अंग्रेजलाई हराएको सम्झनामा भव्य रथयात्रा

प्रधानमन्त्री ओलीको शुभकामना
माधव अर्याल

पाल्पा — इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका पाँच स्थानमा आक्रमण गर्‍यो । विक्रम सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा अंग्रेज चार स्थानमा विजयी भयो ।

तर, पाल्पाली र इस्ट इन्डियाको फौजबीच लडाइँ भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा भने अंग्रेज फौज पराजित भयो । दुई वर्षसम्म चलेको यो युद्धमा नुवाकोटबाट बुटवलतर्फ झरेको पाल्पाली फौजले विजय हासिल गरेको थियो ।

Yamaha


विजयी पाल्पाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । उनै थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिरअगाडि ‘अंग्रेज सेनालाई हराउने शक्ति देऊ, फर्केर आएपछि तिम्रो सिन्दूर जात्रा गर्दै महिमा फैलाउनेछु’ भनी भाकल गरेको इतिहास रहेको यसका जानकार निर्मल श्रेष्ठले बताए । थापाले युद्ध जितेर फर्केपछि तीन तले प्यागोडा शैलीको मन्दिर बनाएर १८७६ देखि सिन्दूर जात्रा चलाएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताए ।

तानसेनस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको सिन्दुर जात्राले यस वर्ष दुई सय वर्ष पूरा गरेको छ । हरेक भाद्र कृष्णनवमीका दिन तानसेनमा भगवतीको भव्य र हर्षोल्लासका साथ रथयात्रा निकालिँदै आएको छ । भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जयजयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइयो । यस वर्ष भारतबाट राम शाहीले मगाएको आतिसबाजले रातभर तानसेन गुञ्जायमान बनेको थियो ।

पाल्पाका विभिन्न स्थानका लाखे, भजन टोलीले पनि तानसेनलाई रमाइलो गराएका थिए । सोमबार बिहानैदेखि रथमा राखिएको भगवतीको मूर्तिमा पूजाआजा गर्न श्रद्धालुको भीड लागेको थियो । दिउँसो पौने १ बजे बलि दिएपछि रथलाई उठाइएको थियो । रथलाई तीनपटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइयो । रथलाई मन्दिर परिक्रमा गराई कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन अझै छ । त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना र प्रहरी प्रशासनबाट पूजा गरियो ।

रथयात्रासँगै र्‍याली तथा झाँकीमा निजामती कर्मचारी, सैनिक, प्रहरी, विद्यार्थी, स्थानीय र विभिन्न संघसंस्थाका व्यक्तिको सहभागिता थियो । मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउँदा बजारका बासिन्दाले समेत बलि र पूजा दिएका थिए । इतिहासका जानकार श्रेष्ठका अनुसार कुमाउ–गडवाल, मकवानपुर गढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएको थियो । तीमध्ये जितगढीमा मात्र नेपाली फौजले विजय हासिल गरेको खुसियाली अहिलेसम्म निरन्तर छ ।

‘यसको महत्त्वका विषयमा सरकारलाई बुझाउन सकेजस्तो लाग्दैन,’ इतिहासकार राजेन्द्रगोपाल सिंहले भने, ‘यसलाई राष्ट्रिय मान्यता दिनुपर्ने हो तर दिइएको छैन ।’

प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको भगवती जात्राको अवसरमा शुभकामना वक्तव्य दिएका छन् । उनले बुटवलबाट प्रवेश गरी पाल्पा कब्जा गर्ने अंग्रेज आक्रमणकारीको दुस्साहसलाई परास्त गर्ने नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा हासिल गरिएको विजयको खुसीयालीमा यो जात्रा सुरु भएकामा पाल्पालीलाई बधाइ दिए ।

‘कर्णेल उजिरसिंह थापाले सीमित स्रोत साधनबाटै जितगढीको मोर्चामा अंग्रेज आक्रमणकारीलाई पराजित गरी देशको सार्वभौमसत्ता जोगाउन अहम् भूमिका निर्वाह गरेका थिए,’ प्रम ओलीको शुभकामनामा वक्तव्यमा भनिएको छ, ‘ती देशभक्त याद्धाले सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धका क्रममा आफ्नो पराक्रम, साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्तत: नेपाल कब्जा गर्ने अंग्रेजको योजनालाई विफल तुल्याएका थिए ।’

प्रकाशित : भाद्र १८, २०७५ २१:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हामी आत्मविश्वासी छौंः प्रमुख प्रशिक्षक बालगोपाल महर्जन

हिमेश

ढाका — पाकिस्तानले विरलै फुटबललाई महत्त्व दिन्छ, तर यही पाकिस्तानले नेपाललाई मैदानमा भने समय समयमा दु:ख भने दिन्छ । हालै सम्पन्न एसियाली खेलकुदतर्फ फुटबलको निहुँमा पाकिस्तानले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको थियो ।

