विदेशबाट प्रेमी फर्किएपछि श्रीमानको हत्या

वीरेन्द्र केसी

अर्घाखाँची — प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिला नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रेमीको खोजी गरिरहेको छ । सोमबार डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बाँधेको अवस्थामा बेवारिसे अवस्थामा भेटिएको शवको अनुशन्धान गर्ने क्रममा प्रहरीले श्रीमतीले नै प्रेमीसँग मिलेर हत्या गरेको निष्कर्ष निकालेमा पुगेको हो ।

विदेशबाट प्रेमी फर्किएपछि श्रीमानको हत्या

शवलाई घाँस काट्ने महिलाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा कपिलवस्तु वाणगांगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हुनसक्ने आंशकामा उनकी श्रीमती राधालाई बोलाए अनुशन्धान सुरु गरेको थियो । मंगलबार राति सन्धिखर्क अस्पताल आएर राधाले आफ्नो श्रीमानको शव हुन नसक्ने दाबी गरेर फर्किएकी थिइन् । प्रहरीले थप अनुसन्धानका लागि राधालाई बोलाएर सोधखोज गरेपछि उनले पतिको हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ ।


प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरका अनुसार साउदी अरबमा रहेका प्रेमी रुकुम घर बताउने रमेश बिक भदौ १० गते नै नेपाल आएर राधासँग सम्पर्कमा रहेका थिए । धनबहादुर कामको सिलसिलामा बाग्लुङ गएर तीन दिन पछि फर्किंदा राधा माइत गएको र पटकपटक घर आउन आग्रह गर्दा पनि बेवास्था गरे पछि उनी श्रीमती लिन आफैं ससुराली पुगेका थिए ।


माइतमा श्रीमतीलाई अपरिचित व्यक्तिसँग भेटेपछि दुईबीच झगडा भएको थियो । सोही दिन राति राधा र उनको प्रेमी र श्रीमानबीच पुन: झगडा भएर कुटाकुट भएको र सोही क्रममा दुईजना मिलेर धनबहादुरको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।


त्यसपछि राधाको प्रेमी रमेशले नै शवलाई बोरामा बाँधेर घरभन्दा केही परको खोल्सामा फालेर उनीहरु बिहानै कपिलवस्तु हिँडेको राधाले स्वीकार गरेको प्रहरी निरीक्षक मगरले बताए ।


प्रहरीले राधालाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रमेश साउदी अरबमा रहेको बेलादेखि नै उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो । साउदीबाट नेपाल फर्किएका रमेश सुटकेस थन्याएर घरमा नगई राधासँग भेट गर्न गएको निरिक्षक मगरले बताए । रमेश पनि विवाहित रहेको र उनको घरमा श्रीमती र छोरा–छोरी रहेको उनले बताए ।


प्रकाशित : भाद्र २१, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?