विदेशबाट प्रेमी फर्किएपछि श्रीमानको हत्या

वीरेन्द्र केसी

अर्घाखाँची — प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिला नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रेमीको खोजी गरिरहेको छ । सोमबार डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बाँधेको अवस्थामा बेवारिसे अवस्थामा भेटिएको शवको अनुशन्धान गर्ने क्रममा प्रहरीले श्रीमतीले नै प्रेमीसँग मिलेर हत्या गरेको निष्कर्ष निकालेमा पुगेको हो ।

शवलाई घाँस काट्ने महिलाले देखेर प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले अनुसन्धानको क्रममा कपिलवस्तु वाणगांगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हुनसक्ने आंशकामा उनकी श्रीमती राधालाई बोलाए अनुशन्धान सुरु गरेको थियो। मंगलबार राति सन्धिखर्क अस्पताल आएर राधाले आफ्नो श्रीमानको शव हुन नसक्ने दाबी गरेर फर्किएकी थिइन्। प्रहरीले थप अनुसन्धानका लागि राधालाई बोलाएर सोधखोज गरेपछि उनले पतिको हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ।

Yamaha

प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरका अनुसार साउदी अरबमा रहेका प्रेमी रुकुम घर बताउने रमेश बिक भदौ १० गते नै नेपाल आएर राधासँग सम्पर्कमा रहेका थिए। धनबहादुर कामको सिलसिलामा बाग्लुङ गएर तीन दिन पछि फर्किंदा राधा माइत गएको र पटकपटक घर आउन आग्रह गर्दा पनि बेवास्था गरे पछि उनी श्रीमती लिन आफैं ससुराली पुगेका थिए।

माइतमा श्रीमतीलाई अपरिचित व्यक्तिसँग भेटेपछि दुईबीच झगडा भएको थियो। सोही दिन राति राधा र उनको प्रेमी र श्रीमानबीच पुन: झगडा भएर कुटाकुट भएको र सोही क्रममा दुईजना मिलेर धनबहादुरको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

त्यसपछि राधाको प्रेमी रमेशले नै शवलाई बोरामा बाँधेर घरभन्दा केही परको खोल्सामा फालेर उनीहरु बिहानै कपिलवस्तु हिँडेको राधाले स्वीकार गरेको प्रहरी निरीक्षक मगरले बताए।

प्रहरीले राधालाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रमेश साउदी अरबमा रहेको बेलादेखि नै उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो। साउदीबाट नेपाल फर्किएका रमेश सुटकेस थन्याएर घरमा नगई राधासँग भेट गर्न गएको निरिक्षक मगरले बताए। रमेश पनि विवाहित रहेको र उनको घरमाश्रीमती र छोरा–छोरी रहेको उनले बताए।

प्रकाशित : भाद्र २१, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँमा गाडी, नगरमा सास्ती

वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका ६ स्थानीय तहमध्ये शीतगंगा नगरपालिकाबाहेक सबै गाउँमा वर्षामा पनि गाडी चल्छन् । भौगोलिक जटिलता र चुरे क्षेत्र धेरै भएकाले वर्षामा नगरका सबै ठाउँका सडक पहिरो र भेलले बिगारेको छ ।

गाडी नचल्दा अर्घाखाँचीको जलुकेबाट ठाडातर्फ बिरामी बोकेर लैजाँदै । तस्बिर : वीरेन्द्र

सन्धिखर्क–गोरुसिंगे सडकको बीच ठाडामा नगरपालिकाको कार्यालय छ । सिद्धारा, सिमलपानी, जलुके, जुकेनाका सबै सडक माथिबाट पहिरोले पुरिएका र तलबाट भत्केका छन् । पहिरो नगएको ठाउँमा भेलले खाल्डाखुल्डी पारेको छ । ठाडा, सीतापुर र सुवर्णखालमा मुख्य बाटामा बल्लतल्ल गाडी चलेपछि अरू सबै बाटा अवरुद्ध नै छन् । यहाँ वर्षाभर नियमित गाडी चल्दैनन् । नगरभित्रका सबै कच्ची सडक छन् ।

