झुक्याएर मानव अंग तस्करी

मिर्गौला प्रत्यारोपण गर्दा अंगदाता र ग्रहण गर्ने व्यक्तिको सम्पूर्ण कुरा जाँच गर्न आवश्यक भए पनि कतिपय अस्पताल र प्रत्यारोपणमा संलग्न चिकित्सकले सबै प्रक्रिया पूरा नगर्दा दुवै खतरामा
माधव ढुंगाना

भैरहवा — तस्कर तथा दलालले सर्वसाधारणलाई झुक्याएर र प्रलोभनमा पारेर मिर्गौलाको कारोबार गरिरहेको मानव अंग प्रत्यारोपण क्षेत्रमा कार्यरत चिकित्सकले बताएका छन् ।

झुक्याएर मानव अंग तस्करी

नेपालमा मिर्गाैलाको अवैध कारोबार एवं त्यसको अवस्थाका बारेमा जानकारी दिने र सचेतना जगाउने उद्देश्यले शनिबार यहाँ एक कार्यक्रमको आयोजना गरियो ।


मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका सर्जन चिकित्सक प्रवीण जोशीले दलालले आर्थिक अभावले पिरोलिएका परिवार पत्ता लगाएर मिर्गौलाको अवैध कारोबार गरिरहेको बताए ।


‘२०७२ को भूकम्पपछि प्रलोभनमा परेर मिर्गाैला बिक्री गर्नेको संख्या बढेको छ,’ जोशीले भने, ‘यसको कारण गरिबी नै हो । दलालले समस्यामा परेका व्यक्ति तथा परिवारलाई पहिलो निशाना बनाउने गरेका छन् ।’ उनका अनुसार नेपालमा २५ हजार रुपैयाँमा मिर्गाैला बिक्री गर्ने गरेको पाइएको छ ।


मिर्गौलाको प्रत्यारोपण गर्दा अंगदाता र ग्रहण गर्ने व्यक्तिको सम्पूर्ण कुरा जाँच गर्न आवश्यक भए पनि कतिपय अस्पताल र प्रत्यारोपणमा संलग्न चिकित्सकले सबै प्रक्रिया पूरा नगर्दा दुवै जना खतरामा पर्ने गरेका छन् ।


अंगदाताबाट मिर्गौला
झिकेपछि नियमित रूपमा घाउको जाँच गर्नुपर्नेमा दलालको प्रलोभनमा बिक्री गर्ने अंगदाताले घाउ जाँच नगराउनाले अन्य रोग बल्झेर समस्यामा पर्ने गरेको जोशीले बताए । दलालले अंगदातालाई सुरुमा धेरै पैसाको प्रलोभन दिने तर मिर्गौला निकालिसकेपछि कम रकम दिने र अंग ग्रहण गर्नेबाट अत्यधिक रकम असुल्ने गरेका छन् ।


कतिपयलाई मिर्गौला निकाल्ने जानकारी नै नगराई दलालले कागजात तयार पारी प्रत्यारोपण गराउन बेडमा सुताइएको बेलामा चिकित्सकले ‘तपाईं मिर्गौला दिन तयार हुनुहुन्छ ?’ भनेर सोध्दा अंगदाता झस्केर आफूलाई झुक्याइएको बताउने गरेको जोशीले बताए । ‘अन्तिम अवस्थामा अंगदान गर्न भनिएको व्यक्तिलाई सोध्दा फर्जी कागजात तयार पारेको पोल खुलेका घटना मुलुककै अस्पतालमा पाइन थालेका छन्,’ जोशीले भने, ‘यसरी पोल खुलेपछि गत वर्ष कानुनी प्रक्रिया अनुरूपको कारबाही अघि बढाइँदा ६ जनामाथि कारबाही भएको छ ।’ वैदेशिक रोजगारीबाट फर्केका कतिपय नेपाली र अपहरणमा परेका कतिपय व्यक्तिको स्वास्थ्य जाँचका क्रममा एउटा मिर्गौला झिकिसकेको पाइएको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?