४ लेन सडक जीर्ण

नेपालगन्ज — नेपालगन्ज– कोहलपुर खण्डको राँझादेखि जमुनाहासम्मको ११ किलोमिटर चार लेन सकड निर्माण अझै पूरा भएको छैन । यो खण्ड निर्माणको जिम्मा पाँच वर्षअघि पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

४ लेन सडक जीर्ण

सडक अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन । निर्माण पूरा नभएको भन्दै डिभिजन सडक कार्यालयले जिम्मा लिन नमानेको हो । जसले गर्दा हस्तान्तरण नहुँदै सडक जीर्ण बनेको छ ।


सडकका खाल्डाखुल्डीले दैनिक तीन/चारवटा गाडी दुर्घटनामा परिरहेका छन् । अटो रिक्सा, टांगा, ट्याम्पोलगायत साना सवारीका साधन दुर्घटनामा पर्ने गरेका हुन् । पिच गरिएको सडकमुनिबाट पानी बग्छ । सर्वसाधारण दुर्घटनाको दोष उपमहानगरलाई दिन्छन् । उपमहानगर डिभिजन सडक कार्यालयलाई दोषी देखाउँछ ।


२०७० मा सुरु गरी दुई वर्षभित्र निर्माण सक्नुपर्ने सडकको जिम्मा पाएको कम्पनीले काम अधुरै छाडेको छ । हस्तान्तरण नभएको सडकमा खाल्डा परेपछि उपमहानगरले टालटुल पार्दै आएको छ । ‘हस्तान्तरण नभइसकेका कारण उक्त सडक मर्मत गर्ने काम सम्बन्धित ठेकेदारको हो । तर, ठेकेदारको मुख ताकेर कति दिन बस्नू,’ नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले भने, ‘ठेकेदारका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।’


निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले करिब ५० करोड रुपैयाँमा ठेक्का पाएको थियो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण सुरु गरिएको यो सडक दुई वर्ष (०७२ जेठसम्म) मा पूरा गर्ने लक्ष्य थियो । कम्पनीले ढिलाइ गर्दै विभिन्न निर्माण सामग्रीको मूल्य बढेको भन्दै थप रकम दाबी गर्दै आएको छ ।


तर, उक्त सडकलाई निर्माण कम्पनीले हस्तान्तरण नगरेपछि डिभिजन सडक नेपालगन्जले धरौटी रकम रोकेको छ । ठेक्काको सर्तमा निर्धारित समयभित्रै काम गर्न नसके निर्माण कम्पनीले राखेको धरौटी रकममध्ये १० प्रतिशत रकम सरकारले रोक्का गरी असुलउपर गर्न पाउँछ ।


डिभिजन सडक प्रमुख इन्जिनियर अर्जुन बमले निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक अलपत्र परेको बताए । उनका अनुसार निर्माण कम्पनीले त्यस विषयमा अदालतमा मुद्दा दर्ता गरेका कारण निर्णय लिन समस्या भइरहेको छ । ‘काम सकिएको छैन । हस्तान्तरण हुन बाँकी छ । तर, ठेकेदारले भने काम सकिएको भन्दै रकम पाउन अदालतमा मुद्दा हालेका छन्,’ उनले भने, ‘अदालतमा गइसकेको विवादमा हामीले निर्णय गर्न सक्ने अवस्था छैन ।’


डिभिजन कार्यालयले निर्माण कम्पनीलाई पटकपटक समय थपेर सन् २०१७ सम्म काम पूरा गर्न भनेको थियो । उक्त अवधिमा पनि काम नसकिएको भन्दै डिभिजन सडक कार्यालयले पप्पुको ५ करोड ७० लाख रुपैयाँ रोक्का गरेको छ । ‘हामीले जरिवाना गरेपछि निर्माण कम्पनी अदालत गएको छ,’ डिभिजन सडक कार्यालयका प्रमुख बलमे भने ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?