कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुम्लाबाट स्याउ बेच्न प्यूठान

गिरुप्रसाद भण्डारी

काठमाडौँ — मूल्य नपाएपछि जुम्लाका किसान स्याउ बेच्न प्यूठान झरेका छन् । त्यहाँ भाउ नपाएपछि यहाँको बाग्दुलामा आएको उनीहरूले बताए । जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ की अनीता दाहाल, मैना खत्री र देविका काफ्ले ३०/३० कार्टुन स्याउ लिएर बुधबार प्यूठान नगरपालिका ७ स्थित बाग्दुला बजारमा झरेका छन् ।

जुम्लाबाट स्याउ बेच्न प्यूठान

यसपालि जुम्लामा धेरै स्याउ फलेकाले उता भाउ नपाएपछि बजार खोज्न यता झरेको उनीहरूको भनाइ छ । जुम्लामा अहिले त्यहाँको स्याउ २५/३० रुपैयाँ प्रतिकिलो भन्दा माथि छैन । कपिलवस्तुको कृष्णनगर हुँदै भारतबाट भित्रिएको स्याउ प्यूठानका बजारमा २ सय २० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । प्यूठानमा स्याउको बजार राम्रो छ । प्यूठानका केही किसानले फाट्टफुट्ट मात्र स्याउ लगाए पनि अझै बजारमा आउने गरी उत्पादन गर्न सुरु गरिसकेका छैनन् ।

यसले गर्दा जुम्लाका किसानले १ सय १० रुपैयाँ प्रतिकिलोमा दिएकाले ग्राहक जुम्लाका स्याउप्रति आकर्षित भएका हुन् । सस्तो, राम्रो र ताजा स्याउ भएकाले जुम्लाका स्याउ ग्राहकले मन पराएको बाग्दुलाका व्यापारी प्रमोद पोख्रेलले बताए । ‘किसानले फलाएको स्याउ ग्राहकसम्मै ल्याइएकाले बिचौलियाले नाफा नखाएका कारण भाउ सस्तो परेको हो,’ पोख्रेलले भने, ‘सस्तो र ताजा भएकाले सबैले १५/२० किलो किनेर राखेका छौं ।’ उनले दुई कार्टुन स्याउ किनेर राखेको बताए । उनका अनुसार बाग्दुलाका धेरै जनाले जुम्लाका स्याउ किनेका छन् । जुम्लामा गाडी पुगेसँगै स्याउ बिक्री गर्न बाहिरी जिल्ला लैजान थालेको किसान मैना खत्रीले बताइन् । ‘स्याउ बगैंचानजिकै गाडी पुगेका छन्,’ उनले भनिन्, ‘जुम्लाबाट सीधै कोहलपुर झरेर प्यूठानको गाडीमा लोड गरेर आएका हौं ।’

स्याउ बिक्री गर्न प्यूठान झरेकी अनिता दाहालले सस्तोमा बिक्री गर्नुभन्दा दुई/चार रुपैयाँ भए पनि बढी पार्न बजार खोज्दै यहाँ आएको बताइन् । गत वर्ष पनि यही सिजनमा दुई खेप स्याउ प्यूठान ल्याएर बिक्री गरेको उनले सुनाइन् । कालिकोट, दैलेख, सुर्खेत, बाँके हुँदै प्यूठान आउने गरेको देविका काफ्लेले बताइन् ।

‘गाडी भाडा, होटल खर्च सबै कटाए पनि उता बिक्री गरेको भन्दा चौगुणा मूल्य यहाँ पर्छ,’ उनले भनिन्, ‘समयमै बिक्री भए यसपालि दुई/चार खेप गर्ने योजना छ ।’ बगैंचामा राम्रो स्याउ फलेकाले विगतमा भन्दा धेरै कमाइ हुने उनले बताइन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?