गोरे बुधबार अदालतमा आफै हाजिर भएपछि अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको छ। उनी विरुद्धको मुद्दामा अदालतले २०५१ मा फैसला सुनाएको थियो।

फैसलाअनुसार गोरेले २०८५ मंसिर १६ गतेसम्म कैद जीवन भोग्ने छन्। सुरुमै हिरासतमा उनले ३ महिना २६ दिन कैद भुक्तान गरिसकेका छन्। नयाँ मुलुकी संहिता अनुसार अब ९ वर्ष ८ महिना १६ दिन कैद भुक्तान गर्नुपर्नेछ। लामो समय भारतमा बस्दै आएका उनी आफन्तको सल्लाहमा भारतबाटै अदालतको फैसला अनुसार कैद भुक्तान गर्न आएका थिए। उनी बुधबार कानुन व्यवसायीमार्फत रोल्पा अदालतको सम्पर्कमा आएका थिए।

रोल्पा अदालतका श्रेस्तेदार मानबहादुर बिष्टले गोरे आफै अदालतको सम्पर्कमा आएकाले उनीसँग सम्बन्धित कागजात र फैसला हेरेर उनलाई कैद भुक्तानको व्यवस्था मिलाइएको बताए। ‘हामीले उनी जस्ताका लागि सूचना जारी गरिरहेका हुन्छौं। त्यो सूचना अनुसार कतिपय सम्पर्कमा आइरहेका छन्।’ श्रेस्तेदार बिष्टले भने। अदालती भाषामा फैसला भइसकेर लामो समयपछि आफै कैद भुक्तानका लागि अदालतमा उपस्थित हुनुलाई ‘आत्मसमर्पण’ गरेको भनेर बुझिन्छ।

अदालतका अनुसार फैसला भइसकेर पनि कैद भुक्तान गर्न नआएका अरु पनि थुप्रै छन्। जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मुलुकमा जारी भएको नयाँ मुलुकी संहिता अनुसार मुद्दाको फैसला हुन सुरु गरिसकेको बताए। कानुनी व्यवस्था र संहिताबारे सर्वसाधारणलाई समेत जानकारी गराउन आवश्यक भएको न्यायाधीश ज्ञवालीले बताए।

प्रकाशित : भाद्र १५, २०७५ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT