२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेकपा प्रवक्ता विश्वकर्मालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

दुर्गालाल केसी

दाङ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आइतबार दाङ देउखुरी जिल्ला अदालत पेश गरिएको छ । 

नेकपा प्रवक्ता विश्वकर्मालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोट मुद्दामा विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।


विश्वकर्मालाई शुक्रबार भोजपुरबाट दाङ ल्याइएको थियो । भोजपुरबाट हिडेको दिन बुधबारबाट आठ दिनको म्याद थप भएकाले अब प्रहरीलाई तीन दिन मात्रै समय बाँकी छ । आइतबारसम्म पाँच दिन बितिसकेकाले तीन दिनमा यथेष्ट प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ ।


शुक्रबार कार्यालय बन्द भएकाले आइतबार अदालत पेश गरिएको जिल्ला प्रहरी प्रमुख एस्पी कृष्णहरी शर्माले बताए । निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम विस्फोटबारे लेखिएको भेटिएपछि दाङ ल्याइएको प्रहरीले जनाएको छ ।


तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित ९ जना घाईते भएका थिए ।


देउवा हेलिकप्टरबाट टरिगाउँ विमानस्थलमा अवतरण गरी गाडीमा अरनिको मैदानस्थित सभालाई सम्बोधन गर्न जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–५ घ लाईनमा बम विस्फोट भएको थियो ।

प्रकाशित : भाद्र २४, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?