विश्वकर्मालाई दाङ ल्याइयो

दाङ — अदालतले छोड्न आदेश दिए पनि पटकपटक पक्राउ परिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई शुक्रबार बेलुका दाङ ल्याइएको छ ।

विश्वकर्मालाई दाङ ल्याइयो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोटका मुद्दामा विश्वकर्मालाई भोजपुरबाट गाडीमा दाङ ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए ।

निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम विस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर १२, क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम विस्फोटबारे लेखिएको भेटिएपछि दाङ ल्याइएको शर्माले बताए ।

आइतबार अदालतमा पेस गरी अनुसन्धान थालिने उनले बताए । पत्रकारलाई फोटो खिच्न पनि नदिएर विश्वकर्मालाई गाडीमा जिल्ला प्रहरी कार्यालयभित्र लगिएको थियो । जिल्ला प्रहरी परिसरमा गाडीभित्रैबाट पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै विश्वकर्माले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको बताए । सरकारले गलत काम गरिरहेको र आफूलाई अनावश्यक दु:ख दिइरहेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित नौ जना घाइते भएका थिए । देउवा हेलिकप्टरबाट टरिगाउँ विमानस्थलमा अवतरण गरी गाडीमा अरनिको मैदानस्थित सभालाई सम्बोधन गर्न जाँदा तुलसीपुर उपमहानगरपालिका–५ घ लाइनमा बम विस्फोट भएको थियो । विस्फोटपछि देउवा हतारहतार सम्बोधन गरी हिँडेका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?