१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्य केन्द्र चिकित्सकविहीन

कमल पन्थी

बर्दिया — राजापुर २ दौलतपुरकी अमृता थारू ज्वरो आएपछि स्थानीय स्वास्थ्य केन्द्रमा पुगिन् । चिकित्सक नभेटिएपछि कैलालीको टीकापुरतर्फ लागिन् ।

स्वास्थ्य केन्द्र चिकित्सकविहीन

स्वास्थ्य केन्द्रमा तीनजना चिकित्सकको दरबन्दी छ । अहिले एक जना पनि उपलब्ध नभएपछि उनी छिमेकी जिल्ला जानु परेको हो ।

उनी एक उदाहरण मात्र हुन् । कर्णाली नदीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका अधिकांश बिरामी चिकित्सक नहुँदा कैलालीको टीकापुर र बाँकेको नेपालगन्जका अस्पताल जान बाध्य छन् । स्वास्थ्य केन्द्र प्रमुख रूपेश बड गत वैशाखमा एमडी अध्ययनका लागि काठमाडौं गएका छन् ।

करार सेवाका चिकित्सकद्वय प्रदीप रेग्मी र सन्दीप भण्डारीको एक महिनाअघि सरुवा भयो । त्यसपछि यहाँको स्वास्थ्य केन्द्रमा चिकित्सकको अभाव सुरु भएको स्वास्थ्य सहायक शेष जिआउल हकले बताए ।

बहिरंग (ओपीडी) सेवामा दैनिक झन्डै १ सय ८० बिरामी आउने गरेको यहाँको स्वास्थ्य केन्द्रमा तीन जनाले सामान्य उपचार सेवा दिइरहेका छन् । जिल्लाको दुर्गम केन्द्रमा स्टाफ नर्स एक र अनमी दुईजना कार्यरत छन् ।

चिकित्सकविहीन अस्पतालमा शव परीक्षणसमेत हुँदैन । शव परीक्षणका लागि करिब ४० किलोमिटर टाढा सदरमुकाम गुलरियास्थित जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता छ । चिकित्सकको अभावमा थारू समुदायमा देखिएको सिकलसेलको उपचारसमेत प्रभावित भएको छ ।

जिल्लामै अभाव
जिल्ला अस्पताल ५० शय्याको छ । यहाँ पनि विशेषज्ञ चिकित्सक छैनन् । १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जनाले मात्र सेवा दिइरहेका छन् ।

जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) सुभास पाण्डेयका अनुसार बाल, स्त्री, हड्डी, हातखुट्टा, नसा, मानसिक, नाक, कान, घाँटीलगायत विशेषज्ञ चिकित्सकको अभाव छ । पटक–पटक माग गरे पनि केन्द्रले विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न नसकेको उनले बताए । एघारौं तहका मेसुको दरबन्दी भए पनि नवौं तहकाले अस्पताल सम्हालेका छन् ।

निम साइमन इन्स्टिच्युटबाट एक महिलासहित सरकारी स्तरमा करारका एक विशेषज्ञ चिकित्सक जिल्ला अस्पतालमा कार्यरत छन् । १५ जनाको दरबन्दी रहेको मेडिकल अधिकृतमा आठ जना कार्यरत छन् । विगत दुई वर्षयता जनशक्ति बढे पनि दक्ष चिकित्सकको अभाव भने खट्किएको मेसु पाण्डेयले बताए ।

अस्पतालमा भौतिक संरचना थपिँदै सुधार हुँदै गए पनि आईसीयू कक्ष नहुँदा बिरामी प्रभावित हुने गरेका छन् । पर्चा, ल्याब, एक्सरे, शल्यक्रियालगायत शुल्कबाट अस्पतालले दैनिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ । अस्पतालमा २४ सै घण्टा फार्मेसी र ल्याब सेवा सञ्चालनमा रहे पनि वार्डहरूको पूर्वाधारको कमी रहेको चिकित्सकले बताए ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?