कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँका सडक हिलाम्य

गिरुप्रसाद भण्डारी

प्यूठान — बाग्दुला–मच्छी सडक हिलाम्य बनेपछि गाडी सञ्चालनमा समस्या देखिएको छ । पहिरो हटाइएको छैन । हिलोमाथिबाट यातायातका साधन सञ्चालन गरिएकाले सडकको बेहाल छ ।

गाउँका सडक हिलाम्य

मरन्ठानादेखि मच्छी र मच्छीदेखि ढाँडसम्मको बाटो काम नलाग्ने बनेको ओखरकोट, दारिमचौरका पदम खड्काले बताए ।

‘सडक दिनदिनै बिग्रिरहेको छ,’ उनले भने, ‘असारयता खाडल पुरिएका छैनन् ।’ बस, ट्रक हिलोमा फस्ने र साना जिप, मोटरसाइकल डुब्नाले यात्रुले दु:ख पाइरहेका छन् । जिल्ला प्राविधिक कार्यालय अन्तर्गत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरडीपी) मार्फत सडक मर्मतका लागि राखिएका कर्मचारी हटेपछि यस्तो बेहाल भएको हो ।

‘ती कर्मचारीले पहिरो पन्छाउने, नाला तर्काउने काम गर्थे,’ खडकाले भने, ‘उनीहरूले असारदेखि काम नगरेपछि सडकको बिजोग भएको हो ।’ प्यूठान नगरपालिका ९ स्थित मरन्ठाना र झिमरुक गाउँपालिका ६ चिसाबाङ मच्छी क्षेत्रमा सडक धेरै बिग्रिएको तुसाराका शंकर थापाले बताए । ‘पानी परेका बेला सडकमा पैदल हिँड्न सकिँदैन,’ उनले भने, ‘स्थानीय सरकारको ध्यान पुगेको छैन ।’ उनले आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहले मर्मत नगर्दा दु:ख पाएको बताए ।

मरन्ठाना–चिसाबाङ मच्छी क्षेत्रको सडक बाग्दुला भीमगिठे सडक आयोजना अन्तर्गत पर्ने भएकाले वडाबाट मर्मतमा बजेट विनियोजन नगरेको झिमरुक गाउँपालिका ६ का वडाध्यक्ष निमानसिङ जीसीले बताए । ‘आयोजनामा परेकाले खाडल पुर्नेसमेत बजेट राखेनौं,’ उनले भने, ‘हिजोआज हिलो र खाडलले निकै समस्या भइरहेको छ ।’ उनले आयोजनामार्फत काम चाँडै अगाडि बढाउन पहल गरेको बताए ।

बिजुवार–­ढुंगेठाटी–रोल्पा सडक पैदल हिँड्नसमेत नमिल्ने गरी बिग्रेको प्यूठान नगरपालिका ५ ढुंगेठाँटीका सानुकुमार भण्डारीले बताए । ‘हिजोआज यो सडक कसैले हेर्दैन,’ उनले भने, ‘धेरै ठाउँमा सडक भैंसी खाल बस्ने खाडल बनेका छन् ।’ सडकमा थुप्रिएको हिलोका कारण जनताले धेरै दु:ख पाएको उनले बताए ।

जिल्लामा ७ ग्रामीण सडकमा ७५ सडक मर्मत सम्भारकर्ता थिए । उनीहरूले दैनिक ५ सय ५० रुपैयाँका दरले महिनमा २६ दिनको ज्याला पाउँथे ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?