३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आकाशे पुल निर्माण सुस्त

सम्झौता अवधिमा ३५ प्रतिशत मात्रै काम
६ महिना म्याद थप
अमृता अनमोल

बुटवल — रूपन्देहीमा निर्माणाधीन १० आकाशे पुलको काम ज्यादै सुस्त चलेको छ । भारतीय सीमा क्षेत्रसम्म ६ लेन सडक बनाउन थालेसँगै बेलहिया–बुटवल सडक खण्डमा अन्तर्राष्ट्रिय मापदण्डका आकाशे पुल निर्माण थालिएको थियो ।

आकाशे पुल निर्माण सुस्त

पुल निर्माणका लागि दुई वर्षअघि महादेव खिम्ती एसियाटिक महेश जेभी कम्पनीले ठेक्का पाएको थियो । कम्पनीले ठेक्का अनुसार काम नगर्दा निर्माणाधीन आकाशे पुलको कामले गति लिन नसकेका हुन् ।

बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले १० वटा आकाशे पुल निर्माणका लागि १२ करोड ४८ लाख ५२ हजार २ सय ४८ रुपैयाँ लाग्ने अनुमानमा ठेक्का आह्वान गरेको थियो । महादेव खिम्तीले भने ११ करोड ११ लाख १५ हजार २ सय २५ रुपैयाँमा ठेक्का लिएको हो ।

सन् २०१७ मार्चमा लिएको ठेक्का सन् २०१८ जुलाईमा सम्पन्न गर्ने सम्झौता थियो । ठेक्का सम्झौता सकिँदासम्म भौतिक निर्माणका हिसाबले ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बाँकी ६५ प्रतिशत काम कहिले सकिने, टुंगो छैन ।

रकम खर्चका हिसाबले आकाशे पुलका लागि ३० प्रतिशत रकम खर्च भइसकेको छ । कम्पनीले धेरै ठाउँमा ठेक्का लिने र काम सुरु गरे पनि बीचबीचमा रोक्ने गर्दा यस्तो भएको सरोकारवालाहरू बताउँछन् । ‘निर्माण कम्पनीलाई समयमा काम नगरे पनि कारबाही नहुने र सजिलै समय थप्न सकिन्छ भन्ने विश्वासले गर्दा यस्तो भएको हो,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले भने ।

समय सकिएपछि ठेकेदार कम्पनीले अहिले निर्वाचन, बन्दलगायतका कारण काम गर्न नसकिएको दाबी गर्दै आठ महिना म्याद थपका लागि आयोजनाको कार्यालयमा निवेदन दिएको थियो । आयोजनाले भने चेतावनीसहित ६ महिनाको म्याद थपेको कार्यालय प्रमुख जीवेन्द्र मिश्रले बताए ।

अबको ६ महिनाभित्र पनि पुल निर्माण नसकिए अर्को दिनदेखि नै हर्जना लगाउने उनले बताए । ‘यसअघि पटक–पटक चेतावनी दिएकाले अबको ६ महिनाभित्र कम्पनीले १० वटै आकाशे पुलको निर्माण काम सक्नेछ,’ मिश्रले भने, ‘ठेकेदार कम्पनीले यही प्रतिबद्धता जनाएको छ ।’ आउँदो ६ महिनाभित्र निर्माणाधीन सडक सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक विस्तारसँगै पैदल यात्रुलाई सडक वारपारमा समस्या देखिएको र दुर्घटना कम गर्न सडकभन्दा पहिले आकाशे पुलको निर्माण सक्ने आयोजना प्रमुख मिश्रले बताए ।

बेलहिया–बुटवल खण्डको दूरी २७ किलोमिटर छ । त्यसमध्ये बुटवल आसपास ७ र भैरहवाका ३ स्थानमा पुल निर्माण हुँदैछन् । बुटवल क्षेत्र अन्तर्गत योगीकुटी, कालिकानगर, राजमार्ग चौराह, मिलनचोक, अस्पताल लाइन, ट्राफिक चोक र गोलपार्कमा आकाशे पुल निर्माण हुँदैछन् ।

भैरहवामा बुद्धचोक, देवकोटा चोक र आँखा अस्पतालअगाडि पुल बन्दैछन् । सबै पुल ५ मिटर उचाइ, २४ मिटर लम्बाइ र साढे २ मिटर चौडाइका हुनेछन् । तिनलाई एकै किसिमबाट डिजाइन गरिएको छ । पुलमा टल्किने खालको डिजिटल बोर्ड राखिनेछ । यसले उज्यालो र सौन्दर्य थप बढाउने इन्जिनियर गोविन्द श्रेष्ठले बताए । ‘त्यसमा ट्राफिक चेतना जगाउने खालका सूचनासमेत राखिनेछन्,’ उनले भने, ‘यसले सडक दुर्घटना कम गर्न पनि मद्दत गर्नेछ ।’

प्रकाशित : भाद्र १९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?