१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यात्रा जोखिमपूर्ण

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको भुजहवाका अनिरुद्ध यादव अचेल किनमेलका लागि मोटरसाइकलमा भन्दा पैदलै बजार पुग्छन् । भित्री सडकमा मोटरसाइकल र साइकल चलाउन नसकिने गरी खाडल बनेपछि जोखिम हुने भन्दै उनी पैदल हिँड्न थालेका हुन् ।

यात्रा जोखिमपूर्ण

‘वर्षामा ओभरलोड र भल निकास नभएका कारण सडकको अवस्था बिग्रिएको छ,’ यादवले भने, ‘पानी परेर खाडलमा जम्मा भएपछि साना सवारी दुर्घटनामा पर्ने गरेका छन् ।’


सरावल गाउँपालिकाको गोबरहियाँदेखि भुजहवा सडक खण्ड समयमा मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । गम्भीर बिरामी बोकेका एम्बुलेन्ससमेत यस सडकमा आउन मान्दैनन् । जसका कारण स्थानीयले बिरामी बोकेर बिग्रिएको सडक कटाएर मात्र एम्बुलेन्स चढाउनुपर्ने अवस्था आउँदा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । १० किलोमिटर बाटो हिलाम्य र खाल्डाखुल्डी हँुदा सामान्य मर्मत पनि भएको छैन ।


स्थानीयको चर्को दबाबपछि सरावल गाउँपालिकाले ग्राभेलका लागि सूचना जारी गरेको छ । २० लाख रुपैयाँ विनियोजन गरेर ग्राभेलका लागि टेन्डर भएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । चौधरीका अनुसार सबै स्थानमा एकैपटक मर्मत गर्न नसकिए पनि मानिसहरूको आवातजावत र बाटो प्रयोगको अवस्था हेरेर सडक मर्मतलाई अगाडि बढाइनेछ ।


ग्रामीण सडक मात्र होइन, हुलाकी सडकको अवस्था पनि उस्तै छ । मोटरसाइकल तथा साना सवारी साधनले यात्रा गर्न निकै कठिनाइ भएको छ । साइकल र पैदल यात्री पनि हिँड्न सक्ने अवस्था छैन । सडकमा खसालिएको चिप्लो माटो वर्षाको पानीले बगाउँदा खाडल परेका हुन् ।


हिलो र खाडलका कारण दिनहुँ सवारी साधन चिप्लिने र पल्टने भइरहेका छन् । तराई भेगको लाइफ लाइनका रूपमा परिचित यो सडक अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नुपर्ने थियो । निर्माण सामग्री अव्यस्थित रूपमा लामो समयसम्म राख्दा दुर्घटनाको जोखिम बढेको छ । सदरमुकाम परासीदेखि गोपीगन्ज निस्किने १३ किलोमिटरको हुलाकी राजमार्ग अहिले निर्माणका क्रममा छ । बाढीका कारण अघिल्लो वर्ष नै बगाएका सडक पनि मर्मत नहुँदा यस वर्ष थप क्षति पुगेको छ ।


जिल्लाको दक्षिणी भेगका अधिकांश पक्की र कच्ची सडकमा क्षति पुगेको छ । समयमा नै मर्मत नगर्दा थप क्षति पुगेको हो । महेशपुर–त्रिवेणी सडक खण्ड कालोपत्रे भएको दुई वर्ष पुग्यो । अघिल्लो वर्ष ससाना खहरे खोलामा आएको बाढी र वर्षामा जम्मा भएको पानीले केही स्थानमा सडक नै बगायो । सरावल गाउँपालिका ७ र बुडन्तवापुरबीच पर्ने सडक भत्किए पनि कसैले चासो दिएनन् । वर्षा सकिएपछि माटो ल्याएर सडक पुरे पनि यस वर्ष फेरि बाढीले पुरानै स्थानबाट सडक भत्किएको छ ।

प्राथमिकता सडकमै
सडक निर्माण गर्ने तर मर्मत नगर्ने परिपाटीका कारण यात्रु र स्थानीयले सास्ती खेप्नुपरे पनि पश्चिम नवलपरासीका स्थानीय तहको ५० प्रतिशत बजेट भने सडकमै खर्च हुने गरेको छ । एउटा स्थानीय तहले कम्तीमा २० देखि ४० वटासम्म सडक मर्मत र कालोपत्रेका लागि भनेर बजेट विनियोजन गरेका छन् ।


रामग्राम नगरपालिकाका मात्रै यस वर्ष ९० भन्दा बढी योजना सडककै छन् । सुनवल नगरपालिकाले नगरभित्र चक्रपथ निर्माणदेखि पाँच वर्षभित्रमा नगरका सबै सडक कालोपत्रे गर्ने योजना अनुसार बजेट विनियोजन गरेको छ । बर्दघाट नगरपालिकाले भने पुराना सडक मर्मतसँगै प्रदेश ४ र ५ जोड्ने नयाँ सडक बनाउनुका साथै दाउन्ने खण्डको विकल्पका रूपमा यसलाई विकास गर्ने भन्दै थप मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग गरेको छ ।


स्थानीयले पनि बाटो र भल निकासलाई प्राथमिकतामा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिने गरेका छन् । सडक कालोपत्रे भएमा जमिनको मूल्य बढ्ने भन्दै स्थानीयले गाउँमा सडक निर्माणमा नै जोड दिने गरेका छन् । नगरपालिकाले ६० प्रतिशत र स्थानीयले ४० प्रतिशत श्रमदान गरेका सडक योजना अधिकांश छन् ।


सडकका लागि प्रशस्त बजेट विनियोजन भए पनि कमसल काम हुँदा हरेक वर्ष निर्माण गर्ने र वर्षामा भत्किने गरेको छ । ओभरलोडका सवारी चलाउने र सडक निर्माण गर्दा नाली नबनाउँदा बर्सेनि सडकको लगानी वर्षायाममा बाढीले बगाउने गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?