३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सधैं पानीको दु:ख

१८ परिवार आधा घण्टा टाढाको हल्दी खोलाबाट पानीको जोहो गर्न बाध्य

प्यूठान — प्यूठान नगरपालिकाको केन्द्र रहेको बिजुवार बजार क्षेत्रको नजिकैको गाउँका स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका छन् ।

सधैं पानीको दु:ख

प्यूठान नगरपालिका ४ स्थित खमल्दी गाउँका १८ घरपरिवारलाई खानेपानीको धेरै दु:ख छ । उनीहरूले आधा घण्टा टाढाको हल्दीखोला पँधेराबाट पानीको जोहो गर्ने गरेका छन् ।

नगरपालिका क्षेत्रको अन्यत्र ‘एक घर एक धारा’ निर्माण अभियान चलेको छ । यो अभियानले यहाँ अहिलेसम्म छोएको छैन । दलित परिवारको बसोबास रहेको खमल्दी गाउँमा अहिलेसम्म सरोकारवाला निकायको आँखा नपरेको स्थानीयको गुनासो छ । चुनावका बेला सबैले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्ने तर पछि नहेर्ने स्थानीय परी सुनारले दुखेसो गरिन् ।

‘हल्दीखोलाको पँधेरामा ५० घरले पानी भर्ने गर्छौं,’ सुनारले भनिन्, ‘मध्य बर्खामा समेत पानीका लागि पालो कुर्नुपर्छ ।’ पालो मिचिएको विषयमा झगडा भइरहने सुनारले बताइन् । स्थानीयका अनुसार हल्दीखोलाको पँधेरामा पानी निकै सानो छ ।

यसको पनि राम्रोसँग मर्मत भएको छैन । पानी भर्ने पालो मिचिएको विषयमा झगडा हुँदा गत असारमा स्थानीय महिमा सुनार घाइते भएको स्थानीय गोमा सुनारले बताइन् । उनका अनुसार महिमा बुटवलमा उपचारपछि भर्खर घर फर्केकी छन् ।

वडा हुँदै नगरपालिका कार्यलयमा खानेपानीको माग गरे पनि सुनुवाइ नभएको पशुपति सुनारले बताइन् । ‘खमल्दीमा विवाह गरेर आएको २५ वर्ष भयो,’ सुनारले भनिन्, ‘वर्षौंदेखि पानीको माग गरेका छौं । अहिलेसम्म कतैबाट योजना परेन ।’ खमल्दीमा पानीको मूलको स्रोत नभएकाले लिफ्ट गरेर ल्याउनुपर्ने वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।

लिफ्ट गर्ने ठूलो बजेट वडाको पहुँचमा नभएकाले यस आर्थिक वर्षमा सम्बोधन गर्न नसकेको राजभण्डारीले बताए । ‘वडाको बजेटले ठूला योजना निर्माण गर्न सकिँदैन,’ राजभण्डारीले
भने, ‘नगरसभामा खमल्दीगाउँको खानेपानीको कुरा उठाइरहेको छु । अर्को वर्ष सम्बोधन होला ।’

प्रकाशित : भाद्र १९, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?