१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रामग्रामले घटायो कर

नवीन पौडेल

परासी — असार मसान्तपछि करको दायरा बढेको भन्दै स्थानीयले विरोध गरेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका कर घटाउन बाध्य भएको छ ।

रामग्रामले घटायो कर

आन्तरिक आय वृद्धि गर्ने भन्दै नगर कार्यपालिकाले एक सयदेखि चार सय प्रतिशतसम्म सेवा शुल्क वृद्धि गरेको थियो । स्थानीयको चर्को विरोधपछि सोमबार बसेको नगर कार्यपालिका बैठकले करको दर घटाउने निर्णय गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर, व्यावसायिक कर र विभिन्न सेवाबापतको सिफारिस शुल्क कम गर्न लागेको बताइएको छ । ‘नगर कार्यपालिकाको निर्णयअनुसार यस आर्थिक वर्षदेखि करको दायरा र सेवाशुल्कमा केही वृद्धि गरेका थियौं,’ नगर प्रमुख गुप्ताले भने, ‘नगरवासीको आग्रहमा केही प्रतिशत कर घटाउने र दायराको विषयमा पुनरावलोकन गर्ने निष्कर्षमा पुगेका छाैं ।’

‘जग्गा भएको भरमा नै नियमित आम्दानी नहुनेहरूका लागि चर्को कर तिर्न असहज भएको थियो,’ स्थानीय गुरुदत्त उपाध्यायले भने, ‘कर घटाउने निर्णयले हामीलाई केही राहतको महसुस भएको छ ।’

व्यावसायिक करबारे कार्यपालिका बैठकबाटै आवश्यक निर्णय गर्न सकिने भएकाले प्रक्रिया पूरा गरी केही दिनमै कम गरिने भएको छ भने सम्पत्ति करसहित सिफारिस दस्तुर असोज मसान्तमा हुने चौथो नगरसभाबाट पारित गरेर नयाँ दर कायम गरिनेछ ।

नगरभित्र सम्पत्ति करअन्तर्गत हाल १० लाखसम्मको सम्पत्तिमा २ सय, १० लाखदेखि ५० लाखसम्म एक हजार, ५० लाखदेखि १ करोडसम्म ३ हजार रुपैयाँ कर लिने गरिएको छ । एकीकृत सम्पत्ति कर रामग्राम नगरपालिकामा ०५६ सालबाट लागू भएकामा चालु आर्थिक वर्षको साउनबाट ती कर केही परिमार्जित र सम्पत्ति मूल्यांकनअनुसार करको दर केही थप भएर लागू भएको थियो ।

रामग्राम नगरपालिकाले विभिन्न सिफारिस नि:शुल्क गरेको छ । व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदलगायत घटना ३५ दिनभित्र दर्ता नगराए एक सय रुपैयाँ जरिवाना लाग्ने भएको छ । बिरामी सिफारिस, आगलागी तथा भूकम्पपीडित, बाढीपीडित, न्यायिक समितिका सिफारिस, स्वास्थ्य, कृषि तथा भेटेरिनरी, महिला तथा बालबालिकालगायत शाखाबाट दिइने विषयगत सिफारिस नि:शुल्क गरेको छ ।

नगरवासी र क्रियाशील राजनीतिक दलको दबाबपछि नगरपालिका कर पुनरावलोकन गर्ने निर्णयमा पुगेको हो । कर वृद्धिको विरोधमा समानान्तर नगरकार्यपालिका गठन गरेर विभिन्न राजनीतिक दल र सर्वसाधारण विरोधमा उत्रिएका थिए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?