२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इन्दिरा हत्या प्रकरण: ७ वर्षसम्म घटना रहस्यमै

कमल पन्थी

बर्दिया — ०६८ भदौ ११ गते बर्दिया बढैयाताल गाउँपालिका ५ मा तत्कालीन एमाले जिल्ला कमिटी सदस्य एवं महिला नेतृ इन्दिरा भुसालको हत्या भयो । भुसालको हत्या भएको एक साता नबित्दै सोही ठाउँकी रामकली सुनार पनि मारिइन् ।

इन्दिरा हत्या प्रकरण: ७ वर्षसम्म घटना रहस्यमै

अहिलेसम्म प्रहरी अनुसन्धानले दुई महिलाका हत्यारा पत्ता लगाउन सकेको छैन । प्रदेश र जिल्लामा सरुवा भई आउने प्रहरी अधिकारीले अभियुक्त पक्राउ गरिछाड्ने आश्वासन बाँड्ने गरे पनि अहिलेसम्म हत्यारा पत्ता नलागेको पीडित परिवारको गुनासो छ ।

प्रहरीले अपराधी पक्रन नसकेको भन्दै आलोचना बढेपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) केशवप्रसाद अधिकारीले प्रहरी कार्यालयबाट सबै मिसिल झिकाएर अनुसन्धान सुरु गरेका थिए । यसअघिका डीआईजीले समेत घटनाबारे छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए पनि अनुसन्धान अहिलेसम्म अधुरै छ ।

चार/पाँच जनाको अज्ञात समूहले भुसालको घरमै राति करिब नौ बजे हत्या गरेका थिए । एक सातापछि सुनारको बाँसगढी–मैनापोखरस्थित जंगलमा घाँटी रेटेर हत्या गरिएको थियो । दुवै हत्याका अभियोगी हालसम्म फेला परेका छैनन् । सुनारको हत्या भुसालसँगै जोडिएको आशंका प्रहरीले गर्दै आएको छ ।

भुसालको हत्यालगत्तै केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक विमल श्रेष्ठको संयोजकत्वमा छानबिन टोलीले अनुन्धान सुरु गरेको थियो । अनुसन्धान भइरहेकै बेला सुनारको हत्या भयो ।

घटना रहस्यमय भन्दा पनि तत्कालीन प्रहरी प्रमुखको अनुसन्धान प्रक्रिया नै अधुरो भएकाले यसलाई पुन: छानबिन गर्नुपर्ने बढैयाताल ७ का वडाध्यक्ष एवं तत्कालीन एमाले जिल्ला सदस्य इन्द्र लुइँटेलले बताए । ‘सुरुको अनुसन्धान नै फितलो भयो,’ उनले भने, ‘अहिलेसम्म हत्यारा पत्ता नलाग्नु दुर्भाग्यपूर्ण हो ।’

प्रदेश ५ का डीआईजी शेरबहादुर बस्नेतले भुसाल र सुनार हत्याकाण्ड पुन: नयाँ शिराबाट अनुसन्धान गर्न थालिएको बताए । ‘बाँके, दाङलगायत जिल्लामा विगतमा भएका हत्या घटनाका पुराना फायल खोल्दै छौं,’ उनले भने, ‘अपराधी उम्कन नसक्ने गरी अनुसन्धान हुन्छ ।’ भुसालका भाइ पुष्पले दिदीका हत्यारा पक्रनेलाई २० लाख रुपैयाँ नगद दिने घोषणा पनि गरिसकेका छन् ।

करिब ६ वर्षअघि ठाकुरबाबा नगरपालिकास्थित बलाती सामुदायिक वनमा एक महिलाको हत्या गरी खाडलमा पुरेर फरार अभियुक्तलाई प्रहरीले एक वर्षअघि दैलेखबाट पक्राउ गरेको थियो ।

सोलुखुम्बु घर भई काठमाडौंस्थित सीतापाइलामा डेरा गरी बस्ने ३७ वर्षीया भारती राईलाई बर्दियाको जंगलमा ल्याएर हत्या गरिएको थियो । प्रहरीले त्यही हत्या अभियोगमा दैलेख नाउले कटुवाल ४ का सशस्त्र प्रहरीका पूर्वहबल्दार रवीन्द्रबहादुर थापालाई घरैबाट पक्राउ गरेको हो ।

प्रकाशित : भाद्र १९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?