एउटै कोठामा ५ ताला

माधव अर्याल

काठमाडौँ — जिल्ला अस्पतालमा एउटा कोठा खाली भएपछि आवासका लागि कर्मचारीबीच लुछाचुँडी चलेको छ । उक्त कोठा आफूहरूले पाउनुपर्ने दाबी गर्दै पाँचवटा ताल्चा लगाएका छन् ।

एउटै कोठामा ५ ताला

नर्सिङ अधिकृत अस्मिता बोगटी बस्दै आएको कर्मचारी निवास उनले छाडेलगत्तै करारका डाक्टर, तथ्यांक रेकर्डरदेखि स्टाफ नर्स, सिनियर अनमीले दाबी गरेका हुन् ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको पत्रलाई समेत बेवास्ता गर्दै आफूहरूले पाउनुपर्ने माग उनीहरूको छ । ‘नर्सिङ स्टाफका लागि बनेको भवन र क्वार्टर हो,’ एक कर्मचारीले भने, ‘तर, अहिले गाईजात्राजस्तै भएको छ ।’ एउटा कोठा निवासका लागि करारका डाक्टरद्वय इन्दिरा देवकोटा र विष्णु पाठकले दाबी गरेका छन् । तथ्यांक रेकर्डर रोहित घिमिरेको पनि यही कोठामा दाबी छ । स्टाफ नर्स सरस्वती घिमिरेले पनि यही कोठा दाबी गर्दै ताल्चा लगाएकी छन् । सिनियर अनमी मीना बजिमयको पनि यही कोठामा बस्न पाउनुपर्ने दाबी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

नर्सिङ स्टाफहरूको पुरानो निवास भत्काएकाले अहिले उनीहरूले नयाँ बनेको भवनमा लुछाचुँडी गरेका हुन् । विगतमा विवाद हुँदै आएपछि स्वास्थ्य सेवा विभागले समेत २४ घन्टा बर्थिङ सेन्टर, इन्डोर, सिफ्ट ड्युटी गर्ने नर्सिङ कर्मचारीको प्रयोजनमा ल्याउन पत्र पठाएको छ । ‘सुरक्षाका दृष्टिले समेत अस्पतालको प्रांगणमा रहेको भवन नर्सिङ कर्मचारीले प्रयोग गर्नु उपर्युक्त हुने भनी स्वास्थ्य सेवा विभागको भदौ ६ मा निर्णय हुँदा निर्णयानुसार हुन अनुरोध छ,’ विभागका निर्देशक रमेशप्रसाद अधिकारीले पठाएको पत्रमा उल्लेख छ ।

अत्यावश्यक ड्युटीमा खटिनेहरूका लागि आवासको व्यवस्थाका लागि यो भवन निर्माण भएको हो । यहाँ पहिला नर्सिङ कर्मचारीको निवास थियो । ‘एउटा क्वार्टरमा डाक्टर र नर्सहरूले पाँचवटा ताल्चा लगाउनु कति उचित हो,’ एक नर्सिङ कर्मचारीले भनिन्, ‘नर्सिङ स्टाफको क्वार्टरमा यस्तो विवाद गर्नु गलत हो ।’ नर्सिङ कर्मचारीको क्वार्टरमा पुरुष बस्दा सुरक्षाका दृष्टिकोणले समेत गलत हुन्छ । करारका डाक्टरहरूको सुविधाका लागि नर्सिङ कर्मचारीको क्वार्टर हडप्न खोज्नु गलत हुने उनले बताइन ।

स्वास्थ्य सेवा विभागको निर्देशनलाई समेत अस्पताल प्रशासनले अटेरी गर्दै आएको छ । पाल्पा अस्पतालका प्रमुख डा.पुष्पराज ज्ञवालीले केही दिनदेखि आफू जिल्लाबाहिर रहेकाले यस सम्बन्धमा विस्तृत रूपमा बुझिनसकेको बताए । ‘म जिल्लाबाहिर छु,’ उनले भने, ‘केही दिनमा जिल्ला फर्केर बुझेपछि ठयाक्कै के भएको हो भन्न सक्छु ।’

पाल्पा अस्पतालमा स्थायी दुई जना डाक्टर छन् भने पाँच जना करारका छन् । छात्रवृत्तिमा पढेका डाक्टर अनिवार्य सेवाअन्तर्गत यहाँ आउने गर्छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?