सोमबार अभ्यास गर्दै नेपाली फुटबल टिम । तस्बिरः एन्फा

यो टिम नेपालकै समूहमा परेको थियो। लिग चरणमा अन्तिम खेल थियो र नेपालसामु पाकिस्तानलाई हराएर नकआउट चरण प्रवेश गर्ने ऐतिहासिक अवसर थियो, तर नेपाल त्यसमा नराम्रोसँग चुक्यो।

नेपाल त्यो खेलमा २–१ ले पराजित रह्यो। पाकिस्तान आफै पनि अगाडि बढ्न सकेन, तर उसले नेपाललाई एउटा पाठ भने सिकायो। साफ च्याम्पियनसिपका लागि भने विभिन्न खाले आन्तरिक विवादबीच पाकिस्तानले बल्लतल्ल टिम घोषणा गर्न सक्यो र यही टिमको उद्घाटन खेलमा नेपालले मंगलबार सामना गर्दैछ। बंगबन्धु रंगशालामा हुने खेलमा नेपालको रणनीति कस्तो हुँदो हो त? सतर्क? सावधान? होइन, नेपाल त्यस खेल जित्नेमा आत्मविश्वास छ।

यो आत्मविश्वास किन भन्दा टिमका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनको दाबी छ, नेपाल प्रतियोगिताको उपाधिका लागि दावेदार नै हो र यो सफलतासम्म पुग्न पहिलो खडुकिलोका रूपमा रहेको छ, पाकिस्तान। अघिल्लो दिन ढाका आइपुगेको नेपाली टिम सोमबार अभ्यास सत्रमा राम्रै पसिना बगायो र त्यस अगाडि प्रशिक्षक महर्जनसँगै कप्तान विराज महर्जन प्रि–म्याच कन्फ्रेन्समा उपस्थिति भए। प्रशिक्षक महर्जनले त्यस अवसरमा भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्ने, त्यसपछि उपाधि हात पार्ने।’

‘हामी बंगलादेशमा उपाधि जित्न आएका हौं,’ प्रशिक्षक महर्जनले दाबी दोहराए। यसका लागि उनले प्रस्तुत गरेको तर्क हो, ‘नेपाली टिम अहिले खुबै सन्तुलित छ र यसका लागि खेलाडीले पर्याप्त मिहिनेत पनि गरेका छन्।’ उनले टिमको संरचना कस्तो हुने हो र कसरी खेल्ने हो, त्यो खुलाउन चाहेनन, तर उनको संकेत थियो, नेपालले ४–२–२ मा खेल्नेछ र सम्भवत: नेपाली फुटबलको भविष्य मानिएका डिफेन्डर सुमन अर्यालले डेब्यु गर्ने छन्।

प्रशिक्षक महर्जनको भनाइ थियो, ‘टिममा एउटा नयाँ अनुहारका रूपमा सुमन छन्।’ उनले एसियाली खेलकुदमा पाकिस्तानविरुद्धको खेलबाट आफूहरू पाठ सिकेको पनि दाबी गरे। उनको तर्क थियो, त्यस खेलमा दुवैको यू–२३ टिम थियो। अहिले दुवैको पूरा टिम मैदानमा उत्रने छ। त्यसैले प्रदर्शनमा फरक पर्ने छ नै। ‘हामी अझ परिपक्व भएर मैदानमा उत्रने छौं। प्रतियोगिताको पहिलो खेल जहिले पनि महत्त्वपूर्ण हुन्छ र हामी यसमा आत्मविश्वासी भएर खेल्ने छौं।’

पाकिस्तानी फुटबल संघले भने जस्तै विवादबीच पनि प्रशिक्षकमा भने ब्राजिली एन्टोनियो नोगुरालाई भित्र्याएको छ। उनले टिमलाई खुबै मिहिनेत गराएका छन्। उनले पहिलो उद्देश्य थियो, खेलाडीलाई खेलमा अत्याधिक रूचि बढाउने र साफ च्याम्पियनसिप जस्तो प्रतियोगिताका लागि मानसिक रूपमा तयार पार्ने। उनको दाबी छ, आफू यसमा सफल भएका छन्। त्यही कारणले त हो, पाकिस्तानले एसियाली खेलकुदमा नेपाललाई हराउन सकेको।

पाकिस्तानले मैदानमा उतार्ने टिम लगभग उही हो, जुन जाकार्तामा पनि खेलेको थियो। प्रशिक्षक एन्टोनियाले भनेका छन्, ‘ढाकामा हाम्रा खेलाडीले अझ राम्रो प्रदर्शन गर्नेछन्। टिमको प्रदर्शनमा पक्कै सुधार आउने छ।’ यस्तोमा नेपालले यही प्रतिद्वन्द्वीको सामना गर्दा सतर्क हुनै पर्छ। साफ च्याम्पियनसिपकै इतिहासमा नेपालले दुई अवसरमा मात्र पहिलो खेल जित्न सफल रहेको छ। प्रतियोगिताको इतिहासमा टिकेर नेपालले सावधानीपूर्वक खेल्नु पर्नेमा दुई मत हुने छैन।
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
४ १ २ १ ६–५

प्रकाशित : भाद्र १८, २०७५ २१:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT