१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुढेसकालमा ‘बोझ’

ज्ञान र दक्षताका भण्डार मानिने ज्येष्ठ नागरिक सबैभन्दा नजिक ठानिएका श्रीमान्/श्रीमती र छोराछोरीबाटै तिरष्कृत छन् ।
दुर्गालाल केसी

दाङ — घोराही ११ बाँसगजेरीका ८० वर्षीय दुर्गाप्रसाद पाण्डेले भएको सम्पत्ति श्रीमती र छोराका नाममा गरे । आखिर सम्पत्ति लिएर कहाँ जानु छ र भन्ने सोचे । तर, समय सोचेजस्तो नहुँदो रहेछ । पाण्डे मूत्रथैलीको समस्याले थलिए ।

बुढेसकालमा ‘बोझ’

चितवनका अस्पतालमा गएर शल्यक्रिया गर्नुपर्ने भयो । खर्च धेरै लाग्न थाल्यो । त्यसपछि श्रीमती, छोरा र बुहारी घरजग्गा बेचेर बर्दिया गए । उनी एक्ला भए । ‘मनले उनीहरू खोज्दै जान मानेन । तीन वर्षजति भाइ र आफन्तको घरमा माग्दै खाँदै गरें,’ उनले भने, ‘तर, त्यसरी सधैं चल्ने अवस्था भएन । शारीरिक अस्वस्थताका कारण काम गरी खाने स्थिति भएन ।’

गत वर्ष बसाइँ सरेको ठाउँ खोज्दै बर्दिया पुगे । ‘त्यहाँ पनि छोरा र आमाको छुट्टाछुट्टै घर रहेछ । एक महिना बस्दा पनि श्रीमतीले मतलब गरिनन्,’ उनले भने, ‘सबै दिक्क भएजस्तो लाग्यो । त्यसपछि किन बस्नु भनेर दाङ फर्कें । भाञ्जीले वृद्धाश्रममा ल्याएर राखिदिइन् ।’ गत असोजदेखि उनी घोराही १६ तेरौटेस्थित आश्रममा छन् ।

आश्रममा आएपछि उनले छोराको निधन भएको खबर पाए । तर, बर्दिया जान सकेनन् । छोरीको पहिले नै निधन भइसकेको थियो । यहाँ रहेको छोराको नामको तीन कट्ठा जग्गा बिक्री गर्न बाँकी थियो । उक्त जग्गा लिने क्रममा नाति/नतिना आश्रममै आए तर घर जाऔं भनेनन् । ‘श्रीमती वडा कार्यालयसम्म आएकी रहिछन् तर यहाँ आइनन्,’ उनले भने, ‘बुढेसकालमा सबैभन्दा नजिकका भन्नेले पनि हेला गर्ने रहेछन् ।’ श्रीमती लीलावती उनीभन्दा १२ वर्ष कान्छी छन् । श्रीमतीको उमेर भएकाले बेवास्ता गरेको उनले गुनासो गरे ।

वृद्ध अवस्थामा असहाय भएर वृद्धाश्रम पुगेकी रुकुम नुवाकोटकी ७६ वर्षीया लली चन्द । तस्बिर : दुर्गालाल

उमेरमा कमैया, बुढेसकालमा बेसहारा
घोराही १४ लुहासुरमाका होलप्रसाद चौधरी एउटै घरमा २२ वर्ष कमैया बसे । उनका बाबु पनि त्यही घरमा कमैया थिए । जमिन्दारकै घरमा बुबा र उनकी पत्नी कल्चीको मृत्यु भयो । कमलरी अवस्थामै दुई छोरीको विवाह भयो । सबैले छोडदै गएपछि उनी एक्लिए ।

‘उमेर ढल्कँदै गयो, काम गर्न गाह्रो भयो, त्यसपछि कमैया छाडेर छोरीको घरमा बस्न थालें,’ उनले भने, ‘छोरीको घरमा सजिलो भएन । विस्तारै राम्रो मान्न छाडे अनि बेवारिसे भएँ ।’ छोरीहरूले हेरचाह गर्ने अवस्था नदेखेपछि उनी दुई वर्षअघि वृद्धाश्रममा पुगे ।

दमको रोगले ग्रस्त छन् । राम्ररी बोल्न सक्दैनन्, केही पाइला हिँड्न सक्दैनन् । उमेर पनि उनलाई राम्ररी थाहा छैन, ‘७० वर्ष पुगें कि †’ भन्ने अनुमान गर्छन् । अरूले कमैयाबापत जग्गा पाए तर उनी अनपढ थिए, केही थाहा पाएनन् । ‘अरूले जग्गा पाएछन्, म त्यतिबेला पनि कमैया बसिरहेकै थिएँ । केही थाहा भएन,’ उनले भने, ‘जमिन्दारले नाम दर्ता गरिदिएको भए हुन्थ्यो । आफ्नो घरजग्गा कतै छैन । काम गर्न नसक्ने भएपछि वृद्धाश्रममा नआई सुखै भएन ।’

वृद्धाश्रममा आएको दुई वर्षसम्म पनि छोरीहरू भेट्न आएका छैनन् । बुढेसकालको अवस्था सम्झेर भक्कानिन्छन् । ‘न आफ्नो घरवास भयो, न कोही भरोसा । उमेर हुँदासम्म अर्काको घरमा कमैया भइयो, अहिले घर न घाटको,’ उनले भने, ‘उमेर गएपछि कसैले पनि हेर्दो रहेनछ । सबैले कामलाई माया गर्दा रहेछन् ।’ पुस्तादेखि कमैया बसे पनि अहिले उनको साथमा केही छैन । न बुबाको साथमा थियो ।

काम गर्दासम्म पेट पाल्नसम्म सके तर बुढेसकालमा केही बाँकी रहेन । ‘बुबाको त काम गर्दागर्दै जमिन्दारकै घरमा मृत्यु भयो र सुख पाउनुभयो,’ उनले भने, ‘म बाँचेर दु:ख पाएँ । न मर्न सकिन्छ, न बाँचेर सन्तोष छ ।’ नागरिकता पनि जमिन्दारले नै बनाइदिए । ०२५ सालको जन्ममिति लेखाइ दिएछन् । अहिले वृद्धभत्ता खानलाई समेत उमेर पुगेको छैन । सबै अर्काको भर पर्नुपर्ने अवस्थाले उनले अहिले दु:ख पाइरहेका छन् ।

जीवनभर कमैया बसेर बुढेसकालमा बेसहारा भएका घोराहीका ७० वर्षीय होलप्रसाद चौधरी । तस्विर : दुर्गालाल

समाजकै अपहेलना
कुष्ठ रोग लागेपछि लली चन्द रुकुमको नुवाकोट चौताराबाट घोराही झरिन् । उपचार गरिन् तर गाउँ फर्कने अवस्था भएन । ‘कोही पनि मेरो नजिक आउँदैनथे । मलाई छिछिदुरदुर गर्थे । आफन्तहरूले समेत टाढैबाट हेर्थे,’ उनले भनिन्, ‘उपचारपछि तीनपटक रुकुम गएँ तर बस्ने अवस्था भएन । छोराबुहारीले पनि पाल्लान्जस्तो लागेन अनि फर्केर दाङ नै आएँ ।’ ०५४ मा श्रीमान्को मृत्यु भएपछि झन् उनको सहारा कोही भएन ।

केही समय दाङमै कान्छो छोरालाई पालेर बसिन् तर उक्त छोरा पनि भारततिर भासिएपछि उनी पनि वृद्धाश्रममा पुगिन् । २१ नातिनातिना र १२ पनातिपनातिना देखिसकेकी ७६ वर्षीया चन्द अहिले बेसहारा छिन् । ‘ज्योतिषीले ८५ वर्ष बाँच्छेस् भनेका छन्, कसरी बाँच्ने होला ? मलाई त दिन काट्नै गाह्रो भयो,’ उनले भनिन्, ‘अब त छिट्टै जान पाए हुन्थ्यो जस्तो लाग्छ । यो दु:खी दिन कति लम्ब्याउनू ?’

वृद्धाश्रमबाट घोराही बजारसम्मको दूरी चार किलोमिटर हो । बल्लबल्ल सेवार खोला पार गरेर सडकछेउमा लामो समय गाडी कुर्दा पनि रोकिँदैन । ‘नजिकको यात्रा भनेर गाडीले रोक्नै मन गर्दैनन् । रोकिहाले पनि चढ्न र ओर्लन साह्रै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘गाडीमा बस्ने ठाउँ पाइँदैन । धकेलाधकेल हुन्छ । चढ्नै गाह्रो, चढे ओर्लन गाह्रो ।’ सरकारी कार्यालयमा सेवा लिन पुग्दा पनि भीडभाड र अस्तव्यस्तता उस्तै । ‘लट्ठी टेक्दै कार्यालय पुगे पनि कता के काम हुन्छ, थाहा हुँदैन,’ उनले भनिन्, ‘यता सोध्यो, उता पठाउँछन्, उता सोधे यता । हामीलाई कामै गराउन गाह्रो हुन्छ । बूढाबूढीलाई सजिलै काम गराइदिऔं भनेर सोच्ने मान्छे नै कम छन् ।’

घोराही १८ मसिनाकी ६० वर्षीया लालकुमारी पुरी पनि बुहारीसँग बसिखान सक्ने अवस्था नभएपछि एक वर्षअघि वृद्धाश्रम पुगिन् । ‘श्रीमान् अर्को विवाह गरेर भारत पसेको १५ वर्ष बित्यो । एक मात्र छोरो पनि भारतमै छ । घरमा बुहारीले राम्रो मानिन,’ उनले भनिन्, ‘घरमा गाली खाएर बस्नुभन्दा वृद्धाश्रम नै बेस । जति बाँचिन्छ यहीं बाँच्ने । अब कतै जान्नँ ।’

घरकाले नै हेला गरेपछि समाजमा वृद्धवृद्धालाई झनै अपमान खेप्नुपर्ने अवस्था रहेको उनले बताइन् । ‘आफ्नै नजिकका मान्छे र सन्तानले हेला गरेपछि अरूले के राम्रो मानून् ?,’ उनले भनिन्, ‘हामीलाई सबैतिरबाट बेवास्ता छ, कसैले केही हेर्दैन ।’

सम्मान र संरक्षणको अभाव
समाज र राज्यले ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षण गर्न नसकेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरी बताउँछन् । समाजमा ज्येष्ठ नागरिकलाई बोझका रूपमा लिने प्रवृत्ति बढदै गएको उनले बताए । ‘ज्येष्ठ नागरिकसँग विभिन्न ज्ञान र दक्षताको भण्डार छ । त्यसलाई ग्रहण गर्न सकेमा नयाँ पुस्तालाई मार्गदर्शन हुन्छ तर यहाँ तिरस्कार गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘वृद्धवृद्धा सडकमा आइरहेका छन् । सन्तान विभिन्न अवसर खोज्दै विदेशिइरहेका छन् । यसले समाजलाई सही दिशामा लैजाँदैन ।’

नयाँ पुस्तालाई वृद्धवृद्धाको सम्मान र स्याहारबारे प्रशिक्षित गर्न आवश्यक रहेको उनले बताए । विद्यालय पढदै गरेका बालबालिकालाई ज्येष्ठ नागरिकप्रतिको दायित्वबारे सिकाउन आवश्यक रहेको उनको बुझाइ छ । ‘कतिपय बालबालिकालाई वृद्धाश्रममा ल्याएर वृद्धवृद्धा सँग अन्तक्र्रिया गराउन पनि थालिएको छ,’ उनले भने, ‘यसले केही शिक्षा त अवश्य दिन्छ । यो शिक्षा अब सबैले दिन जरुरी छ ।’

सार्वजनिक सेवामा पनि ज्येष्ठ नागरिक प्राथमिकता पर्न नसकेको उनले बताए । स्वास्थ्य सेवा र गाडीमा आरक्षण तथा छुट पाउन साह्रै समस्या रहेको उनले बताए । ‘अस्पतालमा घण्टांै लाइन लाग्नुपर्छ । उपचारमा सहुलियत पाउन पनि धेरै गाह्रो छ,’ उनले भने, ‘गाडीमा ज्येष्ठ नगारिक सिट लेखे पनि बस्न पाइँदैन । यसमा कोही गम्भीर छैन । भाडामा छुट माग्दा त झगडा नै गर्छन् ।’ आफैं असहाय भएका ज्येष्ठ नागरिकले सहजै सेवा पाउन झनै कठिन भएको उनले बताए ।

स्थानीय तहले दिवा जमघट केन्द्र बनाएर ज्येष्ठ नागरिकका अनुभवलाई संरक्षण गर्न सक्ने उनको सुझाव छ । ‘हरेक वडाले ज्येष्ठ नागरिक दिवा जमघट केन्द्र बनाएर उनीहरूका अनुभव र सीपहरू ग्रहण गर्न सक्छ,’ उनले भने, ‘उनीहरूसँगको बहुमूल्य अनुभव बचाइराख्न आवश्यक छ । उनीहरूप्रतिको सम्मान र संरक्षण पनि सबैले सिक्न आवश्यक छ ।’

प्रकाशित : भाद्र २३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?