१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अंग्रेजलाई हराएको सम्झनामा भव्य रथयात्रा

प्रधानमन्त्री ओलीको शुभकामना
माधव अर्याल

पाल्पा — इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका पाँच स्थानमा आक्रमण गर्‍यो । विक्रम सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा अंग्रेज चार स्थानमा विजयी भयो ।

अंग्रेजलाई हराएको सम्झनामा भव्य रथयात्रा

तर, पाल्पाली र इस्ट इन्डियाको फौजबीच लडाइँ भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा भने अंग्रेज फौज पराजित भयो । दुई वर्षसम्म चलेको यो युद्धमा नुवाकोटबाट बुटवलतर्फ झरेको पाल्पाली फौजले विजय हासिल गरेको थियो ।


विजयी पाल्पाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । उनै थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिरअगाडि ‘अंग्रेज सेनालाई हराउने शक्ति देऊ, फर्केर आएपछि तिम्रो सिन्दूर जात्रा गर्दै महिमा फैलाउनेछु’ भनी भाकल गरेको इतिहास रहेको यसका जानकार निर्मल श्रेष्ठले बताए । थापाले युद्ध जितेर फर्केपछि तीन तले प्यागोडा शैलीको मन्दिर बनाएर १८७६ देखि सिन्दूर जात्रा चलाएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताए ।


तानसेनस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको सिन्दुर जात्राले यस वर्ष दुई सय वर्ष पूरा गरेको छ । हरेक भाद्र कृष्णनवमीका दिन तानसेनमा भगवतीको भव्य र हर्षोल्लासका साथ रथयात्रा निकालिँदै आएको छ । भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जयजयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइयो । यस वर्ष भारतबाट राम शाहीले मगाएको आतिसबाजले रातभर तानसेन गुञ्जायमान बनेको थियो ।


पाल्पाका विभिन्न स्थानका लाखे, भजन टोलीले पनि तानसेनलाई रमाइलो गराएका थिए । सोमबार बिहानैदेखि रथमा राखिएको भगवतीको मूर्तिमा पूजाआजा गर्न श्रद्धालुको भीड लागेको थियो । दिउँसो पौने १ बजे बलि दिएपछि रथलाई उठाइएको थियो । रथलाई तीनपटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइयो । रथलाई मन्दिर परिक्रमा गराई कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन अझै छ । त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना र प्रहरी प्रशासनबाट पूजा गरियो ।


रथयात्रासँगै र्‍याली तथा झाँकीमा निजामती कर्मचारी, सैनिक, प्रहरी, विद्यार्थी, स्थानीय र विभिन्न संघसंस्थाका व्यक्तिको सहभागिता थियो । मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउँदा बजारका बासिन्दाले समेत बलि र पूजा दिएका थिए । इतिहासका जानकार श्रेष्ठका अनुसार कुमाउ–गडवाल, मकवानपुर गढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएको थियो । तीमध्ये जितगढीमा मात्र नेपाली फौजले विजय हासिल गरेको खुसियाली अहिलेसम्म निरन्तर छ ।


‘यसको महत्त्वका विषयमा सरकारलाई बुझाउन सकेजस्तो लाग्दैन,’ इतिहासकार राजेन्द्रगोपाल सिंहले भने, ‘यसलाई राष्ट्रिय मान्यता दिनुपर्ने हो तर दिइएको छैन ।’


प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको भगवती जात्राको अवसरमा शुभकामना वक्तव्य दिएका छन् । उनले बुटवलबाट प्रवेश गरी पाल्पा कब्जा गर्ने अंग्रेज आक्रमणकारीको दुस्साहसलाई परास्त गर्ने नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा हासिल गरिएको विजयको खुसीयालीमा यो जात्रा सुरु भएकामा पाल्पालीलाई बधाइ दिए ।


‘कर्णेल उजिरसिंह थापाले सीमित स्रोत साधनबाटै जितगढीको मोर्चामा अंग्रेज आक्रमणकारीलाई पराजित गरी देशको सार्वभौमसत्ता जोगाउन अहम् भूमिका निर्वाह गरेका थिए,’ प्रम ओलीको शुभकामनामा वक्तव्यमा भनिएको छ, ‘ती देशभक्त याद्धाले सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धका क्रममा आफ्नो पराक्रम, साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्तत: नेपाल कब्जा गर्ने अंग्रेजको योजनालाई विफल तुल्याएका थिए ।’


प्रकाशित : भाद्र १८, २०७५ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?