कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूर्ति बनाउने चटारो

नवीन पौडेल

परासी — परासीको बाइपास रोड छेउमा लल्लु हरिजनलाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं र तिहारका लागि विभिन्न देवीदेवताका मूर्तिको माग उच्च भएकाले पश्चिम नवलपरासीको परासीमा आएर हरिजनले धमाधम माटोलाई देवताको आकार दिइरहेका छन् ।

मूर्ति बनाउने चटारो

रुपन्देही मर्चवारका उनी यस क्षेत्रबाट मूर्तिको माग उच्च रहेकाले यहीँ आएर मूर्ति बनाउन थालेको बताउँछन् ।

हरिजनलाई अहिलेसम्म ठूलासाना गरी ५० वटा मूर्ति बनाइदिन अर्डर आइसकेको छ । थप मूर्तिका लागि मानिसहरू आए पनि जनशक्ति अभावमा मागअनुसार मूर्ति बनाउन पाएका छैनन् । दसैं र तिहारका लागि दुर्गा, लक्ष्मी, सरस्वती, गणेश र रावणको मूर्तिको सबैभन्दा बढी माग छ । ‘कालिगढ नहुँदा माग अनुसार मूर्ति बनाउन सकिरहेको छैन,’ हरिजनले भने, ‘तीन महिनामा दुई सय मूर्ति बनाउने अर्डर आए पनि ५० देखि ६० वटासम्म तयार पार्न सकेको छु । माटोका देवता बनाउन सजिलो छैन ।’

नवदुर्गामा हिन्दु धर्मावलम्बीले आआफ्नो घर, मन्दिर तथा सार्वजनिक स्थानमा मूर्ति राखेर पूजा गर्ने गर्छन् । नवरात्रदेखि पूर्णिमासम्म पूजा गरेर विधिपूर्वक नदी तथा तलाउमा विसर्जन गर्ने गरिन्छ । करिब १५ दिनका लागि मात्र मूर्ति प्रयोग हुने भएकाले माटो, बाँस र परालको प्रयोग गरेर उनले मूर्ति बनाउने गर्छन् । ‘तयार भएको मूर्तिमा आकर्षक रंग लगाएर भगवानो स्वरुप दिन्छु,’ उनले भने ।

परासीका गुरुदत्त उपाध्यायले अघिल्लो वर्ष नवदुर्गा पूजाका लागि भारतबाट मूर्ति ल्याउनु पर्‍यो । नजिकै मूर्ति पाइने स्थान नहुने र केही भएका कालिगढका लागि काम प्रशस्त हुने भएकाले दुई महिनाअगाडि अर्डर गर्दा पनि मूर्ति नपाएको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?