२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सातामा दुई ‘बलात्कृत’

बलात्कारजस्तो गम्भीर अपराधका मुद्दामा प्रमाण अभाव हुने गरेको छ
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा एक सातामा दुई किशोरीमाथि यौन दुव्र्यवहार भएका घटना बाहिर आएका छन् । नेपालगन्ज उपमहानगरभित्रै झारफुकका नाममा साइबाबा भनिने व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको सार्वजनिक भएको छ ।

सातामा दुई ‘बलात्कृत’

प्रहरीले बलात्कार आरोपमा झारफुक गर्नेलाई बिहीबार पक्राउ गरेको छ ।

त्यसअघि कोहलपुरका ७२ वर्षीय ज्येष्ठ नागरिकले नातिनी नाता पर्ने किशोरीलाई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । नेपालगन्जको घटना चार महिनापछि सार्वजनिक भएको हो ।

बिरामी किशोरीलाई झारफुक गर्ने बहानामा साइबाबाले बलात्कार गर्दै आएको आफन्तले जनाएका छन् । बिहीबार दिउँसो किशोरीको संवेदनशील अंगबाट रक्तस्राव भएपछि आफन्तले जानकारी पाएका हुन् । लगत्तै प्रहरीले झारफुक गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । ‘साइबाबाका नाममा यौन दुव्र्यवहार गर्नेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेका छौँ,’ जिल्लाका प्रहरी प्रमुख अरुण पौडेलले भने, ‘यौन दुव्र्यवहारका कतिपय घटना प्रमाण अभावमा कमजोर हुन्छन् । कतिपय पीडितले धम्कीका कारण बयान फेर्दा पीडकले उन्मुक्ति पाउँछन् ।’

यसअघि जिल्लामा महिलामाथि घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणलगायतका घटना भएका थिए । गत आर्थिक वर्षमा १९ जना महिलामाथि बलात्कार भएको थियो । ११ महिलामाथि बलात्कारको प्रयास भएको छ । यौनजन्य हिंसाका ३० घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता छन् ।

कारबाही जटिल
यस्ता घटनाका दोषीलाई कारबाही हुन सकेको छैन । बलात्कारजस्तो गम्भीर अपराधका मुद्दामा प्रमाण अभाव हुने गरेको छ । जनशक्ति र स्रोतसाधनको अभावमा यौनजन्य दुव्र्यवहारका घटनाको स्वास्थ्य जाँच रिपोर्ट दिन सहज नभएको चिकित्सकको गुनासो छ ।

यौन दुव्र्यवहारमा परेमा महिलाको स्वास्थ्य परीक्षण परम्परागत तरिकाले हुने गरेको छ । ‘बलात्कारबाट पीडितको स्वास्थ्य जाँच गर्नका लागि हामीसँग ल्याब छ,’ भेरी अञ्चल अस्पतालका चिकित्सक बद्री चापागाईंले भने, ‘तर, सुनियोजित तरिकाले घटाइएका यौनजन्य घटनाबाट पीडितको स्वास्थ्य जाँच गरी यौनजन्य दुव्र्यवहारका घटनामा यकिनसाथ रिपोर्ट दिन सक्ने अवस्था रहेको छैन ।’ स्वास्थ्य रिपोर्टकै कारण कतिपय त्यस्ता मुद्दाको परिणाम फरक पर्ने गरेको छ । स्वास्थ्य जाँच भरपर्दो रूपमा हुन नसक्दा बलात्कारमा संलग्न व्यक्तिले उन्मुक्ति पाइरहेको गुनासो सर्वसाधारणको छ ।

बलात्कारबाट पीडितलाई ढिलो गरी स्वास्थ्य जाँचका लागि ल्याउने गरेकाले पनि समस्या हुने गरेको हो । ढिलो हुँदा बलात्कारका प्रमाण नष्ट हुने गरेका छन् । अञ्चल अस्पतालमा फरेन्सिक चिकित्सक नहुँदा समस्या छ । उक्त अस्पतालमा दुईजना फरेन्सिकको दरबन्दी छ । फरेन्सिक अधिकृत र फरेन्सिक मेडिसिन अधिकृतहरू नहुँदा समस्या भएको भेरी अञ्चल अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए ।

जिल्ला प्रहरीका अनुसार गत आर्थिक वर्षमा बाँकेमा घरेलु हिंसाका २ सय ६२ घटना भएका छन् । तीमध्ये २ सय १६ महिलासँग सम्बन्धित छन् । १ सय ९४ घरेलु हिंसाका घटनामा मिलापत्र भएको प्रहरीले जनाएको छ । १५ हिंसाका घटना अदालत पुगेका छन् ।

अञ्चल अस्पतालकी नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले यौनजन्य घटनाबाट पीडितहरू स्वस्फुर्त रूपमा नभई प्रहरीमार्फत स्वास्थ्य जाँचका लागि आउने गरेको दाबी गरिन् । उनले यौनजन्य घटनाको स्वास्थ्य जाँचमा ढिलाइ गर्न नहुने सुझाव दिइन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?