मुख्य सडक भालुवाङ–लामाताल, चक्ला–हर्रे–सिद्धारा, धानखोला–चक्ला, चक्ला–सिमलपानी, अमराइ–जलुके–जुकेनालगायत सबै सडकमा अहिले गाडी चल्दैनन् ।
‘गाडी चढ्न हिउँद नै पर्खनुपर्छ,’ सिद्धाराका स्थानीय एवं जिसस उपप्रमुख ऋषिबहादुर पुलामीले भने, ‘वर्षामा बर्सेनि बाढीले बाटो बिगार्छ । सडक माथिबाट पहिरोले पुरिदिने र तलबाट पहिरो खसेर सडक नै बगाएर लगेको छ ।’ सन्धिखर्क–गोरुसिँगे सडक खण्डको भेडामारेबाट हर्रेबर्रे हुँदै उपल्लो सिद्धारा, पाकुरीलगायत बस्तीमा हिउँदको बेला दैनिक गाडी चल्थे । दाङको भालुवाङबाट सिद्धारा, लामाताल, जलुके र जुकेना गाउँमा जाने सडक पहिरो र भेलले तहसनहस पारेको उनले बताए ।

जिल्लाको विकट बस्ती शीतगंगामै पर्छन् । बस्तीभन्दा चौगुना घना जंगल छ । पानी धेरै पर्छ । त्यसैले स्थानीय घण्टौं पैदल हिँडेर कपिलवस्तु, दाङ र सन्धिखर्क जान बाध्य छन् । साबिकको सिद्धारा गाविस जिल्लाकै २७ प्रतिशत भूगोल ओगटेको छ । नयाँ संरचना अनुसार तीनवटा वडामा विभाजित छ । एउटा बस्तीबाट अर्काे बस्तीमा पुग्न एकै दिनमा सकिँदैन । तीनवटा वडाका सबै सडक भेल र पहिरोले अवरुद्ध छन् ।

‘सिद्धाराबाट सन्धिखर्क, भालुबाङ, कपिलवस्तु र नगरपालिका कार्यालय पुग्न घण्टौं पैदल हिँड्नुपर्छ,’ शीतगंगा नगर–९ का वडाध्यक्ष भीम केसीले भने, ‘वर्षा सकिएर बाटो मर्मत गरेपछि बल्ल गाउँमा गाडी चल्छन् । बर्सेनि डोजर लगाएर बनाउनुपर्छ ।’ धेरै पानी पर्छ । चुरे क्षेत्र भएकाले वर्षामा कच्ची सडक पहिरो र भेलबाट जोगाइराख्न नसकिएको उनले बताए ।

‘जमिन नै कच्चो छ,’ उनले भने, ‘हिउँदमा जति मिहिनेत गरेर निर्माण गरे पनि वर्षामा बिग्रिहाल्छ ।’ वडाभरिको बस्तीमा पुग्ने सडक निर्माणका लागि नगरपालिकासहित वडाको बजेट ७० लाख रुपैयाँ छुट्याइएको उनले बताए । जमिन नै खुकुलो छ । टाढाटाढा र छरिएर बस्ती रहेकाले लामो दूरीका सडक छन् ।

सरकारी बजेट, सामुदायिक वनको काठ बिक्रीको आम्दानी, चन्दा उठाएर र रेमिट्यान्सको पैसाले गाउँमा पुगेको सडकलाई स्थानीयले टोलसम्म पुर्‍याएका छन् । शीतगंगाका गाउँमा ठाडाको अमराईबाट बस र जिप चल्छन् । असारयता गाडी चलेका छैनन् ।

पश्चिम नेपाल बस व्यवसायी संघ अमराई काउन्टरका प्रमुख नारायण बन्जालेले अमराईबाट नगरका १४ वटै वडामा बस चल्ने बताए । दैनिक दसवटा बस चल्छन् । अमराईबाटै देउराली यातायातका पनि दैनिक पाँच जिप चल्छन् । सन्धिखर्कबाट पनि उत्तिकै संख्यामा बस र जिप चल्छन् । बस चल्ने फराकिला बाटा पनि पानीको भेलले खोलेका छन् । वर्षा सकिएपछि बल्ल सडक मर्मत गरिन्छ ।

शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासले नगरभित्रका सडक निर्माणका लागि यस आर्थिक वर्षमा आठ करोड रुपैयाँ विनियोजन गरिएको बताए । उक्त बजेटबाट सडकको वाल लगाउने, नाली काट्ने, मोड सुधार गर्ने, पहिरोले पुरोका र भेलले खाल्डो पारेका सडक मर्मत गरिनेछ ।

