कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोठबाटै खेदिए गाई

ठाकुरसिंह थारु

नेपालगन्ज — पहिले जति धेरै गाई पालिन्थे त्यति नै धेरै धनीमा गनिन्थे । दूधका लागि र खेतीपातीमा प्रयोग गर्ने मल बनाउन धेरै गाई पाल्ने चलन थियो तर हाल समय फेरिएको छ ।

गोठबाटै खेदिए गाई

सहरमा मात्रै होइन गाउँघरमा पनि गाई पाल्न छाडिएको छ । नि:शुल्क दिए पनि कोही लिन तयार छैनन् । तिहारमा गाईलाई लक्ष्मीका रूपमा पूजा गरिन्छ । राष्ट्रिय जनावर गाईलाई नै मानिएको छ ।

मर्नुअघि वैतरणी तर्न गाईकै पुच्छर समाउने हिन्दु परम्परा छ । विवाहमा दान गर्ने चलन थियो तर त्यही गाई गोठबाट खेदिएका छन् । छाडा भएपछि किसानका अन्नबालीमा नोक्सानी हुन थाल्यो । जताजतै लखेटालखेट छ । जंगलमा लगेर छाडिए पनि गाउँमा बसेको बानीले फेरि फर्किने गरेका छन् ।

बाँके र बर्दियाका सहर र गाउँमा छाडा गाई–गोरुको आतंक छ । छाडा गाई धपाउनैका लागि गाउँहरूले आलोपालो लगाएका छन् । केहीले पारिश्रमिक दिएर कर्मचारी राखेका छन् । ‘पहिले गाई पाल्दा किसानले गौरव गर्थे । धार्मिक कारणले पनि सम्मान जनाउँथे,’ बाँके कोहलपुर नगरपालिका पिपरीका सुन्दर चौधरी भन्छन्, ‘पहिले एउटै घरमा सयभन्दा बढी गाई पालिन्थे । हाल गाई पाल्ने चलन हरायो ।’ उनका अनुसार गाई कौडीको भाउमा पनि बिक्री हुँदैन । जसका कारण किसानले गोठबाट विस्थापित गरेका हुन् ।

जथाभावी बस्ती विस्तारले चरण क्षेत्र खुम्चिएको छ । रासायनिक मल बजारभरि पाइन थालेको छ । दूधका लागि विकासी गाई–भैंसी पाल्न थालिएको छ । जसका कारण रैथाने (लोकल) गाईको अस्तित्व नै संकटमा परिसक्यो । हिन्दु धर्मको लक्ष्मी र राष्ट्रिय जनावरको सम्मान हुनुपर्नेमा बालीनाली खाइदिएको भन्दै धारिलो हतियारले काटिएका छन् ।

कतिपयले घरनजिकबाट लखेट्न भन्दै तातो पानीसमेत खन्याइदिने गरेका छन् । राष्ट्रिय जनावरको बेहाल छ । जति नै यातना सहे पनि लखेटिएको गाई फेरि गाउँ फर्किने गरेको छ । ‘पहिले सहरमा मात्रै छाडा पशुको समस्या थियो । हाल गाउँ–गाउँमा छाडा पशुचौपायाको आतंक छ,’ कोहलपुर रझेनाका राधेश्याम चौधरी भन्छन्, ‘छाडा गाईबाट धान जोगाउन खेतमै बास भएको छ ।’ उनले चार/पाँच वर्षअघि आफ्नै घरमा ७० भन्दा बढी गाई पालेको सुनाए । ‘चराउने ठाउँ छैन । सामुदायिक वन र निकुञ्जमा पस्नै पाइँदैन,’ उनले भने, ‘त्यसैले होला गाई पाल्ने चलन हरायो ।’

लोकल गाईले त्यति धेरै दूध पनि दिँदैन । खेतमा गोबर मल राख्ने चलन हरायो । त्यसैले गाईको महत्त्व पनि घट्दो छ । कसैले नि:शुल्क लैजान नमान्ने र बिक्री नहुँदा व्यवस्थापनमा जटिलता थपिँदै गएको छ । एउटा गाउँबाट अर्को गाउँमा गाई धपाउँदा स्थानीयबीच विवादसमेत हुन थालेको छ । केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाले बाँके राष्ट्रिय निकुञ्जमा गाई–गोरु छाड्न जाँदा कर्मचारीहरू पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख मदन भुजेलले छाडा गाई–गोरु व्यवस्थापनको काम निकै चुनौतीपूर्ण रहेको बताए । उनले गाई–गोरु बिक्री नहुँदा समस्या भएको जनाए ।

‘छाडा पशुचौपायालाई पक्राउ गरेर कान्जी हाउसमा राख्यो । लिलाम गर्न खोज्यो । अनि बिक्री हुँदैन,’ उनले भने, ‘यसका लागि छुट्टै नीति ल्याएर व्यवस्थापन गर्न आवश्यक छ ।’ त्यसो त पश्चिम तराईबाट गाई–गोरु खरिद गरी झापासम्म लैजाने एक समूह सक्रिय थियो । तर धार्मिक कारण देखाई गाई–गोरु लैजान स्थानीयले रोकेपपछि उक्त समूह पनि निष्क्रिय भएको छ ।

विभिन्न स्थानमा खोलिएका गौशालाहरू पनि प्रभावकारी हुन नसक्दा गाई व्यवस्थापनमा समस्या भएको हो । बाँके र बर्दियाका सबै स्थानीय तहमा छाडा गाई–गोरुको आतंक छ । किसानले पाल्ने गाई र उनीहरूबीच हाल द्वन्द्व बढेको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?