कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नक्कली नागरिकता: मन्त्रालयबाट फाइल गायब

छानबिनमा कर्मचारीबाटै कमजोरी भएको ठहर भएपछि प्रशासनले कारबाही गर्न र नागरिकता खारेज गर्न पत्राचार गरे पनि अहिलेसम्म कुनै कारबाही भएको छैन 
कमल पन्थी

बर्दिया — झूटो विवरण पेस गरेर नागरिकता लिएको विषयमा गम्भीर छानबिन नहुँदै गृह मन्त्रालयबाटै फाइल हराएको छ । छानबिनमा ‘कमजोरी’ देखिएपछि नागरिकता खारेज गर्न स्थानीय प्रशासनले अहिलेसम्म ६ पटक मन्त्रालयमा पत्राचार गरेपनि फाइल नै गायब भएको हो ।

नक्कली नागरिकता: मन्त्रालयबाट फाइल गायब

राजापुर १ बजार क्षेत्रमा २०६३ र ०७० को टोलीले नागरिकता वितरण गरेको थियो । पाँच नेपाली नागरिकले ‘नेपाली हो’ भनेर हस्ताक्षरसहित सनाखत गरिदिएपछि टोलीले नेपाली नागरिकता प्रदान गर्ने प्रावधान थियो । त्यसैको फाइदा उठाउँदै झन्डै १ सय २५ गैरनेपालीले झूटो विवरण पेस गरेर नागरिकता लिएको खुलेको थियो । गैरनेपालीले नागरिकता लिएको भन्दै केही दिनमै स्थानीय प्रशासन र अख्तियारमा समेत उजुरी पर्‍यो ।


छानबिनमा कर्मचारीबाटै कमजोरी भएको ठहर भएपछि प्रशासनले कारबाही गर्न र नागरिकता खारेज गर्न पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै कारबाही नभएको र उल्टै फाइल नै फेला नपरेको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘कारबाहीको पत्र नआएको र अहिले उल्टै फाइल हराएको जानकारी आएको छ,’ उनले भने, ‘१२ वर्षअघिकै छानबिनका क्रममा कमजोरी देखिए पनि अहिलेसम्म कारबाही भएन ।’


उनका अनुसार नेपाली सीमानजिक रहेका भारतका बहराइच र लखनउलगायत क्षेत्रका बासिन्दाले झूटो विवरण पेस गरी नागरिकता लिएको खुलेको छ । नागरिकता लिने अधिकांशको भारतमा आधार कार्ड र मतदाता सूचीमा नाम फेला परेको थियो ।


टोलीबाट नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालय राजापुरका तत्कालीन प्रशासकीय अधिकृत मुरलीधर पुरीले फ्रिज उपहार लिएर गैरनागरिकलाई नेपाली नागरिकता वितरण गरेको उजुरी परेको थियो । मामा हनिफ सिद्दिकीले भाञ्जी सना सिद्दिकीलाई छोरी बनाएर नागरिकता दिलाएका थिए । छानबिनपछि सनाको नागरिकता खारेज भयो । तर, अधिकृत पुरीसहित नक्कली बाबु र सिफारिस गर्ने कर्मचारीलाई कसैलाई कारबाही भएन ।


०६३ को टोलीले जिल्लामा वंशजका आधारमा ३५ हजार ६ सय १५ र जन्मसिद्धका आधारमा २ हजार ७ सय ९९ जनालाई नागरिकता वितरण गरेको थियो । तीमध्ये गुलरियाबाट १ हजार ७ सय ४१ जनाले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका थिए । टोलीबाट वितरण गरिएको विवादास्पद गैरनागरिकको नागरिकताको अनुसूचीसमेत स्थानीय प्रशासन र नगरपालिकाबाट समेत गायब छ ।


गैरनागरिकले नागरिकता पाएको फाइल नै गायब भएपछि वास्तविक नागरिक मर्कामा परेका छन् । त्यतिबेला टोलीले राजापुर बजारमा वितरण गरेका नागरिकतामध्ये ४ सय ३८ को नागरिकता छानबिनमा परेको छ । नागरिकता छानबिनमा परेपछि उनीहरू जग्गाधनी पुर्जा पाउनबाटै वञ्चित छन् ।


राजापुर नगरपालिकाका प्रमुख शिवकुमार चौधरीले राज्यले नै गैरनागरिकलाई नागरिकता दिएर वास्तविक नेपालीलाई पीडित बनाएको बताए । ‘झूटो विवरण पेस गरेर नागरिकता लिनेलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘तर, छानबिन नै नगरी उल्टै वास्तविक नेपालीका नागरिकताका फाइलसमेत गायब पारेर पीडित गराउने काम भएको छ ।’ झूटो विवरण पेस गर्नेलाई कारबाही र वास्तविक नेपालीको नागरिकता फुकुवा गर्न उनले माग गरे ।


लामो समयसम्म पनि झूटो विवरण पेस गरेर नागरिकता लिनेलाई कारबाही नभएपछि उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीसहितको टोलीले दोषीलाई कारबाही र वास्तविक नेपालीको नागरिकता फुकुवा गर्न माग गर्दै एक महिनाअघि गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो । स्थानीय प्रशासनको छानबिनमा झूटो विवरण पेस भएका बाहेक अन्यका नागरिकता फुकुवा हुनुपर्नेमा उल्टै फाइल नै हराएको जानकारी आएकाले गृह मन्त्रालयकै भूमिका शंकास्पद देखिएको संघका अध्यक्ष रेग्मीले बताए ।


‘अब कारबाही होला भन्दा उल्टै फाइल हराएको कुरो आएको छ,’ उनले भने, ‘हाम्रो माग दोषीलाई कारबाही होस् र निर्दोषका नागरिकता फिर्ता गरोस् भन्ने हो ।’ राजापुर क्षेत्रमा १ सय २५ मात्र भए पनि जिल्लाभरबाट झन्डै ४ सय गैरनागरिकले नागरिकता लिएको उजुरी गृह मन्त्रालयमा छ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?