कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्वन्द्व बिर्साउन शान्ति चित्र

शान्तिको सन्देश प्रवाह गर्न गौतम बुद्धको मूर्ति र लडाइँ शृंखलालाई चित्रमा कुँदिने
हरि गौतम

रुकुमपूर्व — साबिक रुकुम जिल्लाको महत गाविसमा द्वन्द्वकालमा सबैभन्दा धेरैले ज्यान गुमाएका थिए । अब त्यही ठाउँबाट शान्तिको सन्देश प्रवाह गर्न गौतम बुद्धको मूर्ति र लडाइँ शृंखलालाई चित्रमा कुँदिने भएको छ ।

द्वन्द्व बिर्साउन शान्ति चित्र

तत्कालीन विद्रोही माओवादी लडाकुले १९ वर्षअघि महत प्रहरी चौकी आक्रमण गरेर हतियारलगायत बन्दोबस्तीका सामान नियन्त्रणमा लिएका थिए । त्यससँगै प्रहरी नायब उपरीक्षक (डीएसपी) ठूले राईलाई अपहरण गरेका थिए ।


माओवादी सशस्त्र युद्धको अवधिमा नियन्त्रणमा लिएकामध्ये डीएसपी राई माथिल्लो दर्जाका प्रहरी अधिकारी थिए । २०५६ असोज ६ गते भएको महत चौकी आक्रमण र डीएसपी ‘अपहरण’ को उक्त घटनाले ठूलै चर्चा पाएको थियो ।


अब त्यही लडाइँ शृंखलालाई भित्तामा कुँदिएका चित्रमा हेर्न पाइने भएको छ । भूमे गाउँपालिकाले त्यसबेलाका सबै गतिविधि समेटिएको चित्र शृंखला (फिचर) लडाइँ भएकै भूमे ६ महतमा कुँदेर राख्दैछ । यसका साथै गौतम बुद्धको अर्धकदको सालिक पनि ठड्याउँदैछ ।


‘प्रहरी चौकी कब्जा गर्दाका सबै गतिविधि समेटिएको उक्त आक्रमणको झल्को दिने युद्ध चित्र कुँद्ने काम अन्तिम चरणमा पुगेको छ,’ भूमे ६ का वडाध्यक्ष देवबहादुर बुढा मगरले भने, ‘चौकी आक्रमणमा आउँदादेखि अन्तिमसम्मका गतिविधि समेटिँदैछ ।’ गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ को बजेटबाट चित्र कुँद्न सुरु गरेको थियो । पहिलो चरणमा १० लाख रुपैयाँ लगानी गरेर निर्माण थालिएको हो । चौकी आक्रमणका बेलाका सबै क्रियाकलाप तस्बिरमा कुँद्न त्यति रकमले अपुग भएपछि यस वर्ष पनि थप बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।


अहिले महतमा आक्रमणको बेलाका प्राय: चित्र कुँदिसकिएको छ । राज्य र माओवादी दुवै पक्षले गोली चलाइरहेको, दुवैतर्फबाट लडाइँ नलड्न कासन गरिरहेको, विद्रोही पक्षबाट हतियार बुझाउन अनुरोध गरिरहेका दृश्य कुँदिसकिएको छ ।


अब आक्रमण गर्न विद्रोहीतर्फका लडाकु आइरहेको, चौकीमा प्रहरी बसेको, आक्रमणपछि हतियारलगायत अन्य बन्दोबस्तीका सामग्रीसहित प्रहरी अधिकृत तथा जवानलाई कब्जामा लिएका दृश्य बनाउन बाँकी रहेका छन् । घटनाले चर्चा पाउनका कारण थप प्रस्ट पार्न चौकी आक्रमण र कब्जाका सम्पूर्ण चित्र कुँद्न लागिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘महत प्रहरी चौकी आक्रमण र डीएसपी राई अपहरणको चर्चा अन्तर्राष्ट्रिय रूपमै भएको थियो,’ अध्यक्ष बुढाले भने, ‘त्यही चर्चालाई जीवन्त बनाउन युद्ध चित्र कुँदिएको हो ।’


महतसम्म पुग्ने स्वदेशी तथा विदेशी पाहुनाले चौकीमा भएको आक्रमणको अवस्थाबारे प्रत्यक्ष बुझ्न पाऊन् र यसकै माध्यमबाट युद्ध पर्यटनको प्रवद्र्धन गर्न सकियोस् भनेर चित्र कुँदिन लागिएको उनले बताए । महतमा धेरै पटक भिडन्त भए पनि चौकी आक्रमण ऐतिहासिक भएकाले चित्रमा कुँदिएको उनको भनाइ छ ।


महतमै गौतम बुद्धको अर्धकदको मूर्ति र सशस्त्र युद्धका क्रममा यहाँ मारिएकाको नामावली पनि कुँदिएको छ । विगतको सशस्त्र युद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति भएको साबिक रुकुम जिल्लाको महत गाविस हो । धेरैले ज्यान गुमाएको ठाउँबाट शान्तिको सन्देश प्रवाह गर्न मूर्ति स्थापना गरिएको अध्यक्ष बुढाले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?