लामिदमारका सुवर्ण मगर तीन वर्षमा कतारबाट घर फर्किए । वर्षाको बेला भएकाले १५ घण्टा पैदल हिँडेर घर पुगे । ‘पानी पर्‍यो, चिप्लिएर तीन ठाउँमा लडेँ,’ उनले भने, ‘घर आइपुग्दा सट र पाइन्ट हिलाम्मे भए । बाटो हिलो, पहिरो पन्छाएर हिँड्नुपर्दा लौरो सहायता चाहियो ।’ कतार जाने बेला हिउँद भएकाले घरदेखि पल्तिरबाटै बस चढेर गएको उनले बताए । ‘बिरामी पर्दा उपचारका लागि कपिलवस्तु र ठाडा जानुपर्छ,’ उनले भने, ‘सवारी साधनको अभावमा आपतै हुन्छ ।’ बोक्न नसकेर विदेशबाट ल्याएको सामान तराईमा आफन्तकहाँ छाडेर रित्तै घर आएको उनले बताए ।

‘हिउँद लागेपछि बल्ल गाडी चढ्न पाइन्छ,’ लामातालका सीता घर्तीले भनिन्, ‘वर्षामा बिरामी भएमा आपतै हुन्छ । डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजाने हो ।’ गाडी चलेको बेला ऋण काढेर नुन, तेल, चामल किनेर ल्याउनुपर्छ । पहिरोले बाटो भत्काएर, पुरेर र भेलले खोलेर खाल्डाखुल्डी पारेको समयमा सडकमा एक्लै हिँडडुल गर्न पनि डरमर्दो हुन्छ । ‘नगरपालिका भनेर के गर्नु † पहिरोले पुर्ने र च्याप्ने खतरा उत्तिकै छ,’ उनले भनिन्, ‘वर्षामा एक्लै हिँड्न त्रास छ ।’

अग्लो पहाड भएकाले बाढी, पहिरो र खोलाको उस्तै डर छ । दुम्सीका बिनबहादुर आलकी श्रीमती बिरामी भइन् । ‘चार जनाले डोकोमा आठ घण्टा पालैपालो बोकेर चक्ला पुर्‍यायौं,’ उनले भने, ‘त्यहाँबाट गाडीमा अढाई घण्टामा बुटवल लगेर उपचार गराइयो । निको भए पनि फर्केर घर कसरी पुग्ने होला भन्ने चिन्ताले सताउन थालेको छ ।’ पाँच वर्षदेखि उनको बस्तीमा मोटर आएको छ । तर, मोटर चढ्न भने नगरवासी भए पनि सधैं हिउँद कुर्नुपर्छ ।

मर्मत नहुँदा सडक जीर्ण
परासी– पश्चिम नवलपरासीमा बाढीका कारण अघिल्लो वर्ष नै बगाएका सडक मर्मत नहुँदा यस वर्ष थप क्षति पुगेको छ । जिल्लाको दक्षिणी भेगका अधिकांश सडकमा क्षति पुगेको हो ।महेशपुर–त्रिवेणी सडक खण्ड कालोपत्रे भएको दुई वर्ष भयो ।

अघिल्लो वर्ष खहरे खोलामा आएको बाढीले केही स्थानमा सडक नै बगायो । सरावल गाउँपालिका ७ भुजहवा र बुडन्तवापुरबीच पर्ने सडक भत्किए पनि कसैले चासो दिएनन् । वर्षा सकिएपछि माटो ल्याएर सडक पुरे पनि यस वर्ष फेरि बाढीले बाटो भत्कियो ।

तत्कालीन अवस्थामा जिल्ला विकास समितिमार्फत विश्व बैंकको सहयोगमा महेशपुर–त्रिवेणी सडक बनेको हो । तर, कालोपत्रे भएको वर्षमै बाढीले सडक बगार्‍यो ।

जिविसले बनाएको सडकमा स्थानीय तहको चुनावपछि गाउँपालिकाले बजेट विनियोजन नगरेपछि सडकको अवस्था थप जीर्ण बनेको स्थानीय शैलेन्द्र चौधरीले बताए । ‘थोरै क्षति भएकै समयमा मर्मत नगर्दा बर्सेनि बाढीले सडक बगाएको छ,’ उनले भने, ‘सामान्य ध्यान नपुर्‍याउँदा यात्रुलाई सास्ती छ ।’

भुजहवादेखि त्रिवेणी जोड्ने सडकको अवस्था पनि उस्तै छ । दक्षिण भेगका सुस्ता, प्रतापपुर, सरावल तीन गाउँपालिकाका स्थानीयले प्रयोग गर्ने सडक जीर्ण भए पनि मर्मत नभएको भन्दै स्थानीय आक्रोशित छन् । तीन गाउँपालिका जोड्ने सडक मर्मतमा प्रदेश सरकारको पनि ध्यान जानुपर्ने भुजहवाका देवेन्द्र यादवले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ १०:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT