कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अनुदानको मल कालोबजारी

बर्दिया — सरकारले उपलब्ध गराएको अनुदानको मल कालोबजारी गरेको पाइएको छ । कालोबजारी गरेको आरोपमा प्रहरीले बढैयातालस्थित साझा सहकारी संस्था लिमिटेडका सदस्य लक्षीराम रैदासलाई पक्राउ गरेको छ ।

अनुदानको मल कालोबजारी

संस्थाका अध्यक्ष हिमालय त्रिपाठीलाई पक्राउ गर्न निर्देशन दिए पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

गुलरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका त्रिपाठीलाई कालोबजारी ऐनअन्तर्गत कारबाही चलाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

किसानलाई बिक्री गर्दा सहकारीका पदाधिकारीको मिलेमतोमा रासायनिक मलमा कालोबजारी गरिरहेको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । लामो समयदेखि कृषि सामग्री संस्थानको गोदाममा मल छैन । किसान भारतीय बजारबाट गुणस्तरहीन युरिया मल किन्न बाध्य छन् ।

अध्यक्ष त्रिपाठीले समितिको बहुमत निर्णयबाट मलको मूल्य बढाएको बताए । सहकारीले अनुदानमा पाएको आठ सय रुपैयाँ प्रतिबोराको युरिया मल एक हजार रुपैयाँमा किसानलाई बिक्री गरिरहेको प्रमाण फेला परेको थियो ।

संस्थानले उपलब्ध गराएको मलमा प्रतिबोरा दुई सय रुपैयाँ बढी लिइरहेको प्रमाण प्रशासनले फेला पारेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । प्रशासनले मल बिक्री गर्ने कार्यमा संलग्न संस्थाका तीन जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

नियन्त्रणमा लिएका तीन कर्मचारीलाई अनुसन्धानपछि छाडिएको छ । संस्थागत निर्णय गरेर बिक्री वितरण गरेकाले कर्मचारी दोषी नभएकाले छाडिएको प्रजिअ कुरुम्बाङले वताए ।

बढैयाताल गाउँपालिका साझा सहकारी संस्था लिमिटेड, मैनापोखरले सरकारको ६५ प्रतिशत अनुदानमा किसानलाई बिक्री वितरण गर्दै आएको रासायनिक मल कृषि सामग्री संस्थान लिमिटेडले सहकारीमार्फत बिक्री वितरण गर्ने गरेको छ ।

कृषि सामग्री संस्थान लिमिटेड शाखा कार्यालय गुलरियाले आठ सय रुपैयाँ प्रतिबोरामा बिक्री गरिरहेको मल सहकारी संस्थाले ढुवानी भाडा र केही मुनाफा राखी किसानलाई बिक्री वितरण गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?